ad ad

समाज


गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना

गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना

नेपालखबर
भदौ १०, २०८० आइतबार ७:३८, काठमाडौँ

आज गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हिजोअस्तीको तुलनामा आज देशका अन्य प्रदेशमा मनसुनी गतिविधि केही कमजोर बनेपनि गण्डकी प्रदेशमा भने आज भारी वर्षाको सम्भावना हरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेकाले आज गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा भारी वर्षाको सम्भावना छैन।

हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा कायम छ। आज कोशी, मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। 

‘अबको केही दिन देशभर भारी वर्षाको सम्भावना देखिँदैन,’ मौसमविद् अधिकारीले नेपालखबरसँग भने, ‘हल्का र मध्यमस्तरको वर्षा भने हुनसक्छ।’ 

कोशी प्रदेशमा आइतबार बिहान राम्रो पानी परेको उनले बताए। आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ‘तर, गण्डकी प्रदेशबाहेकका अरु प्रदेशमा अबको तीन दिन भारी वर्षाको सम्भावना देखिँदैन,’ अधिकारीले भने। 

अहिले पनि कोशी प्रदेशका केही स्थान तथा मधेश र  बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

आज देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज कोशी, मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपालमा सामान्यतया अक्टोबर २ अर्थात् आगामी असोज १५ गतेसम्म मनसुनी गतिविधि कायम रहन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .