ad ad

समाज


नर्स अभावका कारण वीर अस्पतालको सेवा प्रभावित

शल्यक्रियासमेत प्रभावित, विरामीले पालो पाउन गाह्रो
नर्स अभावका कारण वीर अस्पतालको सेवा प्रभावित

फाइल तस्बिर


समृद्धा केसी
माघ ६, २०७९ शुक्रबार १९:५५, काठमाडौँ

एक सय ३३ वर्ष पुरानो वीर अस्पतालमा नर्स जनशक्तिको अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित बनिरहेको छ। 

पुरानो भवनकै आडमा बनेको नयाँ सर्जिकल भवनमा १५ वटा शल्यक्रिया कक्ष छन्। तर, जनशक्ति अभावकै कारण तीमध्ये नौ वटा कक्षमात्र सञ्चालनमा छन्।

विशेष गरेर अस्पतालमा नर्सिङ, पारामेडिसिन र प्राविधिक व्यक्तिहरुको चरम अभाव हुँदा स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ परेको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिए। 

अस्पतालमा शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण उपकरण भए पनि नर्स नहुँदा बिरामी एक–दुई महिनासम्म पालो कुर्न बाध्य भएको उनले बताए।  

‘वीर अस्पतालले गत वर्ष तीन सय नर्स माग गर्दै लोकसेवा मार्फत विज्ञापन खुलाएको थियो। तर अदालतमा मुद्दा परेपछि नियुक्ति प्रक्रिया रोकियो। अहिले निकै अप्ठेरो परेको छ,’ उनले भने। 

अहिले अस्पतालले दैनिक २० जनाको शल्यक्रिया गर्न सक्ने क्षमता भए पनि नर्स नहुँदा दैनिक १० जनाको मात्र भइरहेको उनी बताउँछन्। 

त्यस्तै, अस्पतालमा बिरामीले सीटी स्क्यान गर्नका लागि पनि १५ दिनको पालो कुर्नु पर्ने अवस्था छ। 

उनी भन्छन्, ‘जनशक्ति अभावले धेरै सेवा रोकिएका छन्। भएका उपकरणहरु पनि प्रयोगमा ल्याउन सकिएको छैन।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. डीएन साह जनशक्ति तत्काल थप्नुपर्ने बताउँछन्। 

भन्छन्, ‘यहाँ आएका बिरामीले सेवा लिन पाएनन् भने उनीहरु कहाँ जान्छन्? यही अस्पतालमा सम्पूर्ण गर्न सक्नेगरी जनशक्ति थप्नुपर्छ।’ 

‘दैनिक दुई नर्सले छोड्छन् जागिर’
हाल अस्पतालमा जम्मा चार सय ५६ जना नर्स कार्यरत छन्। तीमध्ये २३ जना काजमा छन् भने केही पढाइ बिदा र बेतलबी बिदामा बसेको नर्सिङ शाखा प्रमुख संगीता श्रेष्ठले जानकारी दिइन्।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको समयमा भनेर अस्पतालमा एक सय ८५ नर्स खटाएको थियो तर अहिले कम्तीमा दुई जनाले दैनिक राजीनामा दिरहेका छन्,’ उनले भनिन्। 

अस्पतालमा १८ बेडआईसीयू, १८ बेड क्याबिन र ८ वटा पोस्टअप थप गरिएको छ। तर नर्सको संख्या भने नबढाइएको उनले बताइन्। 

‘जनशक्ति नभएरै एचडीयू पनि बन्द छ,’ उनले भनिन्, ‘सेवा बिस्तारसँगै नर्स जनशक्तिको परिपूर्ति गरेको भए यहाँको सेवा निकै प्रभावकारी हुन्थ्यो।’

विश्व स्वास्थ्य संगठनका अनुसार एक आईसीयू बेडमा कम्तीमा पाँच जना नर्सिङ जनशक्ति चाहिन्छ। तर यो प्रोटोकल अनुसार वीरमा स्वास्थ्य सेवा उपलब्ध छैन।

हाल वीरमा एक जना नर्सले ४० जना बिरामी हेर्नु पर्ने अवस्था छ। 

मुख्य गरेर आईसीयूमा तालिमप्राप्त नर्सले सेवा दिनु पर्ने हुन्छ। तर वीरमा स्थायी नर्सहरु पनि विदेश जाने वा त्यहाँभन्दा राम्रो अवसर पाएर छोड्ने गर्दा समस्या बढेको उनको भनाइ छ। 

‘तालिम दिएका नर्सहरुले धमाधम राजीनामा दिँदा त्यसलाई परिपूर्ति गर्न निकै समस्या परेको छ। नयाँ नर्स आए भने पनि उनीहरुलाई तालिम मात्रै दिन तीन महिना लाग्छ,’ उनले भनिन्। 

केही दिनपहिला मात्र एउटा वार्डका पाँच जना नर्सले एकै पटक राजीनामा दिएको उनले सुनाइन्।

‘अस्पतालमा डाक्टरहरु धेरै छन् तर अस्पतालको स्तम्भ मानिने नर्स नै नहुँदा २४ घण्टा यताबाट उता स्टाफलाई काम लगाउने भइरहेको छ। भएका नर्सहरु पनि यति तनावमा काम गर्न सकिँदैन भन्छन्,’ उनले भनिन्, ‘गत वर्ष म यो अस्पतालमा आएदेखि धेरै सेवा विस्तार भइसक्यो तर जनशक्ति एउटा पनि थपिएको छैन।’

गुणस्तरमा सम्झौता
गुणस्तरीय स्वास्थ्य सेवा सम्बन्धी नीति २०६४ अनुसार सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाहरु निर्धारित राष्ट्रिय मापदण्ड तथा मान्यता अनुरुप गुणस्तरीय छन् भन्ने सुनिश्चित गर्नुपर्ने उल्लेख छ। तर वीर अस्पतालले जनशक्ति अभावका बीच दिएको सेवा गुणस्तरीय नभएका उनले बताइन्। 

कुनै–कुनै बिरामीलाई आईसीयूबाट निकालेर विशेष निगरानीमा राख्नु पर्ने हुन्छ तर जनशक्ति अभावकै कारण सिधै वार्डमा सारिरहेको शाखा प्रमुख श्रेष्ठको भनाइ छ। 

‘सहज सेवा पुर्याउन सकस भइरहेका बेला गुणस्तरमा सम्झौता नै गरिरहेका छौँ,’ उनले भनिन्, ‘थोरै जनशक्तिले चलाइरहेका छौँ त्यसमाथि दिन प्रतिदिन जागिर छोड्ने पनि उत्तिकै भएकाले क्वालिटी मेन्टेन गर्न सकिरहेका छैनौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .