ad ad

समाज


जब बिरामले थलिएका रामप्रसादको कोदोबारीमा पसे विद्यार्थी

जब बिरामले थलिएका रामप्रसादको कोदोबारीमा पसे विद्यार्थी

कोदोबारीमा विद्यार्थीहरू। तस्बिर : राजकुमार थुलुङ


नेपालखबर
मंसिर २४, २०८० आइतबार १४:५४, काठमाडौँ

यही शुक्रबार बिहानको कुरा हो। भोजपुरको साल्पासिलिछो गाउँपालिकाको याङ्मास्थित जनमित्र आधारभूत विद्यालयका विद्यार्थीको समूह कोदोबारीमा देखियो।

विद्यालय पोशाकका विद्यार्थीहरूले अचानक कोदबारी भरिएपछि स्थानीयबासी पनि अचम्मित भए। यसअघि गाउँलेले कहिल्यै यस्तो दृश्य देखेका थिएनन्।

स्थानीय सामुदायिक विद्यालयले पनि अतिरिक्त क्रियाकलाप र खेलकुदका गतिविधि गर्न विद्यार्थीलाई अन्यत्र लाने गरेका थिएनन्।

तर, जनमित्र आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार थुलुङले एकजना गाउँले ६ महिनादेखि बिरामी परेर उनले लगाएको अन्नबाली पाकेर पनि अलपत्र परेको देखिरहेका थिए।

स्थानीय रामप्रसाद राई ६ महिनादेखि बिरामी परेर अस्पतालमा उपचाररत थिए। उनी अस्पतालमा उपचारमा रहनुपरेपछि उनको खेतबारीमा लगाइएको अन्न पाकेर पनि उठाउन सकेका थिएनन्।

यसबीचमा उनै रामप्रसादले कोदो फलाएको जग्गामा युनाइटेड वर्ल्ड स्कुलले ११ कोठे नयाँ विद्यालय भवन बनाइदिने भयो।

भवन बनाउनका लागि रामप्रसादको जग्गामा लगाएको कोदो टिपेर खाली गर्नुपर्ने थियो। तर उनी गाउँमा थिएनन्, उनको उपचारका लागि परिवार नै जिल्लाबाहिर गएको थियो। 

रामप्रसादको परिवार उपचारमा गएपछि अन्नपात अलपत्र पर्ने अवस्था आयो। अर्कातिर उनकै जग्गामा नयाँ विद्यालय भवन बन्ने प्रस्ताव अघि बढेपछि प्रधानाध्यापक थुलुङले विद्यार्थी र शिक्षकलाई उपयोग गरे। 

‘रामप्रसाद राई विगत ६ महिनादेखि बिरामी भई अस्पतालमा हुनुहुन्थ्यो। त्यहीकारण उहाँको घर र खेती (कोदो) लथालिङ्ग अवस्थामा देख्यौँ’, उनले भने, ‘उनले कोदो फलाएको त्यही ठाउँमा जनमित्र आवासीय विद्यालयलाई युनाइटेड वर्ल्ड स्कुलबाट ११ कोठे भवन निर्माण गरिदिने टुंगो भएको थियो। जग्गा चाँडै खाली गर्नुपर्ने भएकाले हामी शिक्षक र विद्यार्थी मिलेर कोदो टिप्ने र नरुवा काटेका हौँ।’

प्रधानाध्यापक थुलुङले विद्यार्थीहरुलाइ कोदो टिप्ने, नरुवा काट्ने र हँसिया समात्ने तरिका सिकाइएको बताए। 

उक्त कामबाट कृषिमा लाग्दा सुरक्षाका उपायहरू विद्यार्थीलाई सिकाइएको थुलुङले बताए। ‘यो एक सामाजिक र मानवीय सहयोग कार्य हो’, उनले भने, ‘व्यवहारिक अनि प्रयोगात्मक शिक्षाका रूपमा यो हाम्रो थालनी हो।’

साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले यस्तो असल कामको नक्कल गर्न कसैले अप्ठ्यारो मान्न नहुने बताए। 

‘खराब कामको भने कहिल्यै नक्कल गर्नु हुँदैन। असल काम र अभ्यास कसैले गरेका छैनन् भनेर दलिल पेश गर्दै, तर्क गर्दै बस्नु यथास्थितिवाद हो’, उनी भन्छन्, ‘नयाँ कार्य, नया अभ्यास सिर्जना हो। रचना हो। रुपान्तरण र प्रगतिशीलता हो।’      

उनले यस कामबाट विद्यार्थीहरूमा सामाजिक र सहयोगको भावना पनि बढाउने बताए।

‘यो नयाँ कार्य र अभ्यासका लागि जनमित्र आधारभूत विद्यालय र प्रधानाध्यापक राज थुलुङ प्रशंसनीय हुनुहुन्छ’, उनले भने, ‘हामीले विद्यार्थीहरूमा यसैगरी व्यवहारिक शिक्षा हस्तान्तरण गर्दै जाने हो। नयाँ काम र रुपान्तरण जसले चाहन्छ, प्रगति र परिवर्तन जसले चाहन्छ, उसैले समाजलाई पनि दिशानिर्देश गर्न सक्छ।’ 

स्थानीय शेखर राईले विद्यालयको यस्तो व्यवहारिक शैलीले मान्छेलाई परिपक्व बनाउने बताए। 

‘यो शैलीको शिक्षाले मान्छेलाई परिपक्व बनाउछ। शिक्षा लिनु भनेको विद्यालयमा पढ्ने मात्रै होइन, मान्छेहरु बाँच्न पूर्णरुपमा तयार हुनु हो। यो कार्य देखेर हाम्रो शिक्षा पद्धतिमा व्यवहारिक र सकारात्मक सुधार आउँदै गरेको संकेत देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .