ad ad

समाज


पक्की बन्दै पशुपतिका फूल बेच्ने टहरा, भक्तजन र व्यापारीका आआफ्नै गुनासा

पक्की बन्दै पशुपतिका फूल बेच्ने टहरा, भक्तजन र व्यापारीका आआफ्नै गुनासा

तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
कात्तिक २४, २०८० शुक्रबार ९:४९, काठमाडौँ

संघीय राजधानी काठमाडौंको मुटुमा रहेको पशुपतिनाथ मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ। जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिने पशुपति मन्दिरसँग नेपालीको मात्रै नभएर विश्वभर रहेका हिन्दु धर्मालम्बीहरुको आस्था जोडिएको छ। यहाँ दैनिक रूपमा हजारौँ दर्शनार्थी देश तथा विदेशबाट आउने गर्दछ। तर मन्दिर प्रवेशसँगै भेटिने फूल व्यापारीका टहराहरुले पशुपतिको सौन्दर्य मासेको गुनासो आइरहने गर्छ।

१० वर्षअघि निर्माण भएका यी टहरा पुराना भैसकेका छन्। टहराको छानोमा प्रयोग गरिएका जस्तापाता खिया लागेका छन्। पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा फूल पसल एवं टहरा भेटिन्छन्। 

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवं उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यामा नकारात्मक प्रभाव परेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन्।

पशुपति क्षेत्रमा निर्माण भएका यी टहराप्रति दर्शनार्थीले पनि गुनासो गर्ने गरेका छन्। भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकमा समेत व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएका टहराले हिँडडुलमा समस्या हुनुका साथै नकारात्मक असर गरेको गुनासो आइरहेका बेला पशुपति क्षेत्र विकास कोषले यसलाई व्यवस्थित बनाउने कार्य सुरु गरेको बताएको छ। 

पशुपति क्षेत्रको मापदण्डविपरीत बनाइएका १ सय ६० अस्थायी टहरा रहेको स्थानमा पशुपति क्षेत्र तथा पुरातत्व अनुसारका पक्की स्टल निर्माण गरेर व्यापारीलाई हस्तान्तरण गर्ने कोषका कार्यकारी निर्देशक खतिवडा बताउँछन्। 

पक्की संरचना बनाउने कोषको निर्णयपछि त्यस क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई निर्माण कार्य सम्पन्न नभएसम्म नाङ्लो पसल गर्न भनिएको थियो। पक्की संरचना बन्न समय लाग्ने र व्यापारीलाई घाम, पानी तथा पशुपति क्षेत्रमा रहेका बाँदर, साँढे लगायतका पशुपन्छीले दुःख दिने भएपछि व्यापारी आफैँले अस्थायी टहरा बनाएर बस्ने निर्णउ गरे। 

अहिले पशुपतिको पार्किङ स्थलनजिकैको सडकपेटी किनारमा स्थायी टहरा निर्माण भैरहेका छन्। टहरा निर्माणका लागि पसल व्यवसायीले दुई पटक गरेर २१ हजार खर्च गरिसकेका छन्। यो रकमले स्टलको ढोका निर्माणमा अपुग भएपछि थप पैसा तिर्नु पर्ने भएको व्यसायी सावित्री चौलागाइँले बताइन्। 

पशुपतिको खाली सडक किनारमा थप टहरा निर्माण हुन थालेपछि कतिले नयाँ व्यवसायी थपिने आशंका गरेका छन्। तर ती सबै टहराभित्रै व्यवसाय गर्दै आएकाहरुको खर्चमा निर्माण भैरहेको र उनीहरुले नै प्रयोग गर्ने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए। 

अहिले स्टल राखेर फूल, पूजासामग्री तथा उपहारको व्यापार हुँदै आएको क्षेत्रमा बन्ने पक्की संरचनामा पनि पुरानै व्यापारीलाई सारिने खतिवडा बताउँछन्। पसल सञ्चालकसँगको छलफलपछि अहिले अस्थायी टहरामा सारेर पक्की संरचना निर्माण गर्न लागिएको हो। स्थायी संरचना निर्माण भएपछि गोलाका माध्यमबाट व्यापारीहरुलाई स्टल प्रदान गरिने खतिवडाले जानकारी दिए। 

पशुपति क्षेत्रबाट व्यवसायीलाई हटाउन अथवा नयाँ व्यवसायी थप्न नभइ व्यवस्थित गर्न लागेको उनले सुनाए। पशुपति क्षेत्रलाई आकर्षक धार्मिक गन्तव्यका रुपमा विकास गर्न कोषले अव्यवस्थित संरचना हटाएर व्यवस्थित, सफा स्थलका रुपमा विकास गर्न लागेको उनको भनाइ छ।

लामो समयदेखि टहराहरुमा व्यवसाय गर्दै आएका व्यापारी भने नयाँ ठाउँमा आफूलाई सार्न लागेकोमा थोरै सशंकित देखिन्छन्। 

‘अहिलेका टहरा निर्माणमा पनि हाम्रो ठूलो खर्च भैसक्यो। यताको संरचना बनिसक्दासम्म हाम्रो खर्च उठ्छ कि उठ्दैन थाहा छैन। फेरि पक्की संरचना बनाएपछि भाडादर चर्को कायम गरेर हामीले विस्थापित पो हुनुपर्छ कि!’ यस क्षेत्रमा ०४६ सालदेखि फूल व्यवसाय गर्दै आएकी सरस्वती चौलागाईंले सशंकित मुद्रामा सुनाइन्।

तर अव्यावहारिक भाडादर कायम नहुने कोषका कार्यकारी निर्देशक खतिवडा बताउँछन्।

‘अहिले पनि उहाँहरुले ठाउँबापतको मूल्य मासिक ५ सय कोषलाई बुझाउँदै आउनु भएको छ। २०७३ सालअघि यहाँका व्यवसायीसँग कुनै पनि शुल्क लिइएको थिएन। २०७३ सालपछि मात्रै ५ सय शुल्क लिन थालिएको हो। त्यो पनि सबैले नियमित रुपमा बुझाउने गर्नु भएको छैन,’ उनले भने, ‘अब बन्ने स्थायी संरचना पुरातात्विक मापदण्ड अनुसारका निर्माण हुनेछन्। निर्माण कार्य सम्पन्न भएपछि सरोकारवालासँग छलफल गरेर भाडादर कायम गरिने छ। कायम भएको भाडाबापतको मासिक शुल्क व्यवसायीले बुझाउनु पर्ने छ।’

पशुपति क्षेत्रको खाली स्थानमा व्यापारिक टहरा निर्माण हुन थालेपछि सर्वसाधारण पनि चिन्तित देखिएका छन्। टहरा निर्माण भैरहेको सूचना प्राप्त भएपछि बुधबार दिउँसो त्यसक्षेत्रमा पुग्दा भेटिएका सर्वसाधारणले केही गुनासा गरे। उनीहरु सम्पदासमेत छोपिने गरी मूल मन्दिर जाने बाटोमा पशुपति क्षेत्र विकास कोषले टहरा निर्माण गरेको, यसले पुरातत्वमा असर गर्ने तथा अहिले अस्थायी संरचना भनिए पनि पछि यो स्थान पनि व्यापारीहरुको कब्जामा पर्ने उनीहरुको आशंका थियो।

सर्वसाधारणका यी गुनासा सहित साँझ हामीले कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई भेटेका थियौँ। यो सबै गुनासो मात्रै भएको, पशुपति क्षेत्रलाई सुन्दर र सफा बनाउनका निम्ति सबै कार्य गरिरहेको उनको दाबी छ। यो निर्णयमा पुग्नुअघि कोषका पदाधिकारीले वातावरणीय प्रभावको मूल्यांकन, सम्पदामा पर्ने असर तथा पुरातत्वमा पर्ने असरहरुका बारेमा अध्ययन भएको र नकारात्मक असर नपर्ने खालका संरचना निर्माण गर्ने खतिवडाले बताए।

पशुपति क्षेत्रलाई खुला गर्ने क्रममा १ सय १९ घर अधिग्रहणमा परे। अधिग्रहणमा परेका परिवारका मानिसलाई एक घर एक पसलको अवधारणा अनुसार कोषले यस क्षेत्रमा फूल पसल सञ्चालनको अनुमति दिएको हो। गोलाप्रथाबाट १९९ जनालाई फूलपसल राख्ने अनुमति दिइएको थियो। पछि केही व्यवसायी थपिएपछि हाल त्यहाँ करिब २५० फूलपसल छन्। 

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाएर त्यस क्षेत्रलाई खुल्ला गर्ने प्रयास पनि गरेको थियो। 

पशुपति क्षेत्रको सौन्दर्यमा नकारात्मक असर पर्ने तथा भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फूल–उपहार पसल र टहरा हटाउन निर्देशन दिँदै २०७८ साल माघमा सूचना नै निकालेको थियो। तर कोषको यो योजना सफल हुन सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .