समाज


प्रवेश गर्‍याे पश्चिमी वायु, देशभर वर्षा/हिमपात सुरु हुँदै

प्रवेश गर्‍याे पश्चिमी वायु, देशभर वर्षा/हिमपात सुरु हुँदै

नेपालखबर
माघ १४, २०७६ मंगलबार ०:५०,

नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गरेको छ। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली सोमबार भित्रिएको हो।

अब यसको प्रभावले तीन दिन अर्थात् आज (मंगलबार)देखि पर्सि (बिहीबार)सम्म पश्चिमदेखि पूर्वसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गर्दै भनेको छ : नेपालमा यस प्रणालीको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो पश्चिमी भेगका केही स्थान,  मध्य र पूर्वी क्षेत्रका १/२ ठाउँमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान, पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

यस्तै राति पनि पश्चिमी भूभागका केही स्थान र मध्य तथ पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको उनले बताइन्।

आज काठमाडौंमा पानी पर्ला?
अहिले (मंगलबार बिहान) मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि मौसम आंशिक (आकाशमा थोरै बादल देखिनु) बदली भएको छ।

मौसमविद् मानन्धरका अनुसार यो बदली पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले भएको हो।

‘आज काठमाडौंमा पानी पर्ने सम्भावनाचाहिँ एकदमै कम छ,’ उनले भनिन्, ‘तर मौसम खुल्दैन, घाम बादल घाम बादल हुने सम्भावना छ।’

उनका अनुसार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस छ।

तराईमा हुस्सु/कुहिरो लाग्न छाड्यो
पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेपछि तराईमा हुस्सु कुहिरो लाग्न छाडेको छ।

यो प्रणालीको प्रभावले मौसम बदली भएर आकाशमा बादल देखिन थालेपछि हुस्सु कुहिरो नलाग्ने मौसमविद् बताउँछन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज (मंगलबार) बिहान तराईमा कुहिरो देखिएको छैन।

‘अब यो प्रणालीको प्रभाव रहुन्जेल हुस्सु कुहिरो लाग्दैन,’ उनले भनिन्।

यस हिसाबले कम्तीमा अब तीन दिन तराइवासीले हुस्सु कुहिरोका कारण बिहान बिहान हुने कठ्यांग्रिँदो चिसोबाट मुक्ति पाउने भएका छन्।

तर मौसम बदलीका कारण दिउँसो घाम नलाग्ने भएका कारण दिउँसो भने जाडो हुनेछ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान  
माघ १४ गते (मंगलबार)
दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थान र मध्य तथ पूर्वी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

राति : देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थान र मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्‍म हिमपातको सम्भावना छ।

माघ १५ गते (बुधबार)
दिउँसो : देशभर सामान्य बदली  रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थान र पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थान र पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

माघ १६ गते (बिहीबार)
दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली  रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .