समाज


हिमाल चढेर मर्यादित महिनावारीको आवाज बोलिरहेकी संगीता

लड्न नसकेर होइन, नबुझेर छाउगोठ गइरहेका छन् धेरै किशोरी
हिमाल चढेर मर्यादित महिनावारीको आवाज बोलिरहेकी संगीता

राधिका अधिकारी
असोज २३, २०८० मंगलबार ११:८, काठमाडौँ

‘ऊ त्यही गोठमा हो तँ जन्मिएकी!’ आमा सुना रोकायाले घरनजिकैको गोठ देखाउँदै संगीतालाई भनेकी थिइन्।

त्यसबेला संगीता सातआठ वर्षकी थिइन्। उनकी आमा महिनाका केही दिन त्यही गोठमा बिताउँथिन्। संगीतालाई आफू जन्मिएको र जन्मदिने आमा गैरहने ठाउँ भएकाले त्यो गोठ औधि प्यारो लाग्थ्यो। आमाजस्तै। सुनाकी पहिलो सन्तान संगीता आमासँगै बेलाबेला गोठमा जान्थिन्। त्यहाँ बस्दा आमालाई सजिलो अप्ठ्यारो के भएको थियो संगीतालाई थाहा हुँदैनथ्यो। 

उनले ११ वर्ष पुगेपछि थाहा पाएकी हुन्, त्यो गोठमा आमा महिनावारीका बेलामा जान्छिन् र त्यो छाउ गोठ हो भनेर। 

१३ वर्षको उमेरमा संगीताको पहिलो रजस्वला भयो। संगीता सरासर छाउगोठमा गइन्। उनकी हजुरआमाले गाली गर्दै भनिन्, ‘यो बच्चीलाई कति चाँडो पर सर्नु परेको?’ तर हजुरआमाले ‘त्यो बच्चालाई छाउगोठमा राख्नु पर्दैन’ भन्न सकिनन्। 

त्यसपछि हरेक महिना संगीता छाउगोठमा बस्न थालिन्। केही वर्ष उनलाई छाउगोठको बसाइ नराम्रो लागेन। यो नराम्रो रीति हो भन्ने पनि उनलाई लागेन। भन्छिन्, ‘सानै थिएँ, आमाले बस्ने गरेको ठाउँ। राम्रो हो, बस्नु पर्छ भन्ने भयो। मजस्तै धेरै छोरी आज पनि छाउगोठ जान्नँ भनेर विद्रोह गर्न नसकेर होइन, छाउगोठ कुप्रथा हो भन्ने नबुझेर गैरहेका छन्।’

संगीतालाई महिनावारी भएपछि कसैले छाउगोठ जाउ भन्नु पर्दैनथ्यो। उनी आफैँ खुसीसाथ जान्थिन्। उनी छाउगोठमा बसेकै बेला पल्लो गाउँमा छाउगोठमा सर्पले टोकेर किशोरीको मृत्यु भएको खबर आउँथ्यो। कति छोरी बालात्कृत भएको खबर संगीताले छाउगोठमै बसेर सुनेकी छिन्। उनलाई १८ वर्षको उमेरमा छाउगोठ जाने परम्परा राम्रो होइन भन्ने लाग्यो। तर उनलाई लाग्ने बित्तिकै छाउगोठ नजान पाइने अवस्था थिएन्। उनलाई लागिरहन्थ्यो, ‘छाउपडी विरुद्ध केही गर्नु पर्छ।’

केही गर्नुपर्छ भन्ने मनको हुटहुटी मनमै तुफान बनेर दौडिन्थ्यो। उनी मर्यादित महिनावारी, छाउपडीविरुद्धका विभिन्न अभियान हेर्दै हुर्किइन्। त्यस्तै। केही फरक अभियान मार्फत छाउगोठमा छोरीचेली पठाउनु गलत हो भन्ने सन्देश दिने संगीताको सपना बन्यो। 

संगीताको घर साइपाल गाउँपालिकामा पर्छ। उनकै आँगनको बाटो भएर साइपाल हिमाल आरोहण गर्ने पर्यटक जान्थे। हिमाल आरोहण र छाउपडी संगीताको सपनामा मिसिएको थिएन। तर, उनलाई हिमाल आरोहण गर्न मन थियो। सन् २०१८ मा बझाङका किशोरीलाई साइपाल हिमाल चढाउने अभियान लिएर पुगे भोजराज भाट। त्यो अभियानमा बझाङका थुप्रै किशोरीले सहभागी हुने चासो देखाएका थिए। संगीतासहित चार जना यो अभियानमा छनौट भए। काठमाडौं आएर चार महिनाको हिमाल आरोहण तालिम लिए। 

लामो अभ्यासपछि संगीताको टिम साइपाल हिमाल आरोहणका लागि हिँड्यो। झण्डै शिखरमा पुग्ने बेलामा ठूलो हावा चल्यो। हिमपहिरो खस्न थाल्यो। उनीहरु बीचबाटै फर्किए। त्यसपछि संगीताको हिमाल आरोहण गर्ने सपना झन् बलियो बन्यो। हिमाल आरोहणसँगै छाउपडीविरुद्धको जनचेतनालाई जोडिइन्। अनि बन्यो ‘छाउपडीविरुद्ध हिमाल आरोहण’को योजना। 

परिवार मनाउन गाह्रो
संगीताले ‘छाउपडी प्रथा अन्त्य गरौँ’ भन्ने सन्देश लेखिएको ब्यानर सहित सगरमाथा आरोहणको योजना बनाइन। सगरमाथा आरोहणका लागि लाग्ने खर्चको तनाव बेग्लै थियो। सामान्य किसान परिवारकी संगीताका लागि ठूलो रकम खर्च गर्न सक्ने उनका बुबाको अवस्था थिएन। त्यसमाथि संगीताका ६ भाइबहिनीको जिम्मेवारी पनि थियो। खर्चभन्दा ठूलो सकस परिवारलाई मनाउन भयो। 

परिवार मात्रै होइन समाज नै ‘छोरी मान्छे भएर हिमाल चढ्ने’ भनेर खिसी गर्थ्यो। संगीता पहिलो हिमाल आरोहण असफल भएर फर्किएकी यात्री थिइन्, त्यसैले पनि उनको आँटलाई विश्वास गर्ने जमात थिएन। समाज र परिवारको कुरा नमानेर आर्थिक संकलन गर्न थालिन्। गाउँपालिका, वडा हुँदै उनले हिमाल आरोहण र पर्यटनसँग जोडिएका हरेक संस्था पुगिन्।

‘छोरी मान्छेको हिम्मतलाई साथ र हौसला दिने मान्छे हाम्रो समाजमा पटक्कै रहेनछन्’ संगीताले अनुभव सुनाइन्। 

उनको यो पहिलो योजना थियो। त्यसैले कठिन भयो। आर्थिक सहयोग जुट्न सकेन। छोरीको अठोट र जिद्दी देखेरका बुबा जयसिंह रोकायाले ऋण खोजेरै भए पनि छोरीलाई हिमाल आरोहणमा पठाउने भएर संगीतको खुसीको सीमा रहेन। आमाबुबाले उनलाई निकै गह्रौँ मन पारेर सगरमाथा आरोहणका लागि घरबाट बिदा गरे। उनले २०८० जेठ ३ गते सगरमाथाको सफल आरोहण गरिन्। आफूले लिएर गएको ‘छाउपडी प्रथा अन्त्य गरौँ’ भन्ने सन्देश लेखिएको ब्यानर फहराइन्। त्यो क्षण सम्झँदा अहिले पनि संगीताको आँखा भरिएर आउँछ। भन्छिन्, ‘सबै खुसी  व्यक्त गर्ने शब्द नहुने रहेछ।’

२४ वर्षको उमेरमा संगीताले पहिलो पटक सगरमाथाको सफल आरोहण गरिन्। उनी सगरमाथा आरोहण गर्ने पहिलो बझाङी महिला हुन्। ‘छाउपडी प्रथाको अन्त्य गरौँ’ भन्ने सन्देशमूलक झण्डा झोलामा बोकेर बेसक्याम्पबाट सगरमाथाको चुचुरोतर्फ गैरहँदा  संगीतालाई रजस्वला भयो। उनले यात्रालाई रोकिनन्। भन्छिन्, ‘हिमाल र महिनावारी दुवै प्राकृतिक हुन्। त्यसैले मैलै रजस्वला भएकै बेला छाउपडी प्रथाको अन्त्य गरौँ लेखेको ब्यानर सगरमाथामा फहराउन पाएँ।’ 

त्यसपछि मनास्लु
संगीता रोका क्षेत्रीले नास्लु हिमालको सफल आरोहण गरिन्। गोरखामा रहेको मनास्लु आरोहणका बेला भने उनलाई पैसा जुटाउन अलि सहज भयो। उनले संयुक्त राष्ट्र संघसँग ८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस घोषणा गर्न माग गर्दै २१ सेप्टेम्बरमा मनास्लु हिमाल आरोहण गरेकी हुन्। मनास्लु हिमालमा पनि उनले ‘मर्यादित महिनावारी’ लेखिएको ब्यानर फहराइन्। 

संगीताको हिमाल आरोहणको सपना यतिमै सकिएको छैन। उनी विश्वका ८ हजारमाथिका १४ अग्ला हिमाल आरोहण गर्न र छाउपडीविरुद्धको सन्देश फैलाउन चाहन्छिन्। उनलाई धेरैले प्रश्न गरिरहेका हुन्छन्, ‘हिमाल चढेर पनि कहीँ छाउपडी हट्छ? कहीँ नभएको तेरो नखरा!’ संगीताले यो खालको शब्द धेरैका मुखबाट सुनिसकिन्। तर, उनी आफ्नो सपनामा अडिग छिन्। भन्छिन्, ‘छाउपडी अन्त्य हुनै पर्छ र हुन्छ पनि। मेरो अभियान सम्पूर्ण नहोला तर केही त हो।’

संगीता घरकी जेठी छोरी। उनको काँधमा ६ भाइबहिनीको जिम्मेवारी छ। भाइबहिनीका आफ्नै सपना छन्। उनीहरुका सपनामा संगीताले भर दिनु पर्ने छ। तर, संगीता अहिलेसम्म आर्थिक उपार्जनको बाटोमा लागेकी छैनन्। उनका भाइ बेलाबेला भनिरहन्छन्, ‘तेरो उमेरका सबै विदेश गएर सेटल भैसके। तँ हिमाल भन्दै दौडिराख्।’

संगीतालाई पनि कहिलेकाहीँ ‘म कहाँ हिँडिरहेकी छु’ भन्ने लाग्छ। आमाबुबा चाहन्छन्, ‘अब छोरीले विवाह गरोस्, घरजम गरेर बसोस्।’ संगीताले सबैका सपना बुझेकी छिन्। तर, उनलाई सपनाको उडान भरेरै छाड्नु छ। 

अहिले हिमाल आरोहणको अफ सिजन सुरु भएको छ। सिजन सुरु भएसँगै अन्नपूर्ण हिमाल आरोहण गर्ने संगीताको योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .