ad ad

समाज


३ दिनपछिको आईजीपीमा ३ जनाकै टक्कर

दोस्रो वरियताका राई चुपचाप, पहिलो पटक महिला दाबेदार
३ दिनपछिको आईजीपीमा ३ जनाकै टक्कर

उजिर कार्की
चैत ८, २०७९ बुधबार १२:१०, काठमाडौँ

नेपाल प्रहरीमा भावी प्रहरी महानिरीक्षक (आईजीपी)का लागि तीन एआईजीबीच कडा टक्कर देखिएको छ। आईजीपीका लागि प्रमुख दाबेदार मानिएका अशोक सिंह उमेर विवादका कारण डीआईजीबाटै राजीनामा दिन बाध्य भएपछि वसन्त कुँवरलाई प्रमुख दाबेदार मानिएको थियो। 

तर अन्तिम समयमा चौथो नम्बरमा रहेका श्यामलाल ज्ञवाली पनि आईजीपी बन्ने लाइनमा अगाडी देखिएका हुन्।

ज्ञवालीले एआईजी सिफारिस भएसँगै शक्तिकेन्द्रमा लबिङ बढाएका थिए। उनको लबिङले पहिलो नम्बरमा रहेका कुँवर र तेस्रो वरियतामा रहेका दीपक थापालाई तनाव दिएको छ। 

सरकारले शुक्रबार आईजीपी बढुवा गर्नेछ।

शनिबारदेखि हालका आईजीपी धिरजप्रताप सिंहको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुनेछ। सिंह अन्तिम समयसम्म पनि ३० वर्षे हटाएर आईजीपीमा निरन्तर हुने कोसिसमा छन्। तर उनको प्रयास सफल हुने सम्भावना झिनो बन्दै गएको छ। 

सिंह अवकाश हुने निश्चित जस्तै बनेसँगै भावी आईजीपीका लागि प्रतिस्पर्धीबीच टक्कर देखिएको हो। प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्यामलाल ज्ञवाली वा दीपक थापालाई आईजीपी बनाउने पक्षमा छन्। 

तर नेपाली कांग्रेस पहिलो नम्बरका वसन्त कुँवरलाई नै आईजीपी बनाउनु पर्ने पक्षमा देखिएको छ। यस्तै, तेस्रो नम्बरमा रहेका दीपक थापा पनि आफू नभए कुँवर नै आईजीपी हुनु पर्ने पक्षमा छन्। 

यसअघि कांग्रेस सत्ता बाहिर रहेकाले पनि थापा र ज्ञवालीको नाम बढी चर्चामा छ। कांग्रेसले विश्वासको मत दिएर सरकारमा सहभागी हुने भएपछि कुँवरका लागि दबाब बढाउने देखिएको छ। 

कुँवर डीआईजीमा पहिलो नम्बरमा बढुवा भएका थिए। यही सरकारले उनलाई पहिलो नम्बरमै एआईजीमा पनि बढुवा गरेको छ। तर आईजीपी वरियता अनुसार नै हुन्छ भन्ने निश्चित छैन। 

यसअघि पनि पछिल्लो वरियताकालाई सरकारले आईजीपी बनाएको थियो। कांग्रेस निकट मानिने कुँवर कांग्रेस सरकारमा फर्किएसँगै आईजीपी बन्ने सम्भावना बढी छ। वरियतामा अगाडी भएकाले पनि उनको सम्भावना सबैभन्दा बढी छ। तर ज्ञवालीले माओवादीका नेताहरुलाई भेटेर कन्भिन्स गरेका छन्। 

कुँवर र ज्ञवालीको टक्कर बढेपछि थापा पनि आफैं आईजीपी बन्न लबिङमा छन्। थापा उनीहरूभन्दा ५ महिनापछि भर्ना भएका हुन्। यी दुईमध्ये एक आईजीपी बने भनेपनि त्यसपछिका लागि थापा आईजीपी हुने सम्भावना कायम रहन्छ। यही बीचमा ३० वर्षे हट्ने भएकाले पनि थापाको आईजीपी बन्ने सम्भावना हुन्छ। तर उनी पनि यसैपटक आईजीपी बन्न कोसिस गरिरहेका छन्।

दोस्रो वरियताका राई चुपचाप
आफूभन्दा पछिल्लो ब्याचका एआईजीहरू भावी नेतृत्वका लागि अग्रसर हुँदा दोस्रो वरियतामा रहेका एआईजी टेकप्रसाद राई भने चुपचाप देखिएका छन्। वसन्त कुँवरपछि वरियतामा राई अगाडी छन्। हालको सत्ता गठबन्धनले उनलाई आईजीपी बनाउने सम्भावना कम छ। त्यसो त राईले पनि लबिङ गरेका छैनन्। 

यसअघि डीआईजीबाट एआईजी हुने बेलामा सबै डीआईजीहरू काठमाडौं आएर लबिङमा लागे। पछिल्लो वरियताका डीआईजीहरूले पनि जोड गरे। तर लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका राईले भने कार्यक्षेत्र छाडेनन्। 

टेकप्रसाद राई

एआईजी बढुवाका लागि अरुभन्दा शान्त देखिएका थिए। तर पनि सरकारले राईको वरियता चलाएन र लगातार उनलाई दोस्रो वरियतामै बढुवा गरेको थियो। अहिले उनीभन्दा पछिल्लो वरियतामा रहेका दीपक थापा र श्यामलाल ज्ञवालीले जोड गरिरहँदा उनी भने चुपचाप छन्। 

पहिलो पटक महिला दाबेदार
नेपाल प्रहरीको नेतृत्वका लागि पहिलो पटक महिला दाबेदार देखिएको छ। एआईजी किरण बज्रचार्य नेतृत्वको दाबेदार बनेकी हुन्। यसअघि आईजीपीमा दाबेदार गर्ने गरी एआईजीसम्म महिला पुगेका थिएनन्।

यसअघि पूजा सिंह जनपदतर्फ पहिलो महिला एआईजी भएकी थिइन्। तर उनी नेतृत्व लिने दाबेदार भने थिइनन्। डीआईजीबाटै अवकाश हुने अन्तिम समयमा एआईजी भएकी उनी बीचमै अवकाश भइन्। 

किरण बज्रचार्य

त्यसअघि डीआईजी पार्वती थापाले आईजीपीको लाइनमा थिइन्। तर सरकारले उनलाई एआईजी नै बढुवा गरेनन्। थापा पछि डीआईजीबाटै अवकाश भएकी थिइन्। त्यो लटमा उपेन्द्रकान्त अर्याल आईजीपी भएका थिए। 

आफ्ना ब्याचका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यसपटक किरण बज्रचार्य आईजीपीको दाबेदार बनेकी हुन्। उनले पनि भावी नेतृत्वका लागि लबिङ गरिरहेकी छन्। 

हालका आईजीपीसँगै उनका ब्याचका एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी शुक्रबारदेखि अवकाश हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .