समाज


सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी मिलान गर्दै काठमाडौं महानगर

सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी मिलान गर्दै काठमाडौं महानगर

नेपालखबर
असोज ७, २०८० आइतबार २१:२७, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ।  

कामपा शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या बढी शिक्षक कम, कुनैमा शिक्षक बढी विद्यार्थी कम रहेकाले विद्यार्थी सङ्ख्या र आवश्यकताका आधारमा दरबन्दी मिलान गर्न लागिएको जनाएको छ। 

विभागका प्रमुख सीताराम कोइरालाले दरबन्दी मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। उनले भने, ‘अहिले विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयले थप दरबन्दी माग गरेका छन् त्यस्ता विद्यालयलाई दरबन्दी मिलान गर्दा दिने प्रयास गरिने छ,’ महानगरले बताएको छ।

यदि वास्तवमै शिक्षक आवश्यक हो भने मिलानका क्रममा दरबन्दी दिन नसके पनि त्यो बराबरको अनुदान रकम दिएर भए पनि आवश्यकता पूरा गर्ने उनले बताए। 

हाल कामपामा प्रचलित शिक्षा ऐन, २०२८ ले गरेको व्यवस्था र कामपाको शिक्षा ऐन, २०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, २०७४ ले गरेका प्रावधानअनुरूप विद्यालय सञ्चालनमा छन्। 

अहिले कामपामा ८९ समुदायिक विद्यालय सञ्चालनमा छन्। तीमध्ये ५९ माध्यमिक विद्यालय छन् भने अन्य आधारभूत तहका विद्यालय रहेका छन्। त्यस्तै पाँच सय चार निजी विद्यालय सञ्चालनमा रहेको बताइएको छ।

त्यस्तै कामपाले सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्न लागेको जनाएको छ। पछिल्लो समय निजी छोडेर सामुदायिकमा आउने विद्यार्थी बढी रहेको पनि कामपाले जानकारी दिएको छ।

कम विद्यार्थी सङ्ख्या भएको विद्यालयमा कसरी बढाउने, भौतिक संरचना आकर्षण र राम्रो बनाउने, आवश्यकताअनुसार शिक्षक दिने र थप गुणस्तर बढाउने काम गर्नु तत्काल कामपाको लक्ष्य रहेको बताइएको छ।

कोइरालाका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेकाले सञ्चालनमा रहेका विद्यालयलाई थप गुणस्तरीय बनाउन लागिएको बताइएको छ। सञ्चालनमा रहेका केही सामुदायिक विद्यालयमा अहिले नै विद्यार्थी थेगिनसक्नु छ। त्यहाँ नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि स्थान छैन।

त्यस्तै कामपाले चालु आवदेखि नै एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने भएको छ। सामुदायिक विद्यालयलाई सधैँ सुन्दर र हराभरा बनाइराख्न कामपाले पाँच करोड विनियोजन गरेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad