समाज


कतारका प्रधानमन्त्रीलाई पररारष्ट्रमन्त्रीले भने : विपिनको रिहाइमा सक्दो पहल गरिदिनुस्

कतारका प्रधानमन्त्रीलाई पररारष्ट्रमन्त्रीले भने : विपिनको रिहाइमा सक्दो पहल गरिदिनुस्

नेपालखबर
मंसिर २५, २०८० सोमबार १६:४५, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग शिष्टाचार भेटवार्ता भएको छ।

कतारको राजधानी दोहामा उनीहरूबीच आज (सोमबार) शिष्टाचार भेटवार्ता भएको हो। 

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेको स्वकीय सचिव दीपक जोशीले बताए।

परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत सम्बन्धका आधारमा यस जसरी मानवीय मामिलामा कतारसँग नेपाल सरकारले उच्च आशा गरेको बताए।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताए।

उनले चाँडै सकारात्मक परिणाम आउनसक्ने संकेत समेत गरे। उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताए।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमणआदि विषयमासमेत कुराकानी गरे।

परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी हुनुभएको स्वकीय सचिव जोशीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .