ad ad

समाज


दसैँका अवसरमा काभ्रेमा चङ्गा महोत्सवको तयारी

दसैँका अवसरमा काभ्रेमा  चङ्गा महोत्सवको तयारी

नेपालखबर
कात्तिक १, २०८० बुधबार ६:४६, काभ्रे

दसैँ र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कृति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न काभ्रेमा चङ्गा महोत्सव गर्न लागिएको छ। 

युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चङ्गा उडाउने परम्परा लोप हुँदै गएकाले बनेपास्थित रोटार्‍याक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो। 

‘चङ्गा उडाऔँ, संस्कृति जोगाऔँ’ भन्ने नाराका साथ बनेपा नगरपालिका–९ मगरगाउँमा आगामी कात्तिक ४ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। 

अहिलेका युवा संस्कृति बचाउनभन्दा पनि घुम्ने र खानपानमै रमाइलो मान्ने गर्दा यस्ता परम्परा लोप हुँदै गएकाले  संरक्षण गर्न र युवा पुस्तामा यसको महत्व बुझाउन पनि महोत्सव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रोभेन तौजलेले बताए। 

‘दसैँमा चङ्गा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवा पुस्ता बढ्दैछ‚’ उनले भने, ‘विगत एक दशकअगाडिसम्म दशैँ तथा तिहारमा बालबालिकादेखि युवायुवतीले मनोरञ्जनका रूपमा चङ्गा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको प्रभावका कारण लोप हुन थालेको छ।’ 

अहिले पहिलेको जस्तो चङ्गा उडाउने ठाउँ पर्याप्त नभए पनि उतिबेलाका घरको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चङ्गा उडाउन सजिलो थियो तर पछिल्लो समय खुल्ला स्थान अभाव र शहरीकरणका कारण चङ्गा उडाउने संस्कृति हराउँदै जान थालेकाले युवा पुस्तामा यसको महत्व बुझाउन आवश्यक देखिएको उनले बताए। 

लोप हुन थालेको संस्कृति जगेर्ना गर्न बनेपाका युवाले करिब १० वर्षदेखि चङ्गा चेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका संयोजक तथा क्बलका सेक्रेटरी सदीक्षा धितालले बताइन्। 

यस पटक पनि नेपालीको महान चाड दसैँको उपलक्ष्यमा फूलपातीका दिन प्रतियोगिता गर्न लागिएको उनले बताइन्। 

अहिलेका बालबालिकाको ध्यान मोबाइल, कम्प्युटर, ल्यापटपलगायत वैकल्पिक मनोरञ्जनका माध्यमतिर जाँदा चङ्गाको आकर्षण घटेको हो।

पहिले पहिले शहर बजारका किराना पसलदेखि तरकारी पसलसम्म पाइने चङ्गा अहिले बजारका केही सीमित पसलमा मात्र भेटिने गरेको सम्बद्ध व्यक्तिले बताए। 

अझ लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था आइसकेको छ। यसअघि तीन पटकसम्म बेष्ट प्रोजेक्ट जितेको रोटोर्‍याक्ट क्लबले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न चङ्गा र लटृाईको स्टलसमेत राख्ने जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .