ad ad

समाज


काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा बाधा पुर्‍याउनेमाथि कारबाही गर्ने

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा बाधा पुर्‍याउनेमाथि कारबाही गर्ने

नेपालखबर
पुस ३, २०७६ बिहिबार ५:४४,

फोहोर व्यवस्थापनमा बाधा पुर्‍याउने व्यक्ति, संस्था, समुदाय तथा संरचना पत्ता लगाउन महानगरका मेयर विद्यासुन्दर शाक्यले वातावरण व्यवस्थापन विभागलाई निर्देशन दिएका छन्।

बुधबार विभागले गरिरहेका कामका बारेमा जानकारी लिने क्रममा मेयर शाक्यले जनशक्ति अभाव हो, तर नपुग्दो होइन भन्दै अब व्यवस्थापन रोक्ने पत्ता लगाएर अगाडि बढ्ने बताएका हुन्।

उनले काम गर्दा व्यक्तिगत अभिलाषा र आफूलाई केन्द्रमा राखेकाले पनि समस्या भएको बताए।

उनले भने, ‘संस्थागत निर्णय कार्यान्वयनमा समस्या सृजना गर्ने व्यक्ति वा समूहको को हो? मलाई जानकारी दिनोस्, धेरै मानिसको हितका लागि कतिपय बेला अप्रिय निर्णय पनि गर्नुपर्ने हुन्छ। कुनै एउटा अप्रिय निर्णयले व्यवस्थालाई थप नोक्सान हुनबाट बचाउँछ भने यसका लागि नेतृत्वले डराउन हुँदैन, म डराउँदिन।’

मेयर शाक्यले फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता गराउनेसम्बन्धी फाइल लगानी बोर्डबाट फिर्ता आएको बताए। ‘अब महानगरले प्रचलित र प्रयोगसिद्ध प्रविधिको प्रयोग गर्ने विषयमा अध्ययन गर्छ’, उनले भने।

त्यस क्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले ओखरपौवामा क्षमता सकिएको र बञ्चरे डाँडामा पूर्वाधार तयार नभइसकेको ल्याण्डफिल्ड साइट महानगरका लागि चुनौती रहेको उल्लेख गरे। उनले फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी तथा उपकरण मर्मत गर्दा आवश्यक पर्ने स्पेयर पार्टस बजारबाट सजिलै खरिद गर्न नसकिने कानुनी प्रबन्धले भनेको समयमा सवारी मर्मत गर्न नपाइएको बताए।

यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यले अत्यावश्यक सेवा व्यवस्थापन गर्न कानूनी प्रबन्ध र ती प्रबन्ध सञ्चालन गर्ने प्रशासनिक व्यवस्था हुनुपर्ने खाँचो देखाए। आवश्यकताका आधारमा सरसफाइमा खटिने जनशक्ति परिचालनमा समस्या छ । वडागत आँकडा प्रस्तुत गर्दै वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोख्रेलले ठूला सवारी चलाउने चालकको खाँचो देखाए।

आफूले गरेको र गर्नुपर्ने कामका बारेमा जानकारी गराउने क्रममा फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख निर्मलराज बरालले २८ वटा सूची प्रस्तुत गरेका थिए। यस सूचीमा ट्रान्सफर स्टेशन सञ्चालन, व्यवस्थापन र सौन्दर्यीकरणदेखि ल्याण्डफिल्ड साइटको व्यवस्थापन र यसका लागि सहरी संरचनागत त्रुटिका कुरा समावेश छन्।

त्यस क्रममा समुदाय परिचालन शाखा प्रमुख सानुमैया महर्जनले स्रोतमा फोहोर छुट्याउने विधिलाई भित्री वडाका चोक—चोकबाट सफल बनाएर विस्तार गरिने योजना सुनाए। त्यस्तै खटनपटन शाखा प्रमुख पूर्णचन्द्र भट्टले व्यवस्थापनका चक्रमा एक ठाउँमा समस्या आउनेबित्तिकै ट्रान्सफर स्टेशनमा दबाब सृजना हुने बताए। कर्मचारीले यसरी सुनाएका समस्या मेयर शाक्यले ३ घण्टा सुनेर टिपोट गरेका थिए भने छुटेका कुरा सम्झेर भन्न प्रोत्साहित गरेका थिए।

आफ्ना समस्या, गुनासा र अब गर्नुपर्ने काममा सूची प्रस्तुत गर्ने क्रममा अधिकारीहरुले फोहोर उत्पादक व्यवस्थापनमा जिम्मेवार नभएको, अस्पतालजन्य तथा अन्य हानीकारक फोहोर व्यवस्थापनमा उत्पादकलाई जिम्मेवार बनाउनु पर्ने, फोहोर सडकमा थुपार्ने उत्पादक तथा निजी क्षेत्रमाथि निगरानी गर्नुपर्ने लगायत विषय उठाएका थिए।

त्यस्तै ट्रान्सफर स्टेशनलाई पर्खाल लगाएर सुरक्षित तथा पार्क बनाएर व्यवस्थित गर्नुपर्ने, ओखरपौवाको ल्याण्डफिल्ड साइट व्यवस्थापन, बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइटको पूर्वाधारमा भइरहेको ढिलाइ, साइट नहुँदा आउन सक्ने समस्या, ल्यान्डफिल्ड साइट प्रभावित स्थानीयको गुनासो सुनुवाइ तथा व्यवस्थापन, ल्याण्डफिल्ड साइट पुग्ने सडकको दुरवस्था, अन्य निकायले काममा ढिलाइ गरिदिएपछि महानगरमा सृजना हुने दबाब, निजी तथा सामुदायिक संघसंस्थासँगको सहकार्यका विषयलाई पनि महत्वका साथ उठाइएको थियो । सार्वजनिक शौचालय निमाएणा, सञ्चालन व्यवस्थापन, वातावरणीय प्रदुषण, पानी तथा फोहोर पानी व्यवस्थापन विषय पनि त्यस क्रममा उठेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .