समाज


शारदा कडायतको प्रश्न : पीडितले कति आँसु बगाएपछि न्याय पाइन्छ यो देशमा?

‘सम्मानित जीवन बाँच्न पाउनुपर्ने हामीलाई सरकारले न्यायको भिख माग्ने बनायो’
शारदा कडायतको प्रश्न : पीडितले कति आँसु बगाएपछि न्याय पाइन्छ यो देशमा?

तस्बिर : सरोज बैजु


राधिका अधिकारी
मंसिर ८, २०८० शुक्रबार ७:३६, काठमाडौँ

सपना भन्नु नै के थियो र– एउटा सुन्दर घरपरिवार। धनगढीकी शारदा कडायतले उमेरमा देखेको सपना हो यो। २०/२२ को उमेरमा भेटिएका केशव बोहोरा उनको सपनाको सारथि भएर आए। धनगढी प्रहरी कार्यालयमा कार्यरत बोहोरासँग शारदाको २०५५ सालमा विवाह भयो।

देश जनयुद्धमा थियो। प्रहरीमा श्रीमान्। त्यो समय शारदाको परिवारले कुनै दिन चैनको सास फेर्न पाएन। गोली चल्दा देशमा, ऐठन पर्थ्यो शारदाको छातीमा। विवाहपछिको ७ वर्ष शारदाले पीर, आँसु, चिन्ता र आशंकमा बिताइन्। 

‘कतिबेला के खबर आउँछ, कुन भिडन्तमा छोरो टुहुरो हुन्छ, कुन गोलीले सिउँदोको सिन्दुर पखाल्छ, बुबा-आमाको काख रित्तो पार्छ भन्ने कुराको भयले निदाउन दिँदैनथ्यो,’ शारदा द्वन्द्वकालीन दिनको सम्झना गर्छिन्।

२०६२/२०६३ सालमा युद्धविराम भयो। राज्य पक्ष र विद्रोही पक्षबीच शान्ति सम्झौता भयो। शारदाले ढुक्कको सास फेरिन्। यहीबीचमा शारदा सरकारी जागिरे भइन्। दुई छोरा भए। शारदा आफ्नो परिवारसँग हाँसिखुसी थिइन्। खानेपानी संस्थानकी जागिरे शारदा दुई छोरा सहित काठमाडौं आइन्। उनका श्रीमान् केशव बोहोरा प्रहरी अधिकृतका रुपमा कैलाली, टीकापुरमा कार्यरत थिए। 

सरकारी कर्मचारीका रुपमा आ–आफ्नै जिम्मेवारी सम्हालिरहेका शारदा–केशवको भेट मुस्किल थियो। टाढा भएपनि उनीहरु खुसी थिए, आआफ्नो काममा खटिएका थिए। तर २०७२ सालको भदौमा उनले नसोचेको दुर्घटना भयो। थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीचको झडपमा उनका श्रीमान् केशव मारिए। 

०७२ भदौको पहिलो साताबाटै टीकापुर थरुहट आन्दोलनका कारण रापिएको थियो। शारदा काठमाडौंबाट श्रीमानसँग खबर लिइरहन्थिन्। केशव भनिरहेका हुन्थे, ‘म ठिक छु चिन्ता नगर।’ भदौ ६ गते जिल्ला प्रशासन र संघर्ष समितिबीच एकखालको सम्झौता भयो। शारदा ढुक्कले ७ गते बिहान अफिस गएकी थिइन्। दिनभरि अफिसमा काम गरिन्। शारदा आधा दिनसम्म श्रीमानसँग बेखबर रहिन्। दिउँसो श्रीमानलाई फोन गर्दा उठेन। दिनभरि फोन गरिरहिन्, लाग्दालाग्दैको फोन नलाग्ने भयो। 

त्यसपछि खबर आयो, टीकापुरमा थरुहट समर्थक र प्रहरीबीच भिडन्त भयो। शारदाका हात–खुट्टा लुगलुग कामे। 

उनका देवर खानेपानी अफिसमै लिन आइपुगे। उनले मलिन स्वरमा भने, ‘भाउजू घर जानु पर्‍यो।’ शारदाले त्यतिबेला अत्तालिँदै भनेकी  थिइन्, ‘दाइलाई के भयो?’ 

देवरले आश्वासन दिए, ‘थोरै चोटपटक मात्रै लागेको छ।’ 

शारदा झन् सशंकित थिइन्। घरपुग्दा जम्मा भएको भीडले शारदाको होस लग्यो। ३२ वर्षको उमेरमा उनी विधवा भइन्। सहयात्रा छुट्यो। उनका ९ र १४ वर्षका छोरा टुहुरा भए। 

८ सुरक्षाकर्मी र १ दूधे बालकको ज्यान लिने गरी भएको उक्त हत्याकाण्डमा मुख्य दोषी ठहर गरेर रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मले जन्मकैदको सजाय तोकियो। चौधरी जेल परे। तर, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर आम माफी दियो। 

त्यसपछि बल्झियो शारदाको हृदयमा खाटा बस्न नसकेको घाउ। हुन त २०७२ सालमा पनि चौधरीलाई त्यति सजिलै सजाय तोकिएको होइन।

‘यो मुद्दामा प्रहरी विभाग आफै सक्रिय थियो। तर मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेकै बेला सरकारले पटक पटक आन्दोलनका क्रममा भएको घटना हो भनेर ढाकछोप गर्न खोजेको थियो। जिल्ला अदालतमै मुद्दा डिसमिस गर्न खोजियो,’ शारदा भन्छिन्।

रेशमको आममाफीपछि शारदाले दोषीको कैद सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध अदालतमा निवेदन दिएकी छन्। 

श्रीमानको हत्यापछि शारदाको जीवन हुन पाएन। ‘दुई छोराको जिम्मेवारी। जागिरको जिम्मेवारी। त्यसमाथि सरकारले बेलाबेला श्रीमानका हत्याराको पक्षमा गरिहने वकालतले बिथोलिरहन्थ्यो,’ शारदाले गला अवरुद्ध पार्दै सुनाइन्, ‘पटकपटक यो सरकारले रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा हो, फिर्ता लिनु पर्छ भनेर दिने दबाब। कहिले कानुन संशोधन गरेर मन्त्रिपरिषदबाट निर्णय गराएर मुद्दा फिर्ता लिने भनेर बाहिर आउने कुराले कति बिचलित बनाउँथ्यो, त्यो मलाई नै थाहा छ। श्रीमानको मृत्यु भयो, हत्याराले सजाय पायो, मैले मेरो नियति नै यस्तै थियो भनेर मन बुझाएर बाँच्न पनि पाइनँ। मैले सधैँ मेरो श्रीमानको लागि लड्नु पर्छ भन्ने स्मरण गरेर बाँच्नु प¥यो।’

करिब यस्तै प्रकृतिको रिटमा सर्वोच्च अदालतले राष्ट्रपतिबाट पाएको माफी बदर गर्दै रिगल भनिने योगराज ढकाललाई पुनः कैदमा पठाएको पनि केहि समय भैसक्यो। तर शारदा भने अझै पेसी बोकेर अदालत धाइरहेकी छिन्। भन्छिन्, ‘अफिसियल जिम्मेवारी, बुढा भएका सासूससुरा, घरको एक्लो दायित्व सबै छोडेर म माइतीघरमा अनसन बस्न सक्दिनँ। त्यसैले न्यायिक प्रक्रिया ढिलो भैरहेको छ।’ 

‘कति आँसु बगाएपछि पीडितले, पग्लन्छ यो देशको न्यायालयको हृदय? कहिले सुन्छ यो देशको सरकारले पीडितको चित्कार र उनीहरुको घाउमा थप चोट पुग्ने खालका निर्णय गर्दैन पटक–पटक?’ शारदा आँखाभरि आँसु पार्दै प्रश्न गर्छिन्।

यो प्रश्न उनले अदालमै पनि पटकपटक गरिसकिन्। उनले जवाफमा पाएको एउटै कुरा हो, ‘तपाईंको मुद्दा प्राविधिक कारणले पछि धकेलिएको हो, तपाईंले न्याय पाउनु हुन्छ।’ 

शारदालाई अदालतप्रति आश छ। भन्छिन्, ‘त्यही आशमा लडिरहेकी छु।’

न्यायको यो लडाइमा शारदा एक्लै छिन्। गाउँमा सासूससुरा सर्वोच्चले आफ्नी बुहारीलाई न्याय दिने आशमा छन्। यता शारदाको विपक्षमा देशको सम्पूर्ण राज्य शक्ति लागेको छ। आमाको एक्लो लडाइँ देखेर उनका छोरा भन्छन्, ‘कति/कहिलेसम्म लड्नु हुन्छ मामु? यो देशमा न्याय पाइँदैन, तपाईं थाक्नु हुन्छ। भयो आफूलाई दुःख नदिनू।’

उनका छोरा भनिरहेका हुन्छन्, ‘हामीले यसरी लड्नै नपर्ने हो। हाम्रा बुबा कुनै अपराधी हुनुहुन्नथ्यो। राज्यले खटाएको ठाउँमा ड्युटीमा गएको बेला मारिएको मेरो बाबालाई राज्यले सम्मान दिनु पर्ने हो। हामीलाई सम्मानित जीवन बाँच्न दिनु पर्ने ठाउँमा अपराधी जसरी मलाई न्याय देऊ भनेर भिख माग्नु पर्ने बनायो।’ 

तर, शारदा छोराहरुझैँ विरक्तिएर यो लडाइँ यसै छाड्न सक्दिनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .