ad ad

समाज


हाम्रा हिमाल, जलवायु परिवर्तन र पर्यटन

हाम्रा हिमाल, जलवायु परिवर्तन र पर्यटन

फाइल तस्बिर


वाशुदेव मिश्र
असोज १०, २०८० बुधबार १८:४२, पाेखरा

अस्त्युत्तरस्याम दिशी वामभागे 
हिमालयो नाम नगाधिराज 

पूर्वापरौ तोयनिधी बगाहच
स्थित पृथ्वीब्याम इव सनडण्डै।
– कुमारसंभवम् (महाकवि कालीदास)

महाकवि कालीदासले हिमालय पर्वत श्रृंखलालाई पृथ्वीको मेरुडण्ड मानेका मात्र छैनन्, हिमाल र समुद्रको अन्योन्याश्रित सम्बन्धलाई प्रस्ट्याएका पनि छन्। 

पूर्वीय संस्कृति र साहित्यमा हिमाल नजोडिएको कुनै प्रसंग छैन। वैदिक कालदेखिका हरेक धार्मिक ग्रन्थमा हिमालय पर्वतका कुरा पाइन्छन्।सनातन धर्मावलम्बीको सबैभन्दा प्रसिद्ध ग्रन्थ श्रीमद्‌ भगवद्‌गीताको दसौँ अध्यायको पच्चीदसौँ श्लोकमा-   

महर्षिणां भृगुरहम गिरामस्मेक मक्षरम।
यज्ञानां जप यज्ञोस्मि स्थावराणाम् हिमालय।।

भनेर स्वयं भगवान् श्रीकृष्णले आफ्नो वैभव हिमालय पर्वतसँग दाँजेर हेरेका छन्। यसले समेत हिमालको महत्त्व परापूर्वकालमा कति थियो भन्ने प्रस्ट पार्छ। दुर्गा सप्तसती चण्डीमा राक्षसबाट प्रताडित देवताहरूका लागि सौर्यबाट उत्पन्न भएकी दिगम्बर देवीले हिमालय पर्वतलाई बासस्थान बनाएको प्रसंग होस्  वा परीक्षितलाई राजकाज सुम्पिएपछिको पाण्डवको महापन्थ गमन- हिमालको महिमा  र महत्त्व सो समयमा असाध्यै उच्च स्थानमा रहेको पाइन्छ। 

पूर्वलाई हिमालले जीवन दिएको छ, सभ्यता दिएको छ र  मोक्ष दिएको छ। परापूर्वकालदेखि अहिलेसम्म पनि विचार शुद्धि, आत्मा शुद्धि र आत्मबोध चाहने सबैको गन्तव्य हिमाल हुने गरेको छ। प्रसिद्ध सांगितिक समूह जोन लेननको पूर्व मोह, भर्खरका माइक्रोसफ्टका जोन उडको अन्नपूर्ण क्षेत्रको पदयात्राको वर्णन र ‘तिमी हिमालमा पुगेपछि त्यहाँ उल्मरले हकारेको आवाज सुन्दैनौ’ भन्ने अर्तीको अन्तर्य हिमालय क्षेत्रले दिने आत्मबोध नै हो। 

हिमाल र नेपाल विश्वमा एकअर्काका परिपूरकका रूपमा छन्। ७० मिटरदेखि ८,८४८ मिटरसम्म उचाइका भौगोलिक विविधता भएको नेपालमा सानाठूला गरी ३ हजारभन्दा बढी हिमाल छन्। पोखराबाट ८ हजार मिटरभन्दा अग्ला  अन्नपूर्ण, धौलागिरि र नचढिएको माछापुच्छ्रे देख्न सकिन्छ। 

यी हिमाल नेपालको गौरवमात्र होइनन्, सभ्यता र जीवनका कारक पनि हुन्। एसियाका ठूला सातवटा नदीसहित हजारौँ नदीको अस्तित्व हिमालसँग नै गाँसिएको छ। त्यसो त  नेपालमा ३ हजार २ सय ५२ वटा हिमनदी  र २ हजार ३ सय २३ वटा हिमताल रहेको तथ्यांक छ।

हिमतालहरूले नेपालको ७५ दशमलव ७ वर्ग किलोमिटर र हिमनदीहरूले ५ हजार ३ २३ वर्ग किलोमिटर भाग ओगटेका छन्। नेपालबाट बर्सेनि भारतीय उपमहाद्वीपमा बगेर जाने २ सय २५ घनमिटर पानीको स्रोत पनि हिमाल नै हो। यही पानीले यस क्षेत्रका अरबौँ मानिसलाई जीवन दिएको छ।

आदिमकालमा नदी किनारमै सभ्यताको जन्म भएको थियो। नदीले नै मानिसलाई बिजुलीजस्तो ऊर्जा उपलब्ध गराएको छ र नदीसँग मानिसको  संस्कार  र सभ्यता जोडिएको छ। 

हिमाल र नदी एकअर्काका परिपूरक हुन् र नेपाली समाजमा पनि हिमालको महिमा निकै छ। छोमोलोङ्‌मालाई पूजा गर्ने शेर्पा र तिब्बतीहरू, गोवर्धन पर्वतको पूजा गर्ने हिन्दूहरू र अन्नपूर्णलाई अनाज र समृद्धिको देवता मानेर दूपधुँवार गर्ने अन्नपूर्ण क्षेत्रका आदिवासीहरूको संस्कारमा हिमालको गहिरो सम्बन्ध छ। सभ्यताको विकास र निरन्तरताका लागि हिमाल रहिरहनुपर्छ। 

तर, सभ्यताको जननी हिमाल हाम्रै कारणले संकटमा परेका छन्। हिमालको अस्तित्वसँग मानिसले गरेको खेलबाडका कारण अहिले हिमाल र मानवको अस्तित्व नै  खतरामा परेको छ। अध्ययनहरूका अनुसार अहिले  हिमालमा हिउँ पर्न छाडेको छ । नजिकको उदारहण दिने हो भने  मनाङको गंगापूर्ण ग्यासियर पग्लँदा त्यहाँका हिमतालको अस्तित्व संकटमा परेको छ।

धौलागिरि हिम श्रृंखलामा रहेको रिका सम्बा (rika samba) नामक हिमनदी प्रतिवर्ष १० मिटरको दरले घट्दो छ। नेपालमा भएका ६७ वटा हिमनदीले आकार फेरिसकेका छन् भने च्छो रोल्पा ताल फुट्ने खतरा अहिले पनि छँदै छ। संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमअन्तर्गत गरिएको अध्ययन अनुसार ४० वटा हिमताल फुट्ने खतरामा छन्। 

बर्सेनि सगरमाथा आरोहण गरिरहेका शेर्पाहरूले  सगरमाथा नै कालो पत्थरको पहाड बन्न लोगको बताएका छन्। काठमान्डु पोस्ट २०६४ साउन १६ को अंकमा छाापिएको  (snow capped everest turning  in to rocky nauntain) समाचारमा  दावा शेर्पाले प्रसिद्ध हिलारी स्टेपमा पहिला ५० मिटर मात्र पत्थर भएकोमा अहिले हिउँ पग्लिएर १५० मिटरको पहरा देखिएको बताएका छन्। 

समग्रमा हिउँ पग्लँदो छ र हिमालको अस्तित्व संकटमा छ। माछापुच्छ्रेलाई ५० वर्षदेखि हेरिरहेकाहरूले समेत त्यसमा घट्दो हिउँप्रति चिन्ता जाहेर गरेका छन् भने हिमाल नखुल्ने समस्या हरेक हिउँदमा धेरै पोखरेलीले नजिकबाट नियालेका छन्।

एक अर्को अध्ययनअनुसार सन् १९७६ देखि २००५ सम्ममा नेपालको तापक्रम ०.०६ प्रतिशतले बढेको छ भने हिमाली क्षेत्रको ताप पनि अकल्पनीय रूपमा बढिरहेको छ। हिमाली क्षेत्रमा समेत लामखुट्टे देखिन थाल्नु, अनावृष्टि, अतिवृष्टि तथा बाढी-पहिरोको प्रकोप पहिलाभन्दा बढ्दै गएको अध्यययनहरूले पुष्टि गरेका छन्। 

यसको कारण हो– पृथ्वीको जलवायु परिवर्तन (climate change)। परिभाषामा जाने हो भने मौसमले वायुमण्डलको अल्प वा तत्कालीन अवस्था बुझाउने गर्छ भने मौसममा परेका दीर्घकालीन असरलाई जलवायुका रूपमा बुझ्ने गरिन्छ।

पछिल्ला केही वर्षमा मानवीय क्रियाकलापकै कारण वायुमण्डलमा नकारात्मक असर परिरहेको छ। यो प्रभाव जलवायुसँग जोडिएको छ र जलवायु परिवर्तनको मुख्य कारकचाहिँ हरितगृह ग्याँस (Greenhouse Gases) को उत्सर्जन नै रहेको विज्ञहरूले बताएका छन्। 

कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, पानीको वाफलगायतका ग्याँस हरितगृह ग्यासका रूपमा चिनिन्छन्। वायुमण्डलमा यी ग्याँसको मात्रा बढ्दा यसले पृथ्वीबाट फर्किएको तापलाई केही मात्रामा रोकिदिन्छ। अहिले पृथ्वीको औसत तापक्रम १५ डिग्री सेल्सियस छ। यो प्रक्रिया नभएको भए पृथ्वीको तापक्रम माइनस १८ डिग्रीसम्म हुनसक्थ्यो। यसलाई हरितगृह प्रभाव भनिन्छ।

तर, केही समययता हरितगृह ग्याँसको मात्रा बढ्न थालेपछि यसले आवश्यकताभन्दा बढी तापलाई पृथ्वीतर्फ फर्काउन थालेको छ। परिणामत: पृथ्वी तातिन पुगेको छ। 

वातावरणको यो बिग्रँदो अवस्थाप्रति अहिले संसारभर नै चर्काे आवाज उठिरहेको छ। सन् १९९२ मा ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको पृथ्वी शिखर सम्मेलन (वातावरण र विकाससम्बन्धी राष्ट्र संघीय सम्मेलन ) ले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय फ्रेमवर्क अनुबन्ध (united nation's framework convention on climate change) मा १५४ राष्ट्रले हस्ताक्षर गरे।

गत वर्ष  जापानको क्योटो सहरमा भएको  सम्मेलनसम्म आइपुग्दा क्योटो प्रोटोकल नै घोषणा गरिएको छ र विकसित राष्ट्रले सन् २०१२ सम्ममा ५ दशमलव २ प्रतिशतले हरितगृह ग्याँस उत्पादनमा कमी ल्याउनुपर्ने प्रावधान राखिएको छ। 

त्यसो त हरितगृह ग्याँस उत्पादन गर्नेमा अमेरिका नै अगाडि छ। उसले वार्षिक ६ अर्ब ३० करोड टन हरितगृह ग्याँस उत्पादन गर्छ भने दोस्रोमा चीन, तेस्रोमा इन्डोनेसिया, चौथोमा ब्राजिल र पाँचौँमा भारत छन्।

नेपालले भने सन् १९९४ मा ९ दशमलव ७४७ टन मात्र कार्बन उत्पादन गरेको थियो। दुर्भाग्य! विकसित देशले थोपरिदिएको समस्यामा अहिले सबैभन्दा बढी प्रताडना भने नेपालले नै खेप्नुपर्ने  देखिएको छ। किनकि हिमाल हामीसँग छन्।

नेपालजस्तो भौगेलिक विविधताको बगैँचामा झन् छिटो जलवायु परिवर्तनका असर देखिन थालेको विज्ञहरूले बताएका छन्।

उदाहरणका लागि बाँदरको अस्तित्व नै संकटमा छ। त्यति मात्र नभएर बाँदरहरू पहिलाका बासस्थान छाडेर उच्च पहाडी भेगतिर सरिरहेका छन्।

चीनको हाङजाओमा १९औँ एसियाली खेलकुद भइरहँदा मुख्य चासो त्यहाँको वातावरण बन्नुको कारण पनि प्रदूषण मात्र नभएर कार्बनको बढी उत्पादन हो भनेर बुझ्न गाह्रो छैन। 

भारत र चीनको बीचमा रहेको नेपालमा जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार पर्ने सम्भावनालाई ध्यानमा राखेर वातावरणसम्बन्धी कानुन निर्माण तथा हिमाल र समग्र मानव अस्तित्वका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता टड्कारो भएको छ।

हिमाल ‘हिउँमान्छे’को आवाजले पनि पग्लन्छ भन्ने  मान्यता रहेको अवस्थामा अहिले हिमाली क्षेत्र प्लास्टिक, अक्सिजनका सिलिन्डर लगायतका खतरनाक फोहोर फाल्ने डम्पिङ साइट भएका छन्।

टाढाको कुरा छाडौँ, अन्नपूर्ण आधार शिविर, प्रसिद्ध थोराङपास  क्षेत्रको फोहोरले हामीलाई अर्को विपत्तिको झझल्को दिइरहेको छ। हिमाली क्षेत्रमा जता पायो त्यतै उत्सर्जन गरिएका फोहोरले समग्र पर्यावरण र जैविक विविधतालाई समेत हानि पुर्‍याइरहेको सत्यलाई नकार्ने ठाउँ नै छैन।

सो प्रवृत्ति अन्त्यका लागि सरकारले आरोहरण वा पदयात्रामा जानेले फोहोर उत्सर्जनको जिम्मा पनि लिनुपर्ने बाध्यकारी नीति-नियम बनाउनु अहिलेको आवश्यकता बनेको छ।

महापन्थ गमनमा अर्जुनले सबै हातहतियार छाडेर गएजस्तै हिमालमा फोहोर बोकेर हैन, त्यहाँ फोहोर नगर्ने व्यक्तिहरू नै जानुपर्छ भन्ने मान्यतासमेत विकास गर्न जरुरी छ। 

हिमालको संरक्षणसँग जैविक विविधता पनि जोडिएर आउँछ। त्यसैले हिमाली क्षेत्रका बासिन्दाको सहभागितामा वातावरणमैत्री व्यवसाय सञ्चालन, हिमाल संरक्षणका लागि उनीहरूलाई नै परिचालन तथा नयाँ अवधारणा अहिलेको आवश्यकता हो। हिमाललाई विश्व सम्पदा सूचीमा राख्ने पहलसमेत सरकारबाटै हुनुपर्छ।

हामीलाई संस्कृति र सभ्यताले  वातावरणमैत्री बन्न सिकाएको छ। चौतारो बनाउने, जेठका महिनामा चौतारीमा घैँटो राखिदिने, नदी, हिमाल र पहाडको पूजा गर्ने मात्र होइन, हरेक अनुष्ठानमा पृथ्वी शान्ति, वनस्पतीय शान्ति, अन्तरिक्ष शान्ति अनि पाताल शान्ति चाहने पूर्वीय दर्शन हिमाल र पर्यावरण जोगाउन प्रयोग गर्नपरको छ।

समयले सिद्ध गरिसक्यो- अन्तरिक्षमा शान्ति नहुँदा यहाँ तापमान बढ्छ र अशान्ति हुन्छ। जीव र जगत्‌को सहअस्तित्वको परम सत्यलाई मनन गर्नसके मात्र हाम्रा हिमाल रहन्छन् र यससँग जोडिएको पर्यटन उद्योग दिगो हुन्छ भन्ने बुझेर हातेमालो गर्नु अबको बाटो हो। यता लागे मात्र सबैको कल्याण छ।अस्तु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .