ad ad

समाज


नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु

नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु

खोप अभियान शुभारम्भका अवसरमा किशोरीलाई एचपीभी खोप लगाइँँदै


नेपालखबर
भदौ २७, २०८० बुधबार १३:०, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका छन्। बुधबार राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा मन्त्री बस्नेतले सो अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका हुन्।

यो अवसरमा धुम्बाराहीकी १४ वर्षीया किशोरी आइरिस मानन्धरलाई पहिलो एचपीभी खोप लगाइयो।

शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पहिलोपटक पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एचपीभी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको  र बागमती प्रदेशमा प्रसूति तथा महिला रोगको उपचारको आशाको केन्द्र मानिएको प्रसूति गृहलाई छानेर खोपको शुभारम्भ गरिएको बताए।

७७ वटै जिल्लाका ९ वर्षदेखि १५ वर्षमुनीका किशोरीहरुलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउँदै हाललाई २० हजार भाइल खोप आइपुगकाले त्यसबाटै अभियान सुरुवात गरिएको मन्त्री बस्नेतले जानकारी दिए।

मन्त्री बस्नेतले भने, ‘सबै किशोरीका लागि पुग्नेगरी खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) सँग कुरा भइरहेको छ। एक वर्षभित्र सबैका लागि एचपीभी खोप आइसक्ने छ।’

पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान जोगाइरहेका महिलाको जीवन बचाउन सरकार संवेदनशील रहेको मन्त्री बस्नेतले बताए।

कार्यक्रममा परिवार कल्याण महासाखाका निर्देशक डा. विवेककुमार लालले नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरुमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको तथ्यांक प्रस्तुत गर्दै ९ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने बताए।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ९ देखि १५ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप आवश्यक भए पनि अहिले थोरैलाइ मात्र दिन सकिएको स्वीकार्दै एक वर्षभित्रै खोप उपलब्ध गराएर नियमित अभियान सञ्चालन गरिने बताए। अर्का सचिव देवकुमारी गुरागाईंले यो खोपको शुभारम्भ हुनु खुसीको कुरा भएको बताउँदै मन्त्रालय सबैलाई पुग्नेगरी खोप ल्याउन लागिपरेको जानकारी दिइन्। 

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले अहिले १७ लाख किशोरीलाई यो खोपको आवश्यकता भएको र सबैका लागि पुग्नेगरी खोप उपलब्ध गराइदिन गाभीसँग प्रस्ताव गरेको र यसमा गाभी सकारात्मक रहेकाले एक वर्षभित्र सबैका लागि खोप आइपुग्ने विश्वास दिलाइन्। 

सरकारलाई प्राप्त भएको २० हजार भाइल खोपलाई समानुपातिक रुपमा देशका सातवटै प्रदेशका ठूला अस्पतालबाट  डेमोस्ट्रेसनका रुपमा शुभारम्भ गरिएको उनले बताइन्। दुई महिनाअघि ल्याइएको २० हजार भाइल खोपको प्रसूति गृहसँगै देशका पाँच अस्पताल डडेल्धुरा अस्पताल, भेरी अस्पताल नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आजैदेखि शुभारम्भ हुने र कोशी अस्पताल एवं नारायणी अस्पतालबाट यही भदौ २८ र २९ हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

यो खोप विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मान्यता प्रदान गरेको खोप हो। ६ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्छ। अहिले पहिलो डोज लगाएका किशोरीले ठीक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानुपर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .