ad ad

समाज


किन गरिन्छ पोस्टमार्टम?

किन गरिन्छ पोस्टमार्टम?

पोखरा दुर्घटनामा मृतकको शव निकाल्दै सुरक्षाकर्मी


समृद्धा केसी
माघ २, २०७९ सोमबार १६:१९, काठमाडौँ

आइतबार भएको यती एअरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ। पोस्टमार्टमपछि ती शव आफन्तको जिम्मा लगाइनेछ।

दुर्घटना वा कुनै विपतका कारण ज्यान गुमाएकाको शव राज्यको जिम्मामा हुने भएकाले त्यसलाई पोस्टमार्टम गर्नुपर्ने प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए।

कालगतिले नभई आकस्मिक वा दुर्घटनाका कारण ज्यान गुमाएकाहरुको पोस्टमार्टम गरिन्छ। 

मृत्युको कारण पत्ता लगाउन, शवको पहिचान गर्न र बिमा दाबी लगायतका कारणले पोस्टमार्टम गर्ने चलन रहेको जानकारी डा. खत्रीले दिए।

‘पोस्टमार्टम रिपोर्ट नभएसम्म बिमा कम्पनीले नमान्ने भएकाले पनि यो गर्नै पर्ने हुन्छ,’ उनले भने, ‘योभन्दा अगाडिका विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुले यस्तै झमेलामा परेपछि अहिलेसम्म बिमा दाबी गर्न नपाएको खबर सुनिएको छ।’ 

पोखरा दुर्घटनाका मृतकहरुको पोस्टमार्टम गर्न प्रतिष्ठानका पाँच र काठमाडौंबाट आएका दुई जना डाक्टरको फरेन्सिक टिम बनाइएको उनको भनाइ छ। 

दुर्घटनामा परेकाहरुको जहाँ पोस्टमार्टम गरे पनि एउटै टिमले काम गर्नु पर्ने हुनाले त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई बोलाइएको उनले जानकारी दिए। 

१५ जना विदेशी, पाइटल, को–पाइलट, एअर होस्टेस र पहिचान हुन नसकेका शव भने काठमाडौं ल्याइने शिक्षण अस्पतालका निर्देशक डा.दिनेश काफ्लेले जानकारी दिए। 

पोस्टमार्टमका विषयमा शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग समन्वय गरिरहेको उनको भनाइ छ।  

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ६८ शवमध्ये ३५ जनाको अनुहार प्रस्टै चिन्न सकिने निर्देशक डा. खत्रीले बताए। 

‘आफन्तहरुले पहिचान गरेका शवलाई पोस्टमार्टम गर्ने पहिलो प्रथामिकतामा राखेका छौँ। एउटा शव पोस्टमार्टम गर्न आधा घण्टा जति समय लाग्न सक्छ। पहिचान भएका सबै शव आजै पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाउने योजना छ,’ उनले भने। 

‘जहाँ गरे पनि पोस्टर्माटम रिपोर्ट एउटै हुन्छ’
पोस्टमार्टम जहाँ गरेपनि रिपोर्ट एउटै हुने त्रिविका निर्देशक डा. काफ्लेले बताए।

उनी भन्छन्, ‘शिक्षण अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् वा जिल्ला अस्पताल नै किन नहोस्, जहाँ गरे पनि पोस्टमार्टम गर्ने विधि एकै हुन्छ र रिपोर्ट पनि एउटै आउने हो।’

अन्य ठाउँ हेरी त्रिवि शिक्षण अस्पतालमा जनशक्ति र स्रोतसाधन बढी रहेको उनले बताए।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा १ जना प्रतिनिधि दुर्घटना स्थलमा आवश्यक समन्वयका लागि खटाइएको साथै शव व्यवस्थापनका लागि हब तथा स्याटलाइट अस्पतालहरूसँग समन्वय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ताडा समीरकुमार अधिकारीका अनुसार फरेन्सिक जाँच र शव पहिचानका लागि काठमाडौं उपत्यकाका हब अस्पतालहरूलाई तयार रहन आग्रह गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .