ad ad

समाज


शोकमा डुब्यो क्याप्टेन केसीको गाउँ

बुबाआमा, श्रीमती, छोराहरू अर्धचेत अवस्थामा
शोकमा डुब्यो क्याप्टेन केसीको गाउँ

पूर्ण विके
माघ ३, २०७९ मंगलबार १४:२८, तनहुँ

आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको पुर्ख्यौली गाउँ शोकमा डुबेको छ। इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन्। कास्कीको रुपा गाउँपालिका–३ पोल्याङमा रहेको पुर्ख्यौली घरमा रहेकी कान्छी आमा ७९ वर्षीया देवीलाई सान्त्वना दिन गाउँलेहरु भेला हुने गरेका छन्। 

गत दसैँको अष्टमीको दिन पोल्याङमा परिवारका सबै भेला भई रमाइलो गरिएको नै अन्तिम भएको कान्छी आमा देवीले बताइन्। ‘दसैँमा सबै जना जमघट भएर निकै रमाइलो गरिएको थियो। कमलले गाउँलेहरुसँग पनि भेटघाट गरेका थिए’, उनले भनिन्, ‘अब सम्झिनुबाहेक केही रहेन। यो जन्ममा यत्तिकै हुने भो।’

घरधन्दामा व्यस्त आफूलाई नाताले बुहारी पर्ने स्थानीय अप्सरा केसीले कमलले चलाएको जहाज दुर्घटनामा परेको भनेपछि रोएरै दिनरात बिताएको देवीले बताइन्। दुर्घटनामा देवर गुमाउनुको पीडाले आफूहरुलाई काम गर्ने उत्साह पनि नआएको अप्सराले बताइन्। ‘यसरी अकालमा कोही पनि मर्न नपरोस्’, उनले भनिन्, ‘हामी जस्तै धेरैको परिवार शोकमा पर्नुभएको छ। सबैको आत्माले शान्ति पाओस्।’

सानैदेखि पढ्नमा चलाख र मिजासिला स्वभावका कमलले स्थानीय जनता मावि (तत्कालीन महेन्द्रज्योति प्रावि) मा कक्षा ४ देखि ५ सम्म पढेका थिए। त्यसअघि कमल कास्कीकै फल्याङकोटमा पढ्थे। जनता माविबाट कक्षा ५ पूरा गरेपछि थप शिक्षाका लागि कमल काठमाडौँ हानिएका थिए। 

‘कमलदाइ यहाँको विद्यालयमा पढ्दा निकै चलाख र मिलनसार हुनुहुन्थ्यो’, जनता प्रावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका स्थानीय बलभद्र कुमालले भने, ‘हामी सानालाई निकै माया गर्नुहुन्थ्यो र ठूलालाई आदर गर्ने स्वभाव थियो।’

काठमाडौँबाट हरेकपटक गाउँ आउँदा आफूलगायत गाउँका बासिन्दालाई कमलले सन्चोबिसन्चो सोध्ने गर्नुहुने कुमालले बताए। ‘म यस्तो उस्तो भनेर कमलदाइले कहिल्यै घमण्ड गर्नुहुन्थेन,’ कुमालले भने, ‘आँखामा राखे पनि नबिझाउने मान्छेलाई गुमाउँदा हामी गाउँले ठूलो शोकमा परेका छौँ।’

माघे सङ्क्रान्तिको पर्व मनाउने तयारीमा आफूहरु रहे पनि दुर्घटनामा कमल परेको खबरले आफूहरुको भोकप्यास हराएको स्थानीय छिमेकी ६१ वर्षीया कृष्णा रानाभाटले बताइन्। ‘हामी गाउँलेलाई अभिभावक नै गुमाएको जस्तो भएको छ,’ रानाभाटले भनिन्। 

आफूहरुले क्याप्टेन कमलकी कान्छी आमा देवीलाई सम्झाउने र सान्त्वना दिने गरेको उनले बताइन्। गाउँमा ‘काजिबा’ भनेर कहलिएका वीरेन्द्र केसी र मीनाका जेठा छोरा क्याप्टेन कमल हुन् भने विनोद माइला र विदुर कान्छा छोरा हुन्। कमलका कल्पना, बिन्दु, सरिता र सुनिता गरी चार बहिनी छन्। देवीको कोखबाट सुनिता जन्मिएकी हुन्। वीरेन्द्र र मीना पोखरा तेर्सापट्टिमा बस्छन्। क्याप्टेन कमल बूढानीलकण्ठमा श्रीमती शिलु र कान्छा छोरा आर्यनसँगै बस्थे। जेठा छोरा सागर बैङ्ककमा थिए। 

क्याप्टेन कमलको मृत्युको शोकमा बुबाआमा, श्रीमती शिलु र छोराहरु अर्धचेत अवस्थामा छन्। 

क्याप्टेन कमल अनुभवी पाइटलमा गनिनन्थे। उनी ७२ सिट हुने एटीआर विमानको प्रशिक्षक पाइलटसमेत थिए। नेपाल वायु सेवा निगममा लामो समय विमान चलाउनुभएका कमल निगम छाडेर यती एयरलाइन्समा आबद्ध भएका थिए। माघ १ गते ६८ यात्रुसहित चार चालका दलका सदस्य रहेको यतीको जहाज यही माघ १ गते दुर्घटनामा परेको थियो। उक्त विमानले पुस ७ गते पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा परीक्षण उडान भरेको थियो। परीक्षण उडानको नेतृत्वसमेत क्याप्टेन कमलले गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .