ad ad

समाज


माघे संक्रान्तिको महत्त्व

माघे संक्रान्तिको महत्त्व

फाइल तस्बिर


नेपालखबर
माघ १, २०७९ आइतबार ७:५, काठमाडौँ

नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो - माघे संक्रान्ति। यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ। 

उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ। माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन छ। सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ। विविध जाति र समुदायको बाहुल्य रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ। माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा पनि लिइन्छ। 

आजभोलि माघे संक्रान्ति देशविदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएको छ। तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ। जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्‍याउने खाद्य सामग्रीको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ। 

थारुको माघी

माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ। माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर–घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायतको परिकार बनाएर जाँडका साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ। माघीमा गाइने गीतलाई धमार भनिन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ। माघे संक्रान्तिको दिन बिहान सबै नजिकैको खोला नालामा नुहाउन जाने चलन छ। यसलाई माघ लहानु भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशिर्वाद लिइन्छ। माघको दोस्रो दिन खिचडी बनाई खाने चलन छ। यो दिनलाई खिचरहवा भनिन्छ।

प्रकृतिसँग 

थारुको यो समयमा खेतीपातीको काम सिद्धिएको हुन्छ। यो समयमा प्रकृतिले पनि अथवा रुख बिरुवाले पात झार्ने र नयाँ पालुवा पलाउने गर्दछन्। रुख बिरुवामा पनि फूल फुल्न थाल्छन्। ऋतुको हिसाबले हेमन्त सकिएर शिशिर ऋतु लाग्ने भएकाले यो पर्वको महत्त्व छ। त्यसकारणले थारुले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गरिएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले बताए।

शासन व्यवस्था 

थारुले माघी पर्वलाई एउटा महान् पर्वका रूपमा लिने गर्छन्। सबै कुरा नयाँबाट सुरु गर्ने भएकाले पनि यसलाई नयाँ वर्षका रूपमा मनाइने संयोजक चौधरीले बताए। पछिल्लो केही वर्षयतादेखि नेपालमा कमुइया, कम्लरहरी राख्ने प्रचलनमा बन्देज लगाइएसँगै यसको अन्त्य भएको छ। 

सम्बन्ध 

थारु वर्षभरि आफूले गरेका भूल गल्ती, पाप क्षमा मागी माघको १ गते भाले बस्नुभन्दा पहिले नदी वा खोलामा गएर नुहाएर पुरानो पाप, खराब आनीबानी, सोच विचारलाई नदीमा बगाएर स्वच्छ र पवित्र भई आपसमा मेलमिलाप गर्ने, एकआपसमा क्षमा दिने र आशीर्वाद आदानप्रदान गर्ने, बिग्रेको सम्बन्धलाई बलियो बनाउने गर्छन्। 

लोकप्रिय परिकार ढिक्री 

चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइने थारुको मौलिक परिकार हो, ढिक्री। जसलाई ढकिया (सानो मुख भएको माटोको भाँडो) मा पकाइन्छ। माघीका बेला ढिक्री खाइने उहाँले बताउनुभयो । ठाउँ विशेषअनुसार ढिक्रीलाई सतौरा अनि पिठा पनि भन्ने चलन छ। 

लाइलड्डु

नयाँ वर्ष, नयाँ जन्म जस्ता शुभ समयमा भुजियालाई गुँदमा मुछेर बनाइएको परिकारलाई थारुले लाइलड्डु भन्छन्। यसलाई मुरीको लड्डु पनि भनिन्छ। माघीलाई थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने भएकाले माघीको दिन पनि लाइलड्डु खाइने चौधरीले बताए। सँगै कसार पनि खाइन्छ। भुटेको चामल पिँधेर बनाइएको लड्डुलाई कसार भनिन्छ। 

गङ्गटा

थारु समुदायमा प्रसिद्ध ‘सी फुड’ गङ्गटा पनि हो। गङ्गटालाई विभिन्न तरिकाले पकाउन सकिन्छ। छिपछिपे पानी, दलदले हिलो, खोलाको मुहान नजिक गङ्गटा पाइन्छन्। गङ्गटाको खुट्टा केलाइन्छ। त्यसपछि राम्रोसँग पखालेर तेलमा ‘फ्राई’ गरी पकाइन्छ। यसलाई फ्राइ वा सुप दुवै तरिकाले पकाएर खाने चलन रहेको चौधरीले बताए। ‘लसुन र प्याजको मात्रा धेरै हाली पकाउँदा गङ्गटा निकै स्वादिलो हुन्छ”, उनी भन्छन्, ‘गङ्गटा सेतो रगत भएको जीव भएकाले हाम्रो रगतलाई राम्रो बनाउँछ भन्ने मान्यता छ।’

झिँगे माछा

पानीमा झिँगाजस्तै उफ्रेर हिँड्ने माछा झिँगे माछा हो। झिँगे माछा सबै समुदायले खान्छन्। थारुको पनि यो प्रिय परिकार रहेको थारु सी फुड्का चौधरी बताउँछन्। तलाउ, पोखरीमा पाइने यो माछालाई जालले छोपेर मारिन्छ। चौधरी भन्छन्, ‘काँचो हुँदा कालोकालो रङको हुन्छ। तेलमा तारेपछि यो रातो हुन्छ। निकै मीठो र स्वादिष्ट पनि हुन्छ।” झिँगे माछालाई प्रोटिन र क्याल्सियमको स्रोतका रूपमा लिइन्छ। उनले भने, ‘जाडोमा खाँदा शरीरलाई न्यानो पार्छ भन्ने मान्यता हाम्रो समुदायमा छ।”

सानो बाम

सानो आकारको बाम माछालाई पनि थारुको प्रिय परिकार मानिन्छ। थारुले सानो बाम माछालाई तारेर सर्स्युँ र लसुनमा पकाउने चलन रहेको चौधरी बताउँछन्। उनी भन्छन्, ‘माछाजस्तै यसलाई विभिन्न तरिकाले पकाउन सकिन्छ। उच्च प्रोटिनयुक्त हुने र स्वादिलो हुने भएकाले थारु समुदायमा यो धेरै मन पराइन्छ।’

ऐँठा

घोँगीभन्दा ठूलो आकारको हुन्छ, ऐँठा। चौधरी भन्छन्, ‘घोँगी चुच्चो आकारको हुन्छ भने ऐँठा अलि चेप्टो गोलो आकारको हुन्छ।” उनका अनुुसार घोँगीलाई पोथी र ऐँठालाई भाले भनिन्छ। ऐँठालाई उसिनेर मासु निकालिन्छ। उसिनेपछि भित्रको मासुको भाग आफैँ बाहिर निस्कने उनी बताउँछन्। त्यसरी निस्केको मासुलाई सेकुवा वा तास बनाएर खाने चलन रहेको चौधरीले बताए। ऐँठा पनि घोँगी जस्तै सामुद्रिक जीव भएकाले प्रोटिन र क्याल्सियमयुक्त मानिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .