ad ad

समाज


छाडा कुकुर व्यवस्थापनमा बालेनकाे चासाे, कसरी हुँदै छ काठमाडौंमा कुकुरकाे व्यवस्थापन?

छाडा कुकुर व्यवस्थापनमा बालेनकाे चासाे, कसरी हुँदै छ काठमाडौंमा कुकुरकाे व्यवस्थापन?

नेपालखबर
असोज २३, २०८० मंगलबार १२:२७, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगर क्षेत्रका छाडा (सामुदायिक) कुकुर व्यवस्थापनमा चासो देखाएका छन्।

आज सामाजिक सञ्जालमा उनले महानगरभित्र सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर भएका कुकुर बिरालाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने पारिने बताएका हुन्। 

‘चुनावको बेला घरदैलो गर्दा होस् वा कलसेन्टरमा गुनासो, काठमाडौँका मुख्य समस्यामध्ये कुकुर व्यवस्थापन पनि रहेछ,’ सामाजिक सञ्जालमा मेयर बालेनले लेखेका छन्, ‘पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ। यसकारण सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दैछौँ।’ 

उनले आजबाट काठमाडौं महानगरपालिकाका ९ वटा वडा (वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ महानगरपालिकाले कुकुर बन्ध्याकरण र खोपका कार्यक्रम चलाउन लागेको पनि जानकारी गराएका छन्।

आउँदो ३ महिनाभित्र महानगर क्षेत्रका ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविज विरुद्धको खोप दिने महानगरको तयारी छ। 

महानगरले तोकेका संघसंस्थाका प्रतिनिधि र महानगरका कर्मचारीले तोकिएका वडामा गएर कुकुर बिरालको बन्ध्याकरण र खोप लगाउने मेयर बालेनले बताए। 

महानगरले तोकेका संघसंस्थाका प्रतिनिधि र महानगरका कर्मचारीले तोकिएका वडामा गएर कुकुर बिरालको बन्ध्याकरण र खोप लगाउने मेयर बालेनले बताए। 

कसरी हुँदै छ कुकुर र बिरालाको व्यवस्थापन? 

काठमाडौं महानगबाट तोकिएका संघसंस्था तोकिएका वडामा जानेछन्। जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र बिराला समाइने छ। यसरी समातिएका कुकुर र बिरालाको विवरण भएको फाराम भरिने छ। त्यसपछि ती कुकुर र बिरालाई बन्ध्याकरण गर्ने ठाउँमा लगिने छ। बन्ध्याकरण र खोपका क्रममा यसका प्रक्रिया र अवस्थासँग सम्बन्धित फाराम भरिनेछ। त्यसपछि आराम गराएपछि ती कुकुर बिरालालाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिनेछ। 

यस क्रममा पनि फाराम भरिनेछ। फारामहरुमा वडाबाट शिफारिस गर्ने, प्रमाणित गर्ने, उपचारका सम्लग्न चिकित्सकसहितको हस्ताक्षर हुनेछ। खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा संकेत (एअर नोच) चिन्ह लगाइने छ। 

यसरी काम गर्नेहरुले वडामा भएका सबै सामुदायिक कुकुर र बिरालाको खोप र बन्ध्याकरणको काम सकेको वडाबाट शिफारिस भएपछि अर्को वडाको जिम्मेवारी दिने तयारी छ।
 
काठमाडौँ महानगरपालिकाले २०८० सालभर कुकुर÷विरालको बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी राखिने जनाएको छ। यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइनेछ। 

कार्यविधिमा बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन विधि र प्रक्रिया, यस कार्य सहकार्य गर्ने संघ संस्थाको छनोट प्रक्रिया, निगरानी, अभिलेखन, अनुगमन, मूल्याङ्कन र गुनासो सम्बोधन, भुक्तानी, घरपालुवा कुकुर विरालोको व्यवस्थापनलगायत विषय समावेश छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .