ad ad

समाज


भूकम्पका घाइतेको उपचारका लागि बाँकेका सबै संयन्त्र क्रियाशील राखिने

भूकम्पका घाइतेको उपचारका लागि बाँकेका सबै संयन्त्र क्रियाशील राखिने

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १५:२९, जानकी (बाँके)

बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी)को बैठकले भूकम्पका घाइतेको उपचारका लागि व्यवस्थापन गर्न सबै संयन्त्र क्रियाशील राख्ने निर्णय गरेको छ।

बैठकले भूूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिलाई दृष्टिगत गरी आवश्यक प्रतिकार्यका लागि सबै संयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरेको हो।

भूूकम्पका कारण घाइतेको उपचारका लागि भेरी अस्पताललाई विशेष सेवा प्रदायक अस्पतालका रुपमा स्थापना गर्ने निर्णय गरिएको छ।

साथै नेपालगञ्ज मेडिकल कलेजलगायत सबै अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए। 

घाइतेका लागि रगतको अभाव हुन नदिन सबै स्वयम्सेवकलाई रक्तदानका लागि अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।
    

भूूकम्पबाट प्रभावित क्षेत्र तथा मानवीय सहयोगका लागि अस्पतालहरूमा समन्वय गर्न स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकीय अधिकृत रामकुमार सोनकर एवं सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोक्ने निर्णय भएको पोख्रेलले बताए।

यस्तै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णय गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका तर्फबाट तत्काल राहतस्वरुप चार लाख बराबरको खाद्यान्न र त्रिपाल, झूल, पिफर्मलगायत एक सयजनाका परिवारका लागि पुग्ने सामग्रीका साथै मेडिकल टोली परिचालन गर्ने निर्णय गरिएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए।

यस्तै, कोहलपुर नगरपालिकाका तर्फवाट तत्काल राहतस्वरुप दुई लाख बरावरको खाद्यान्न र औषधी उपलब्ध गराइने भएको छ। राप्तीसोनारी गाँउपालिकाका तर्फबाट एक लाख बराबरको औषधी सामग्री र ५० हजार बराबरको खाद्यान्न र एक चिकित्सकसहितको टोली परिचालन गरिने भएको छ।

यस्तै, राप्तीसोनारीले २० थान कम्बल र २० थान त्रिपाल सहयोग गर्ने भएको छ। खजुरा गाउँपालिकाका तर्फबाट तीन लाख बराबरको औषधि सहयोग गरिने भएको छ। 

नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र पश्चिम रुकुममा छ सय थान कम्बल, त्रिपाल र पिफर्म उपलबध गराउने निर्णय गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल र ५० थान कम्बल उपलब्ध गराइने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .