ad ad

समाज


बझाङमा विषालु च्याउ खाँदा छोरा-छोरीको मृत्यु, आमा बिरामी

बझाङमा विषालु च्याउ खाँदा छोरा-छोरीको मृत्यु, आमा बिरामी

नेपालखबर
भदौ १५, २०८० शुक्रबार ९:८, काठमाडौँ

बझाङमा जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ। 

सँगै तरकारी खाएकी बालबालिकाकी आमा बिरामी छिन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डीएसपी राजेश्वर भण्डारीले जानकारी दिए।  

विषालु जंगली च्याउको तरकारी खाँदा जयपृथ्वी नगरपालिका ६ नौराका लक्ष्मण कठायतकी ७ वर्षीया छोरी सञ्जिला र उनका दाजु ११ वर्षीय सुदीपको मृत्यु भएको हो। 

‘बालिकाको बिहीबार र उनका दाजुको गएराति मृत्यु भएको छ,’ डीएसपी भण्डारीले नेपालखबरसँग भने, ‘आमा पुनीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।’

गएको मंगलबार पुनी कठायतले नजिकैको लेकाली जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर बालबालिकालाई खुवाएकी र आफूले खाएकी थिइन्। 

घरमुली लक्ष्मण र उनकी ठूली छोरी भने घर बाहिर भएकाले विषालु च्याउको तरकारी खानबाट जोगिएका प्रहरीले जनाएको छ।

च्याउको तरकारी खाएपछि गम्भीर बिरामी बनेका बालबालिकालाई उपचारका लागि सुरुमा जिल्ला अस्पताल बझाङ लगिएको थियो। 

त्यहाँ उनीहरुको उपचार सम्भव नभएपछि थप उपचारको लागि दुबै बालबालिकालाई डडेलधुरा लगिएको थियो। बालिकाको उपचारकै क्रममा डडेलधुमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बालकको अवस्था थप गम्भीर बनेपछि उनलाई गएराति धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी भण्डारीले जानकारी दिए। ‘स्वास्थ्यकर्मीले आमा पुनी खतरा मुक्त छिन् भनेका छन्,’ डीएसपी भण्डारीले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .