सन्तोष सेनको निर्देशन रहने फिल्म ‘बलिदान’को टिजर रिलिज भएको छ। छायाङ्कन जानु अगावै प्रि–प्रडक्शनमा रहँदा नै फिल्मको टिजर रिलिज गरिएको हो।
आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टको टिजर रिलिजलाई सेनले ‘फर्स्ट ल्याण्डिङ’ भनेका छन्। एक मिनेट १४ सेकेन्ड लामो टिजरले देश जोगाउन बलिदान दिन पछि नपर्ने नेपाली युवाहरुको कथा समेटेको छ। विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ।
देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्त्वको प्रवेशपछि खलबलिएको समाज, विभत्स घटनाहरू तथा नरसंहारपछि त्यसबाट मुक्ति पाउन नेपालको झन्डा र हतियारसहित प्रकट भएको नायकलाई टिजरमा देखाइएको छ।
टिजर रिलिज गरिएता पनि चलचित्रका कलाकार तथा प्राविधिकको विषयलाई भने लुकाइएको छ। दोस्रो चरणमा कलाकार र अन्य प्राविधिकबारे खुलाइने निर्देशक सेनले सुनाए।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए।
‘समाजमा खुम्चिएका र राज्यबाट किनारा पारिएका वर्गले अधिकारको लडाइँ गर्दा देशी विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पार्छन् भन्ने कुरा ‘बलिदान’मा चित्रण गर्दैछौँ। अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युग पुरुष कसरी जन्माउँछ भन्ने विषयवस्तुमा हामीले चलचित्र बनाउने छौँ। त्यसकै आधारमा टिजर तयार पारी सार्वजनिक गरेका हौँ’, सेनले बताए।
सन्तोष सेनको प्रस्तुति रहने यस फिल्मको निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन्। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित हुन्।
Shares

प्रतिक्रिया