ad ad

समाज


मिथिलामा सन्तानको कामना गर्दै खोइँछ भर्ने विधि सम्पन्न

मिथिलामा सन्तानको कामना गर्दै खोइँछ भर्ने विधि सम्पन्न

नेपालखबर
कात्तिक ५, २०८० आइतबार १४:०, काठमाडौँ

मिथिलाञ्चलको शक्तिपीठहरूमा आइतबार खोइँछ भर्ने विधि सम्पन्न गरिएको छ।

मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका हुन्।

नवरात्री सुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाहरूले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका हुन्।

भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बस्ने र विजयादशमीका दिन ससुराली (घर) जाने गर्दछिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहेको छ।

आइतबार मिथिलाञ्चलका शक्तिपीठ, देवीमन्दिर र देवीको प्रतिमास्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको थियो।

खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित रहेकाले भगवती दुर्गाको सान्निध्यताले आनन्द, सुख, आरोग्य र जन्मधन्य हुने विश्वासले मैथिल महिलाहरूले खोइँछ भर्ने गरेको संस्कृतिविद्हरू बताउँछन्। 

खोइँछ भर्ने विधिका लागि सामान्य प्रशासनमन्त्री अनिता साह समेत मिथिलाञ्चल पुगेकी थिइन्। उनले मिथिला सौभाग्यवती महिलाले गर्ने विधिका लागि आफू पनि माता राजदेवी माताको आशीर्वादका लागि आएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .