२०६७ साल चैतमा घुँडामा चोट लागेसँगै ललितपुरका किशोर केसीको खेल जीवनमा ब्रेक लाग्यो। चोडका कारण मैदानबाट अस्पताल हुँदै घर फर्किएपछि कुकुर पाल्ने मोह उनमा बढ्यो।
घरमा पहिलेदेखि नै कुकुर पाल्ने गरेको भएपनि व्यवस्थित ढंगबाट पालिएको थिएन। पहिले पहिले त छाडै छाडेर र हेरचाह पनि खासै नगरी पाल्ने गरेका थिए।
२०६८ सालमा भने उनले साथीको घरबाट कुकुर ल्याउन खोजेका थिए। सुरुमा पालिरहेकै कुकुर दिन्छु भनेका साथीले पछि अर्कै खोजिदिन्छु भने।
त्यसको केही समयपछि उनले किशोरलाई लेब्राडोर जातको कुकुर दिए। चोटका कारण घरमै थन्किएका किशोरको साथी त्यही कुकुर हुन थाल्यो। फुटबलका डिफेन्डर किशोर जर्सी नं ३ लगाउँथे।
त्यसको पनि कारण छ, अर्जेन्टिनाको राष्ट्रिय टिमका पूर्व खेलाडी सोरिनले लगाउने जर्सी हो यो। उनी किशोरलाई मन पर्ने खेलाडी हुन्। किशोरले उनकै नम्बरको जर्सी मात्रै लगाएनन् जर्सीमा नाम पनि किशोरिन् लेख्थे।
तर उनको यो खेल यात्रालाई चोटले रोक्यो।
सोरिन प्रतिको त्यो भाव भने हटेन।
कुकुरको नाम पनि सोरिन राखिदिए।
फुटबलमा रमाइरहेका किशोर विस्तारै घरमै बानी पर्न थाले। मैदानबाट टेलिभिजनमा सिमित हुन पुग्यो फुटबल।
त्यसपछि किशोरले नियमित सोरिनको हेरचाह गर्न थाले। उत्तिकै माया पनि गर्न थाले। उनको शरिरमा अहिले चार वटा ट्याटु छन्। ती मध्ये आमा–बुबा, फुटबल र सोरिनको तस्बिर खोपेका छन्।
११ वर्षदेखिको उनको साथी बनेको सोरिन गत वर्ष बित्यो। २०७८ साउन ६ गते क्यान्सरले लग्यो सोरिनलाई। केही महिनादेखि विरामी सोरिनलाई उनले पाटनस्थित पशु अस्पताल र झम्सिखेलको पशु अस्पतालमा लगे। त्यहाँ सबै परीक्षण पछि सोरिनलाई क्यान्सर भएको पत्ता लाग्यो।
डाक्टरले ६ गते बिहान अप्रेसन गर्ने भनेका थिए। ५ गते सोरिनलाई लिएर किशोर घर फर्किए। तर सोरिनको स्वास्थ्य झन्झन् बिग्रदै गयो। त्यसैराति १२ बजेतिर सोरिनले संसार छाड्यो। सोरिन बितेको कुरा उनले छिमेकीलाई सुनाए। छिमेकका दाइहरु भेला भए।
त्यसपछि उनले राति नै सोरिनलाई लिएर मलपोखरी नजिक रहेको खालि जग्गामा खाल्टो खनेर पुरे। उनलाई त खास घरबाट लैजानै मन थिएन। दाइहरुले रातिनै लगेर पुरिहाल्न सल्लाह दिए। त्यसपछि लगिएको थियो। राति नै सोरिनको शव गाडेर घर फर्किए।
सोरिनलाई पुरेर फर्किएपछि किशोरलाई घर खालिजस्तो लाग्न थाल्यो। सोरिनको अभाव महसुस गर्न थाले। भोलिपल्ट बिहानै घरबाट निस्किएका उनलाई सोरिनकै यादले घर फर्किन पनि मन लागेन। बुबा आमाले सम्झाउँदा पनि किशोरको मन फर्किएन। उनी झोक्राइ मात्रै रह्यो।
आफैंले पनि सम्झाउँन सकेनन्। त्यसपछि टोलका दुई जना भाइहरुलाई बोलाएर किशोर सोरिनको शव खोतल्न मलपोखरी पुगे। दुई दिनअघि पुरेको सोरिनको शव मोटरसाइकलमा होलर उनी घर आए।
पुरेको दुई दिनपछि सोरिनको शव लिएर किन घर फर्किए भन्ने प्रश्नमा किशोर भन्छन्, ‘त्यसलाई टाढा राखेर बस्नै गाह्रो भो। जीवनभर पालेको कुकुरलाई त्यति टाढा किन भनेर आफ्नै जग्गामा राख्न मन लाग्यो। अनि, लिएर आएँ।’
मलपोखरीमा गाडीसकेको सोरिनलाई ल्याएर फेरि घर नजिकै गाडियो। त्यहाँमाथी किशोरले सोरिनकै नाममा एउटा विरुवा रोपे। तर यतिमै उनी रोकिएनन्। सोरिनकै जातको, सोरिनकै रंगको कुकुरको खोजि गरे।
साथीहरुलाई पनि उनले यस्तै कुकुर खोजिदिन आग्रह गरे। नभन्दै एकजना साथीले चीतवनमा ठ्याक्कै त्यस्तै रंगको कुकुरको बच्चा रहेको खबर गरे। त्यो कुकुर चितवनबाट ल्याएर उनले हुर्काउन थाले।
त्यसको नाम सोरिन जुनियर राखिदिए। लेब्राडोर जातकै अर्को कुकुर सोरिनकै रंगका हुर्काए। अहिले सोरिन जुनियर उनको साथी बनेको छ।
Shares
प्रतिक्रिया