ad ad

समाज


सुकुमवासी भन्छन्– अहिलेसम्म न जग्गा पाइयो, न लालपुर्जा

सुकुमवासी भन्छन्– अहिलेसम्म न जग्गा पाइयो, न लालपुर्जा

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार ९:४२, ढोरपाटन

‘हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुमवासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा  नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्,  आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन्।’ बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय  इसुफ मियाँले भने। उनको आफ्नो र पैतृक सम्पत्ति केही छैन।

मियाँलाई हरेक चुनावमा लालपुर्जा दिलाउने आश्वासन धेरै उम्मेदवारले दिए। आफूलाई लालपुर्जा दिलाउन नसकेको उनले गुनासो पोखे। उनी आफ्नो जग्गा, जमिन र बस्ने बाससमेत नभएको जनाउँदै अरुको आश्रय लिएर बस्नुपरेको बताउँछन्। नेताले जित्नका लागि सुकुमवासी बस्तीमा आएर अनेक आश्वासन दिने तर काम भने नगरेको उनको भनाइ छ। 

‘अहिलेसम्म दर्जनौँ नेताले सुकुमवासीलाई जग्गा व्यवस्थापन गरेर लालपुर्जा दिन्छौँ भनेर आश्वासन दिनुभयो, हामी पनि होला भन्दै आश गरेर बस्यौँ तर अहिलेसम्म न जग्गा पाइयो, न लालपुर्जा। धेरै व्यवस्था फेरियो तर हाम्रो अवस्था उस्तै छ, कहिल्यै फेरिएन, दिनदिनैको बढ्दो महँगी उस्तै, निकै दुःख पाएका छौँ’, उनले भने, ‘चुनाव आउने बेला जहिले पनि सुकुमवासीको काम गर्न हामी चुनावमा उठेका छौँ, जितेपछि तपाईंहरूका लागि यो गर्छौँ, त्यो गर्छौँ भन्छन् तर जितेर गए भने एकपटक पनि हामीलाई भेट्न आउँदैनन्, हाम्रा आशाहरू यतिकै मरे।’ 

आफ्ना ६ भाइ छोरामध्ये कान्छो छोराले मात्रै घडेरी किनेर घर बनाएको जनाउँदै अन्य पाँच भाइ सुकुमवासी नै रहेको मियाँले बताए। उनले वर्षौँदेखि सरकारसँग गाँस, बास र कपासको ग्यारेन्टीका लागि माग गरे पनि कुनै सुनुवाइ नभएको गुनासो पोखे। आफूहरूले वर्षौँदेखि मजदुरी गरेर जीविका चलाइरहेको उनको भनाइ छ। 

स्थानीय आमुला खातुनले चुनावका बेला आश्वासन दिने नेताले सुकुमवासीका लागि रोजगारको व्यवस्था मिलाइदिए दैनिक व्यवहार चलाउन सहज हुने बताइन्। उनले रोजगारसमेत नहुँदा गुजारा गर्नसमेत गाह्रो पर्ने बताइन्। वृद्धवृद्धाले नसके पनि युवाहरूले काम गर्न सक्ने र परिवार चलाउन सहज हुने उनको भनाइ छ। सुकुमवासीका लागि राज्यको नजर पुग्न नसकेको उनले बताइन्। 

‘सांसद, मन्त्रीहरू भएका सबै हामीहरूले मत दिएर जितेका त हुन् नि, उनीहरूलाई हामीले माथि पुर्‍यायौँ, तर हाम्रा लागि कसैले केही गर्न सकेन, चुनावका बेला भोट माग्न आएर यो गदिन्छौँ र ऊ गदिन्छौँ भन्नेले केही नगरेर सुकुमवासीलाई रोजगरको व्यवस्था गरिदिए त आफैँ कमाएर जीवन चलाउन सकिन्थ्यो नि’, उनले भनि्न, ‘काम केही गर्न पर्दैन, भाषण मात्रै दिन्छन्, जितेर गए भने पाँच वर्ष फर्किएर गाउँ आउँदैनन्, यस्ता नेतालाई के भोट दिनु, भोट मात्रै खेर गइरहेको छ।’ 

उनले यहाँका बालबालिका, वृद्धवृद्धालाई अझ बढी समस्या पर्ने गरेको बताइन्। सुकुमवासीहरू अरुको आश्रयमा बसेको हुँदा खाना, बस्न र औषधोपचारमा बढी समस्या हुने गरेको उनको भनाइ छ। सरकारले सुकुमवासीका लागि निःशुल्क स्वास्थ्योपचार र खाद्यान्न व्यवस्था गरे आफूहरूलाई ठूलो राहत मिल्ने उनी बताउँछिन्। 

उनी भन्छिन्, ‘नेताहरूसँग हाम्रो ठूलो अपेक्षा छैन, हामीहरूको आधारभूत आवश्यकता पूरा गरिदिए अरु हामी जसोतसो जीविका चलाउन सक्थ्यौँ, जाडो सुरु हुन थाल्यो, लत्ताकपडाको समस्या हुन्छ, खाना र अरुको कुरा त सबै समस्याको विषय भयो, यहाँ त खानेपानीको पनि निकै समस्या छ, यहाँका केटाकेटीले पढ्न पनि समस्या छ, औषधोपचार पाउनै गाह्रो छ।’ 

स्थानीय यज्ञबहादुर क्षेत्री सुकुमवासी बन्नुपरेको धेरै समय भएको छैन। आधा दशक अगाडिसम्म उनको व्यवसाय, गाडी थियो। परिवार राम्रोसँग चलेकै थियो। बैंकबाट ऋण लिएर गाडी किनेको केही समयै दुर्घटनामा परेपछि क्षेत्रीको घर, सम्पत्ति र व्यवसाय सबै डामाडोल बन्यो। बैंकले घर जग्गा कब्जा गरेपछि क्षेत्री परिवार सुकुमवासी हुनुपर्‍यो। 

आफू सुकुमवासी भएपछि धेरै नेताले घर बासको व्यवस्थापन गरीदिने आश्वासन दिएर काम नगरेको उनले बताए। उनले अहिले भोट माग्न आउने उम्मेदवारलाई आफूजस्ता सुकुमवासीको समस्या समाधान नगरेसम्म मत नदिने बताए। 

उनले भने, ‘नेताले त कुरा मात्रै गर्ने हुन् काम गर्दैनन्, यो गाउँमा यति धेरै सुकुमवासी छौँ, चुनाव आउँदा मात्रै गाउँ आउँछन्, जितेपछि कहाँ जान्छन्, थाहा हुँदैन, हामी आफैँ पीडामा छौँ, त्यहीमाथि चुनावका बेला आएर आश्वासन दिन्छन्, आश लाग्ने केही गर्छन् कि भन्ने तर केही नगर्दा हामी निकै निराश छौँ, यिनीहरूलाई भोट दिएर काम छैन, हाम्रो अवस्था कहिल्यै फेरिएन, उनीहरूलाई किन भोट दिने?’

अमलाचौर गाउँमा मात्रै करिब १५ भन्दा बढी घरपरिवार सुकुमवासी छन्। आफूहरूलाई स्वास्थ्य, शिक्षा, खानेपानी निकै समस्या रहेको उनीहरू बताउँछन्। यो चुनावमा आफूहरू एकजुट भएर आफ्ना समस्या समाधान गरीदिने नेतालाई मात्रै भोट दिने योजना बनाएको उनीहरूको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .