ad ad

समाज


वीर अस्पतालमा थप शय्यासहित भीआईपी र भीभीआईपी कक्ष सञ्चालन

उपचारका लागि अब कसैले विदेश जानु पर्दैन : स्वास्थ्यमन्त्री बस्नेत
वीर अस्पतालमा थप शय्यासहित भीआईपी र भीभीआईपी कक्ष सञ्चालन

नेपालखबर
साउन ९, २०८० मंगलबार १४:५, काठमाडौँ

वीर अस्पतालले विशिष्ट व्यक्तिहरू (भीआईपी र भीभीआईपी) का लागि थप शय्या र सुविधासहित भीआईपी र भीभीआईपी कक्ष सञ्चालनमा ल्याएको छ। वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआईपी र भीभीआईपीका लागि दुई शय्या छुट्याइएको थियो। अहिले नयाँ सर्जिकल भवनमा ३ शय्या थप गरेर कूल ५ शय्या भीआईपी र भीभीआईपीका लागि सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो। 

वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरे।

स्वास्थ्य मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीका जुनसुकै किसिमका उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेका भीआईपी र भीभीआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए। 

सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्न वीरमा अहिले चालिएको कदम प्रभावकारी हुने र सम्पूर्ण भिआईपी तथा भिभिआईपीले नेपालमै उपचार गर्ने सुविधा वीरमा उपलब्ध गरेको मन्त्री बस्नेतको दाबी छ। मन्त्री बस्नेतले भने, ‘वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टिम बनाएका छौँ। त्यही टिमले उपचार गर्छ। उपचारका लागि कोही पनि विदेश जानु पर्दैन।’ 

मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए।  

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको भिआईपी तथा भिभिआईपी उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा. धुर्व गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान् कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सुन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा. मनबहादुर केसी, डा. रमेश चोखानी छन्। 

उपकुलपति डा. बस्नेतले पहिले पनि भीआईपी र भीभीआईपी उपचारका लागि ओपीडीमा आउने गरेको जानकारी दिँदै केही समययता भर्ना नै हुनेगरी कोही नभएको तर अब सुविधा सम्पन्न भएपछि उपचारका लागि आउने विश्वास व्यक्त गरे।

उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहित किचेन समेतको सुविधा छ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले पुरानो भवनमा २ र नयाँ सर्जिकल भवनमा ३ शय्या थप गरेर ५ शय्याको भिआईपी तथा भिभिआईपी कक्ष सञ्चालनमा आएपछि उपचारका लागि विदेश जाने चलन कम हुने विश्वास व्यक्त गरे। 

बिहान ८ बजेदेखि नै ओपीडी सेवा सञ्चालन गरेपछि अहिले धेरै बिरामीले वीर अस्पतालमा सहज रूपमा सेवा पाइरहेको डा. पौडेलले बताए। स्वास्थ्य मन्त्री बस्नेतको निर्देशनपछि पहिले बिहान ९ बजे सुरु हुने ओपीडि सेवा अहिले बिहान ८ बजे नै सुरु हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .