ad ad

समाज


गत वर्ष प्रेस स्वतन्त्रता हननका ५१ वटा घटना दर्ता

गत वर्ष प्रेस स्वतन्त्रता हननका ५१ वटा घटना दर्ता

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १२:४४, काठमाडौँ

नेपाल पत्रकार महासंघले गएको वर्ष २०७९ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ५१ वटा घटना भएको जनाएको छ। अघिल्लो वर्ष यस्ता घटना ७४ वटा भएका थिए।

पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुर्व्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन्।

विक्रम संवत २०७९ साल नेपाली पत्रकारिता क्षेत्रका लागि थप चुनौतीपूर्ण वर्ष रहेको महासंघको ठहर छ। महासंघका अनुसार श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि श्रमको दीर्घकालीन समस्या समाधानमा कुनै पनि प्रकारको पहल भएन। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा कमी आए पनि जननिर्वाचित संस्था संविधान कार्यान्वयनका लागि बनाउन पर्ने कानून निर्माणमा उदासिन भएको छ।

‘श्रमजीवी पत्रकारले नियुक्तिपत्र नपाउने, तलब नपाउने, सेवा सुविधा नपाउने र जबरजस्ती जागिरबाट निकालिनेलगायतका समस्या २०७९ सालमा दोहोरिएका छन्’ महासंघले भनेको छ, ‘श्रम समस्याको दीर्घकालीन समाधानमा नेपाल पत्रकार महासंघले निरन्तर नीतिगत पहल, खबरदारी, आन्दोलन र कानूनी लडाइँ जारी राखेको छ। तर, श्रम समस्याको स्थायी समाधानका लागि सरकार गम्भीर हुन सकेन।’

संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणमा सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ।

नयाँ वर्ष २०८० सालमा महासंघले सञ्चारसम्बन्धी बन्नुपर्ने कानून निर्माण, श्रमजीवी पत्रकारका समस्याको दीर्घकालीन समाधानको प्रयास, पत्रकारका लागि कल्याणकारी काम र मिडिया क्षेत्रमा देखिएका विभिन्न प्रकारका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेको छ।

युट्युबलगायत सञ्चारका विभिन्न माध्यममा आएका कतिपय कन्टेन्टका आधारमा समग्र पत्रकारिता क्षेत्रप्रति फैलिइरहेको नकरात्मक धारणा सुधारका लागि पनि महासंघले गरिरहेका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रेसप्रति अनुदार राजनीतिक दल तथा नेतालाई लोकतान्त्रिक संस्कारको विकास गर्न प्रेरित गर्नेगरी महासंघले दलहरुसँग सघन छलफल गर्नुपर्ने आवश्यकता पनि प्राथमिकतामा राखेको महासंघको भनाई छ।

यस्तै, श्रमजीवी पत्रकारका समस्याको दीर्घकालीन समाधान गर्न, पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वातन्त्रतामैत्री कानून निर्माण, नागरिक अधिकारको संवैधानिक प्रत्याभूति, सञ्चार माध्यमको दिगोपनाका लागि विगतमा जस्तै महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै यो अभियानमा सबै पत्रकारसहित आम नागरिकको पनि साथ, सहयोगको अपेक्षा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .