समाज


यौनिक तथा लैङ्गिक समुदायका जेष्ठ नागरिकको गुनासो : हाम्रो बुढेसकाल सुरक्षित भएन

यौनिक तथा लैङ्गिक समुदायका जेष्ठ नागरिकको गुनासो : हाम्रो बुढेसकाल सुरक्षित भएन

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १६:३१, काठमाडौँ

यौनिक तथा लैङ्गिक समुदायका जेष्ठ नागरिकले आफूहरुले धेरै उत्पीडन सहेको बताएका छन्। उनीहरु मंगलबार मितिनी नेपालले आयोजना गरेको कार्यक्रममा सरकारका नीति तथा कार्यकक्रममा समेत आफूहरुलाई नसमेट्दा जीवनको उत्तराद्ध कष्टकर बनेको गुनोसो गरेका हुन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिकले यो समुदायका युवाहरुले भन्दा विकराल परिस्थितीको सामना गरेर बाँचिरहेका मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले बताइन्। उनीहरुले मानव अधिकार समेत उपभोग गर्न नपाएको केसीको भनाई छ।

‘ती समुदायका जेष्ठ नागरिकले राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार लगायतका मानव अधिकारबाट बञ्चित हुनु परेको अवस्था समाजमा विद्यमान रहेको छ। हाम्रो जेनेरेसनले खुलेर बाँच्न पाएको भएपनि उहाँहरु आज पनि खुल्न सक्नु भएको छैन। कति घरबारविहीन हुनुहुन्छ। कतिलाई परिवारले घरबाट निकालेको अवस्था छ’ केसीले सुनाइन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका जेष्ठ नागरिकका कथा समेटिएको पुस्तक समेत सार्वजनिक गरिएको छ। ‘हाम्रो जीवन, हाम्रा ब्यथाहरूः नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका जेष्ठ नागरिक’ नाम दिइएको सार्वजनिक किताबमा समुदायका १० जेष्ठ नागरिकका कथा समेटिएका छन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ३१ प्रतिशत जेष्ठ नागरिक विवाहबाटनै बञ्चित रहेको मितिनी नेपालको तथ्यांकले देखाएको छ। यो समुदायका ३३ प्रतिशत जेष्ठ नागरिक अहिले पनि एक्लै बस्दै आएका छन्।

५३ प्रतिशत जेष्ठ नागरिक भने आफ्नो परिवारसँग बस्दै आएका छन्। उनीहरु यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मानिसको हितका लागि खोलिएका संख्थामा त आउँछन्, उनीहरुले आफूलाई बुझेका पनि छन्। तर, परिवार छोड्नु पर्ने डरले आफ्नो यौनिकताका बारेमा परिवारमा जानकारी नदिएको बताउँछन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ५ प्रतिशत जेष्ठ नागरिक मात्रै कक्षा १२ सम्मको अध्ययन गरेका छन्। ७ प्रतिशत जेष्ठ नागरिकले एसईई परीक्षा पास गरेको तथ्यांकले देखाउँछ। बाँकीले विद्यालयस्तरीय पढाइ पनि पुरा गरेका छैनन्।

समुदायका २३ प्रतिशत जेष्ठ नागरिकले पूर्णकालीन रोजगारी गर्दै आएका छन्। १३ प्रतिशत जेष्ठ नागरिकले अहिले पनि यौन पेसा अपनाएका छन्। २४ प्रतिशत जेष्ठ नागरिक पूर्णरुपमा बेरोजगार रहेको बताइन्छ।

यी मध्ये कतिले आफूजस्तै समुदायका व्यक्तिले गरेको आर्थिक सहायताबाट जीवन गुजारा गर्दै आएका छन्। १/१ प्रतिशत जेष्ठ नागरिकले जेष्ठ नागरिक भत्ता र निवृत्तिभरणले आफ्नो गुजारा चलाउँदै आएका छन्। समुदायका बाँकी ५१ प्रतिशत जेष्ठ नागरिकले पार्ट टाइम रोजगार गर्दै आएका छन्।

यो समुदायका ७८ प्रतिशत जेष्ठ नागरिक अपाङ्गता भएका छन्। १२ प्रतिशत जेष्ठ नागरिकमा मानसिक अशक्तता (भावनात्मक समस्या) रहेको उल्लेख गरिएको छ। मितिनी नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ प्रतिशत समुदायका जेष्ठ नागरिकमा पक्षघात तथा पुरानो ढाड दुखाईका कारण शारीरिक अपाङ्गता भएका छन्।

समुदायका १ प्रतिशत जेष्ठ नागरिकमा कमजोर दृष्टि रहेको बताइएको छ। समुदायका ४ प्रतिशत जेष्ठ नागरिकले भने आफ्नो स्वास्थ्य अवस्थाका बारेमा कुनै जानकारी दिएका छैनन्। समुदायका धेरै जेष्ठ नागरिकले अस्पताल जान अप्ठ्यारो लाग्ने बताएका छन्। अस्पतालमा गरिने ब्यबहार र हेर्ने दृष्टिकोणका कारण आफूहरु अस्पताल जान नसकेको यो समुदायका जेष्ठ नागरिकले गुनासो गरेका छन्।

अध्ययनमा समावेश भएका धेरै समुदायका जेष्ठ नागरिकले भावनात्मक र मानसिक स्वास्थ्य समस्यका कारण परिवार तथा आफन्तसँग दुरी बढाएको बताएका छन्।

मंगलबार काठमाडौँमा भएको पत्रकार जमघटमा समुदायका जेष्ठ नागरिकले भने, ‘हाम्रो देशको संविधानले लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायतका सम्पूर्ण व्यक्तिलाई समान अधिकार र संरक्षण प्रदान गर्नु पर्छ। यी अधिकारको प्रभावकारी कार्यान्वयन र संरक्षणको सुनिश्चितता गर्नु राज्यको कर्तव्य हो।’

उनीहरुले समुदायका जेष्ठ नागरिकलाई प्रभाव पार्ने थुप्रै मुद्दाहरु रहेको उल्लेख गरेका छन्। उनीहरुले आफ्नो बुद्धावस्था सुरक्षित नभएको गुनासो गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .