ad ad

समाज


नखनेको बाटो खनेको भनी भुक्तानी दिने प्रशासकीय अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

नखनेको बाटो खनेको भनी भुक्तानी दिने प्रशासकीय अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
साउन ११, २०८० बिहिबार १५:२८, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुला, शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट र इन्जिनियर सन्तोष पाण्डेयसमेत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शैल्यशिखर नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, सब-इन्जिनियर दिपक सिंह बिष्ट, पनेबाज–बन्तोली–बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको हो।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं। ६ पनेबाज मौरीभिटादेखि वडा नं। ७ र ८ को बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इष्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी भएको अख्तियारले जनाएको छ।

सो सम्बन्धी उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निमित्त प्रमुख प्रशासकीय विष्टले आव २०७४/७५ र आव २०७५/७६ मा सञ्चालित पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई कटिङ गर्दा बढी दररेट रहेको हार्ड रकको परिमाण अस्वभाविक रुपमा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी २६ लाख दुई हजार ५५६ रुपैयाँ ११ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

उनीविरुद्ध सोही बमोजिमको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

यस्तै, नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयविरुद्ध, रु११ लाख ३० हजार २७२ रुपैयाँ ६७ पैसा, तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामीविरुद्ध १४ लाख ७२ हजार २८३ रुपैयाँ र ४३ पैसा, सब–इन्जिनियर दिपक सिंह बिष्टविरुद्ध २६ लाख दुई हजार ५५६ रुपैयाँ र ११ पैसा बिगो कायम गरी कैद र जरिवाना गरी सोही बमोजिम बिगो रकम असुल उपर हुनसमेत मागदाबी लिइएको छ।

यसैगरी पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी, सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीलाई २६ लाख दुई हजार ५५६ रुपैयाँ र ११ पैसा बिगो कायम गरी बिगो रकमसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .