‘भिजिट नेपाल २०२० का लागि यतीको मस्कट डिजाइन गर्नुपर्नेछ, सक्नुहुन्छ?’
गत मेमा प्रेमप्रभात गुरुङले आङछिरिङ शेर्पालाई सोधे। भिजिट नेपाल २०२० कार्यक्रमको मस्कट बनाउने जिम्मेवारी पाएका प्रेमप्रभातले चित्रकारिताकै दौरान आङछिरिङलाई भेटेका थिए।
यती प्रोजेक्टका संयोजक प्रेमप्रभात ठमेलस्थित दलाई ला बुटिक होटल र सँगै रहेको दलाई ला आर्ट ग्यालरीका निर्देशक पनि हुन्।
२० वर्षे अमेरिकी बसाइलाई बिट मारेर आङछिरिङ अघिल्लो वर्षमात्र नेपाल फर्किएका थिए। उता पनि उनी कलाकारितामै व्यस्त थिए। तर, लामो विदेश बसेकाले नेपाली कलाक्षेत्र भने उनका लागि बिरानोजस्तै बनेको थियो।
प्रेमप्रभातको प्रस्ताव उनका लागि एकातिर देशका लागि केही गर्ने मौका थियो, अर्कातिर नेपाली कलाकारहरुसँग घुलमिल हुने अवसर पनि। दुवै मौकाको सदुपयोग गर्दै आङछिरिङले ‘प्रोजेक्ट यती’मा काम गर्न सहमति जनाए।
विश्वका विभिन्न देशले आफ्नो पहिचानका लागि जनावरहरुलाई मस्कटका रुपमा प्रयोग गरेका छन्। कंगारु भन्दा अष्ट्रेलिया, ड्रागन भन्दा चीन, बंगाल टाइगर भन्दा बंगलादेश, हात्ती देख्दा थाइल्यान्ड दिमागमा आएझैँ सरकारले यती देख्दा संसारले नेपाललाई सम्झिन्छ भन्दै यो अवधारणा ल्याएको थियो।
तर, यतीको मस्कट डिजाइन गर्न सहमत भएका आङछिरिङका अगाडि एउटा ठूलो समस्या थियो– यतीको वास्तविक आकृति कस्तो हुन्छ, कसैले देखेकै थिएन। कतिपयले यतीलाई लामालामा रौँले ढाकिएको शरीर भएको डरलाग्दो जन्तुका रुपमा प्रस्तुत गरेको आङछिरिङले देखेका थिए।
आङछिरिङले पनि पहिलो स्केच त्यस्तै बनाए। तर, त्यो आकारमा पनि ठूलो र त्यसमा पेन्टिङ गर्नपनि अप्ठेरो हुने देखिएपछि बसेको यती बनाउने निर्णय भयो। दुवै खुट्टाको बीचमा दुई हात राखेर बसेको आकृतिलाई आङछिरिङले अन्तिम रुप दिए। मस्कटलाई थोरै ‘प्लेफुल’ बनाउन बायाँ हातको बुढी औँलाले ‘थम्स अप’ गरेको बनाइदिए।
पाटन, भक्तपुर, वसन्तपुर दरबार स्क्वायरका मन्दिर अघि राखिएका ठूल्ठूला गरुडका मूर्तिहरुले यो डिजाइन तयार गर्न आफूलाई प्रेरित गरेको उनी बताउँछन्।
‘सानो छँदा म यी क्षेत्रमा खुबै डुल्थेँ। त्यहाँ मन्दिरबाहिर राखिएका विशाल आकार गरुडका मूर्तिहरु मेरो मष्तिस्कमा गडेर बसेको थियो। यतीलाई बसेको बनाउन त्यो गरुडको आसनले मलाई प्रेरित गर्यो,’ आङछिरिङले भने।
यसअघिका चित्रहरुमा यतीलाई डरलाग्दो हिम मानव मानिएको छ। तर, उनले त्यो मान्यताविपरीत ज्ञानी, विद्वान रुपमा बुद्धको आँखा र आकृतिसहितको नयाँ यती सिर्जना गरे।
यतीको यस्तो रुप उनले किन बनाए त?
‘यतीलाई अहिलेसम्म कसैले देखेको छैन। सबैले अन्दाजको भरमा डरलाग्दो आकृतिमा प्रस्तुत गरे। तर, हिमालको स्पिरिटमा यतीलाई मान्ने हो भने यो ज्ञानी पनि हुनसक्छ। यसलाई किन त्यो रुपमा नहेर्ने भनेर मैले स्वयम्भु र बौद्धको दुई आँखासहित यतीको डिजाइन गरेँ,’ उनी भन्छन्।
यतीलाई सात फिट विशाल बनाउन र शान्तिको प्रतीक बुद्धसँग जोड्न हजुरआमाले बाल्यकालमा सुनाउने कथाहरुले पनि उनलाई प्रेरित गर्यो। उनकी हजुरआमाका कथामा प्रायः तीन पात्र हुन्थे– यती, मिटी र छुटी।
यती सबैभन्दा ठूलो हुन्थ्यो। मिटी मान्छे आकारको र छुटी मान्छेभन्दा सानो। यिनीहरु खोलाको किनार किनार बस्थे। ती कथामा यती डरलाग्दो र राम्रा दुवै छविमा हुन्थ्यो। तिनै कथाका आधारमा यतीलाई सकारात्मक छविमा उभ्याउने निर्णय उनले गरे।
‘मस्कट प्लेफुल हुनुपर्छ। ताकि आगन्तुकहरु आएर त्योसँग घुलमिल होऊन्। बच्चाहरु नडराऊन्। डरलाग्दो आकृति बनाउँदा प्लेफुल मस्कट हुन्थेन। त्यही भएर पनि यतीको नयाँ छवि निर्माण गरेँ,’ आङछिरिङ भन्छन्।
आङछिरिङलाई यतीको यस्तो अवधारणा तयार गर्न दुई हप्ता मस्तिष्क मन्थन गर्नुपर्यो। त्यसक्रममा उनले थुप्रै रफ स्केच समेत कोरे। कति फाले। मस्तिष्कले एक आकार दिएपछि त्यसलाई कागजमा उतार्न दुई दिन लागेको उनी बताउँछन्।
उनको स्केचलाई विजय महर्जन (जसको कथा अर्को भागमा प्रस्तुत गरिनेछ) को टोलीले महाराजगञ्जस्थित रोयल स्टुडियोमा मूर्तरुप दिए। त्यसपछि विभिन्न कलाकारहरुले आआफ्नो रुचीअनुसार त्यसमा पेन्टिङ गरे। प्रोजेक्ट सुरु गरेको ६ महिनापछि प्रेम, आङछिरिङ, विजय र विभिन्न कलाकारको कामलाई बुधबार रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले हजारौं दर्शकअघि सार्वजनिक गरिन्।
आङछिरिङले पनि दुई वटा यतीको पेन्टिङ गरे। उनले बौद्धस्थित शेर्पा सेवा केन्द्रलाई पेन्टिङस्थलका रुपमा छाने। त्यहीँ पाल टाँगेर कुची चलाउन थाले। बडेमानको नयाँ आकृतिमा पेन्टिङ गर्दै गरेको देखेपछि मानिसले उनलाई अनेक प्रश्न सोध्थे।आङछिरिङ उनीहरुलाई यती अनि भ्रमण वर्ष २०२० बारे जानकारी दिन्थे।
‘मानिसहरुसँग प्रत्यक्ष अन्तक्र्रिया सहित रङमा रमाउनुको आनन्द रोमाञ्चक हुँदोरहेछ,’ आङछिरिङले अनुभव सुनाए।
९ कक्षामै पढाइ छाडे
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्दा बुधबार रंगशालामा विभिन्न रङका यतीका २० वटा मूर्ति सार्वजनिक गरिएको थियो। जसमा तराई, पहाड, हिमालका कलासंस्कृतिलाई विभिन्न कलाकारहरुले झल्काएका थिए। तर, यस्ता आकृति १ सय ८ वटा बन्ने छन्। जसलाई देशमा मुख्य पर्यटकीय स्थल, १२ विमानस्थल, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, युनेस्को सुचीमा रहेका सांस्कृतिक तथा पुरातात्विक महत्वका स्थानहरुसँगै विदेशमा समेत राखिनेछ।
अमेरिकाको वासिङ्टन डीसीस्थित विश्व बैंकको मुख्यालय र न्यूयोर्क म्युजियमले दुई मस्कट अर्डर गरिसकेका छन्। त्यसबाहेक विश्वका विभिन्न १२ वटा म्युजियमसहित युरोपका जर्मनी, स्पेनसहित अष्ट्रेलिया, चीन, भारत लगायतका देशमा पनि आङछिरिङको सिर्जना पुग्ने भइसकेको छ।
विश्वभर नेपाल भ्रमणको निम्तो दिने यती मस्कटको डिजाइनर आङछिरिङले भने कक्षा ९ मै पढाइ छाडेका थिए। उनी महाराजगञ्जस्थित भानुभक्त मेमोरियल स्कुलमा पढ्थे। तर, ९ कक्षामै उनले औपचारिक शिक्षालाई बिट मारे।
‘पढाइमा मेरो दिमाग अलि सुस्त थियो,’ पढाइ अघि नबढ्नुको कारण उनले हाँस्दै सुनाए, ‘विद्यालयमा एक निश्चित ढाँचामा अध्ययन–अध्यापन हुन्छ। आर्टिस्टहरुको आफ्नै ढंगको सोचाइ हुन्छ। उनीहरूलाई यो गर, त्यो गर भनेको मन पर्दैन। त्यसैले पनि मलाई स्कुले ढाँचामा उकुसमुकुस भयो।’
अर्कातिर उनी विद्यालयमा अल्पसंख्यकमध्येका एक थिए। २५ सय विद्यार्थीमा उनको अनुहारसँग मेल खाने ३–४ जनामात्रै थिए।
‘सबैले भोटे, भोटे भनेर जिस्काउँथे,’ उनले सुनाए, ‘यो मलाई पटक्कै मन पर्दैनथ्यो।’
उनका बुबा उर्गेन दोर्जे शेर्पा थांका बनाउँथे। बुबालाई सहयोग गर्नेक्रममा १३ वर्षको उमेरमै उनले पनि थांका पेन्टिङ गर्न थालिसकेका थिए। स्कुल छाडेपछिका पाँचवर्ष पनि उनले थांका रंगाउनमा बिताए।
एकदिन उनलाई लाग्यो– बुबाले यत्तिका वर्ष थांका पेन्टिङ गरेर पनि प्रगति केही भएन। कसैले राम्रो काम गरेको भनेर सम्मान पनि नदिने। नेपालमा कलाको मान्यता छैन।
सोहीकारण थांका पेन्टिङ छोडेर उनले विदेशिने सोच बनाए।
१८ वर्षको हुँदा उनी कम्युटर विज्ञान र मन्दारिन भाषा पढ्न ताइवान गए। ६ महिना अध्ययनपछि त्यहाँ काम थालेका उनले पाँच वर्ष ताइवानमै बिताए।
न्युयोर्कमा नेपाली कथा
नेपाल फर्केपछि पुनः उनले बुबासँग मिलेर विभिन्न काम गरे। गाउँका गुम्बाभित्र पेन्टिङ गर्ने काममा उनी बुबालाई सघाउँथे। तर, उनको विदेशको रहर पूरा भइसकेको थिएन।
सन् १९९८ मा अमेरिकाका लागि भिसा आवेदन दिए। भिसा लाग्यो पनि। अमेरिका उड्दा त्यहाँ गएर के गर्ने, उनीसँग कुनै योजना थिएन। एकदिन उनी सानफ्रान्सिस्कोस्थित एसियन आर्ट्स म्युजियम घुम्न निस्किए। म्युजियम भ्रमणपछि उनको हातमा छुटेको ब्रस फर्कियो।
‘नेपालको हिमाली क्षेत्रको पेन्टिङ सजाएर राखिएको थियो। त्यसका बारेमा किताब निकालिएको थियो। त्यही हेर्न १० डलर तिरेर जानुपथ्र्यो,’ उनले भने, ‘त्यसले मलाई आकर्षित गर्यो। त्यही चीजलाई ठमेल, बौद्धमा सस्तोमा बेचिन्थ्यो। तर त्यहाँ गुणस्तरीय भए त्यसको मुल्य र मान्यता हुँदोरहेछ। त्यसले पुनः पेन्टिङमा फर्काउन मलाई उत्प्रेरित गर्यो।’
त्यसबेला साथीहरुलाई मजाक गर्दै भनेका थिए, ‘कुनै न कुनै दिन यो म्युजियममा मेरो काम पनि त होला नि!’
नभन्दै त्यो दिन पनि आयो। आङछिरिङका सिर्जना अहिले एसियन म्युजियममा हजारौंले अवलोकन गर्छन्।
हातमा थांका बनाउने सीप थियो। पेन्टिङमा फर्कने निधो गरेपछि अमेरिकामा उनको सहारा त्यही बन्यो। त्यहाँस्थित बुद्धिष्ट केन्द्रहरुहरुमा उनले थांका पेन्टरको काम पाए। दुईवर्ष त्यो काम गरेपछि एकातिर ग्रिनकार्ड हात पर्यो भने अर्कातिर बौद्ध धर्मावलम्बीहरुलाई थांका बनाउन पनि सिकाउन थाले।
त्यहाँको कला क्षेत्रमा लागेका मानिसहरुसँग उनको सम्बन्ध पनि विस्तार भयो। म्युजियम जाने, ग्यालरी हेर्ने काम बाक्लिन थाल्यो। उनले पौराणिक कला सिकेका थिए। तर, म्युजियम, ग्यालरी घुम्न थालेपछि सामसायिक कलातर्फ पनि उनी आकर्षित भए।
केही प्राध्यापक उनका साथी बने। उनीहरुले नै समसामयिक कला सिक्न आङछिरिङलाई सहयोग गरे। विस्तारै उनी थांकाभन्दा बाहिरका कलामा घोत्लिन थाले।
सन् २०१५ मा नेपालमा भूकम्प गयो। उनी नेपाल आए। यहाँको अवस्था दर्दनाक थियो। भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा उनले एकल प्रदर्शनी गर्ने सोच बनाए। घर गुमाएकाहरुबाट उनले भत्केका टुटेफुटेका सामाग्रीहरु मागे। तामाको स्तुपा आकारमा स्केच खिचे र त्यसलाई मूर्तरुप दिए। त्यसको भुइँमा तिनै टुटेफुटेका सामग्री थिए। सन् २०१६ मा उनले हङकङमा त्यसको एकल प्रदर्शनी समेत गरे।
उनको यो कलाकृति अहिले न्युयोर्कको प्रसिद्ध रुविन म्युजियममा प्रदर्शनमा राखिएको छ। म्युजियमले दुई वर्ष प्रदर्शन गर्ने सम्झौता उनीसँग गरेको छ।
‘आर्टका लागि न्यूयोर्क संसारको मुटुजस्तै हो। त्यहाँ देखाउन पाउनु नै ठूलो अवसर हो,’ उनी भन्छन्, ‘नेपालको कथालाई मैले न्यूयोर्कको एउटा विख्यात म्युजियममा पस्किन सकेँ। यो सबै नेपालीहरुका लागि गर्वको कुरो हो।’
सन् २००० मा सानफ्रासिस्कोबाट सुरु भएको उनकोे प्रदर्शनी यात्रा अमेरिकामा मात्रै सीमित छैन। उनले चीन, हङकङ, इटली, नेदरल्यान्ड्स, भारत, सिंगापुर, जर्मनी, फ्रान्स, लगायतका स्थानमा पनि प्रदर्शनी गरिसकेका छन्।
अक्सफोर्डका भिजिटिङ लेक्चरर
अघिल्लो वर्ष जुलाईमा उनलाई बेलायतको विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयको ‘पिट्टी रिभर म्युजियम’ले निम्तो दियो। दुई हप्ता त्यहाँ विताएका उनले अक्सफोर्डका स्नातक तथा स्नातकोत्तर तहका फाइन आर्ट्सका विद्यार्थीसामु आफ्नो अनुभव साटेँ, सिकाए।
कक्षा ९ मा पढाइ छाडेको व्यक्ति अक्सफोर्डमा उभिँदा आफूलाई विश्वासै नलागेको उनी बताउँछन्।
‘अक्सफोर्डमा उभिँदा सुरुमा त आफूलाई विश्वासै लागेको थिएन। लगातार गरिरह्यो भने एक दिन त्यसको पहिचान हुँदो रहेछ। त्यसका लागि दुःख चाहिँ गर्नुपर्दो रहेछ,’ उनी भन्छन्, ‘मान्छेले देख्दा ९ कक्षामा पढाइ छाडेको विद्यार्थी एकैपटक अक्सफोर्डमा उभिएको देख्छ। तर, बीचमा मैले अध्ययनका लागि परिवारबाट टाढा भएको, घुम्न छोडेर अध्ययनमा बसेको देख्दैन। लगातारको त्याग, समर्पण पश्चात म त्यहाँ पुगेको थिएँ।’
सरकार, कलाकार र निजी क्षेत्रको सहकार्य
यती प्रोजेक्टमा आङछिरिङ आकर्षित हुनुको मुख्य कारण थियो, सरकार, कलाकार र निजी क्षेत्रको सहकार्य। राष्ट्रिय कार्यक्रममा सरकार र निजी क्षेत्रको सहकार्यमा कलाकार एकै ठाउँमा आएर काम गरिरहेका थिए। सरकारको कार्यक्रमका लागि कलाकारले आफ्नो कला प्रस्तुत गर्दै थिए। निजी क्षेत्रले त्यसको प्रत्येक मस्कट बराबर ५ लाख खर्च गर्दै थियो।
तर, राष्ट्रिय अभियानमा सहयोग गर्न आङछिरिङले भने कुनै शुल्क लिएनन्। हाम्रो सामाजले कलालाई आफ्नो ठान्न नसके यसको विकास हुन नसक्ने उनको भनाइ छ।
‘कला भनेको ऐतिहासिक महत्वको विषय हो। जो सधैँ बसिरहन्छ। समाज परिवर्तनमा समेत यसको सशक्त भूमिका हुन्छ,’ उनी भन्छन्, ‘विदेशमा सरकार, सामाजले कलालाई संरक्षण गर्छ। त्यसको प्रवद्र्धन गर्छ। तर नेपालमा कलाले त्यति सम्मान पाउन सकेको छैन। यही एक यस्तो प्रोजेक्ट हो, जसमा सबैले एकअर्कासँग मिलेर मात्रै काम गरेनन्। एकअर्काको कामलाई कदर समेत गरे।’
‘नेपालमा हिमाल हेर्नमात्रै पर्यटक आउँदैनन्। हजारौं पर्यटक भक्तपुर र ललितपुरमा त्यहाँको कला हेर्न पुग्छन्,’ उनले थपे, ‘त्यो हाम्रो पुर्खाले दिएको अमूल्य उपहार हो। अहिलेका कलाकारको योगदानलाई पनि सामाजले अँगाल्नुपर्यो। जहिलेसम्म सामाजले यसलाई आफ्नो ठान्दैन, थुप्रै कलाकार उछिटिट्एर बाहिर जानुपर्ने अवस्था आइरहन्छ।’
अन्तर्राष्ट्रिय रुपमा आङछिरिङले एक हिसाबको परिचय बनाइसकेका थिए। तर, उनलाई के नपुगेको के नपुगेको झैँ लागिरहन्थ्यो।
‘म लामो समय बाहिर बसेपनि जन्मे, हुर्केको समाज, साथीभाइ, परिवार यहीँ छ। उहाँहरुको अघि पनि केही गर्न पाए हुन्थ्यो भन्ने सपना थियो,’ उनले भने, ‘गतवर्ष नेपाल फर्केर आएपछि यती प्रोजेक्टमा मैले यहाँको कला समुदायबाट जुन खालको माया र अपनत्व पाएँ, त्यसले सपना पूरा भएझैँ लागिरहेको छ।’
Shares
प्रतिक्रिया