ad ad

समाज


पशुबलिजस्ता परम्परालाई समयानुसार परिमार्जन गर्नुपर्छ: आचार्य बालकृष्ण

पशुबलिजस्ता परम्परालाई समयानुसार परिमार्जन गर्नुपर्छ: आचार्य बालकृष्ण

नेपालखबर
कात्तिक ९, २०८० बिहिबार १४:९, काठमाडौँ

भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन्। 

आज बिहान पाल्पाको वसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले भने, ‘नेपालका कुनै पनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुई देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरूप्रति भारतीयको आस्था र आकर्षण दुवै छ।’ 

बुटवलबाट आज बिहान वसन्तपुर पुगेका उनले कामाख्या भगवतीको पूजाअर्चना गरेका थिए। 

पूजाआजापछि नेपाल र भारतका पत्रकारसँगको अन्तर्क्रियामा उनले प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज र उत्कृष्ट गन्तव्य रहेको बताए।

उनले नेपाल गौतम बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी, वाल्मीकि ऋषिलगायतको पावन भूमि रहेको भन्दै नेपालमा धार्मिक, सांस्कृतिक तथा मनोरम प्रकृतिका क्षेत्रमा रहेको अद्वितीय पर्यटनको सम्भावनालाई केन्द्रमा राखेर भारतीय पर्यटकलाई यहाँ ल्याउने गरी नेपाल सरकारले कार्यक्रम बनाउनुपर्ने सुझाव दिए।

उनले धार्मिक पर्यटकीयस्थललाई प्रवर्धन गर्न भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर नेपालमा पनि धार्मिक पर्यटकीय सर्किट बनाई दुवै देशको पर्यटन प्रवर्धनको पहल गर्न सुझाव दिए। 

लुम्बिनी केबलकार नेपालीका लागि मात्र नभई भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षक गन्तव्य बन्ने बताउँदै भारतको उत्तर प्रदेशको लुम्बिनी प्रदेशका तराईका जिल्लासँग सीमा जोडिएकाले त्यहाँका नागरिकका लागि लुम्बिनी क्षेत्रमा अवस्थित यो पर्यटकीय पूर्वाधार भारतीय नागरिकको पनि एक महत्त्वपूर्ण गन्तव्य बन्ने उनको धारणा थियो।

केबलकारको टप स्टेसन वसन्तपुरमा निर्माण गरिएको कामाख्या भगवती मन्दिर, यहाँको प्राकृतिक सौन्दर्य तथा तराईंको गर्मीमा पनि वसन्तपुरमा पाइने शीतल वातावरण भारतीय पर्यटकको प्रमुख आकर्षण रहेका उनको भनाइ थियो।

आयुर्वेद शिरोमणि आचार्यले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके पर्यटक आगमन बढ्न सक्ने धारणा पनि राखे। 

भारतको पतञ्जली योगपीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन पनि प्रवर्धन गरेको उनको भनाइ थियो। उनले ४० वर्षपछि पहिलोपटक गृहजिल्ला स्याङ्जामा दसैँ मनाउने अवसर मिलेको बताउँदै दसैँ या अरु चाडपर्वका अवसरमा आफन्त परिवारसमक्ष पुग्ने परम्परा सनातन संस्कृति र वैदिक परम्पराको राम्रो संस्कार रहेको बताए।

उनले नवरात्रमा देवस्थानहरूमा दिइने पशुबलिजस्ता परम्परालाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने पनि बताए।

‘हाम्रा पूर्वजले परम्परा सुरु गरे होलान्, त्यतिबेलाको अवस्थामा पक्कै पनि ती संस्कारको आफ्नै महत्त्व थियो होला’, उनले भने, ‘आज समय परिवर्तन भएको छ, त्यही हिसाबले संस्कारलाई पनि परिष्कृत गर्नु आवश्यक छ।’

उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि धार्मिक, सांस्कृतिक समानतासहित प्रगाढ रही आएकाले यसलाई कसैले तोड्न नसक्ने बताए।

रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .