समाज


दसैँका लागि अग्रिम टिकट बुकिङमा किन भइरहेको छ ढिलाइ?

दसैँका लागि अग्रिम टिकट बुकिङमा किन भइरहेको छ ढिलाइ?

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८० शुक्रबार १२:१०, काठमाडौँ

दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ।

अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन। 

नेपालीको महान चाड दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन्। 

समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दसैँको मुखमा खोल्दा यात्रु दोब्बर(तेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ। यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँछन्। 

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताए। 

देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ। ‘दसैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ’, उनले भने। 

महासङ्घका अनुसार हाल मुग्लिङ–पोखरा, नारायणघाट–बुटवल, विपी, अरनिको, ढल्केवर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन् । यस्तै, काठमाडौँबाट नुवाकोट हुँदै रसुवासम्म जाने बाटोसमेत बिग्रेको छ।

सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ।

वरिष्ठ उपाध्यक्ष सिटौला पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैंकको ब्याजदर, लुब्रिकेन्ट, टायर, तलब भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको बताउँछन्।

‘महासङ्घले बाटोसहित भाडा समायोजनको मुद्दालाई समेत अगाडि बढाउँदै आएको छ’, उनले भने। 

बाटोको अवस्था राम्रो भए आफूहरूलाई अग्रिम टिकट बुकिङ खोल्न कुनै आपत्ति नरहेको उनको भनाइ छ । दसैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन्। 

क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराब अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ । कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्‍याउन सकिन्छ भन्नेबारे अहिलेदेखि नै तयारी हुनुपर्छ।

यातायात व्यवस्था विभागले चाँडै नै अग्रिम टिकट बुकिङ खोल्नेबारे  सरोकारवाला निकायसँगको छलफल सुरु गरेको छ। विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल अग्रिम टिकट बुकिङको बारेमा विभाग चाँडै निष्कर्षमा पुग्ने बताउँछन्। ‘हामीले सकेसम्म आजै अग्रिम टिकट बुकिङबारे निर्णयमा पुग्छौँ’, उनले भने।

महानिर्देशक रिजालले नेपालको सार्वजनिक यातायातको सङ्ख्या र यात्रुको चापलाई हेरेर विभाग अगाडि बढ्ने बताए । विभागले चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने जनाएको छ।

ट्राफिक प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागसँगको सहकार्यमा यात्रु सहायकता कक्षा स्थापना गरिने बताउँछन्। 

उनले दुर्घटना न्यूनीकरण र चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले ‘ट्राफिक सप्ताह(२०८०’ सञ्चालन गरेको उनको भनाइ छ।

यातायात व्यवसायीका अनुसार प्रत्येक वर्ष चाडपर्वमा लाखौँ व्यक्ति काठमाडौँ छाड्ने गरेका छन् । हाल काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो तथा मध्यम दूरीका सवारीसाधन देशका ६५ भन्दा बढी जिल्लामा सञ्चालन हुँदै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad