ad ad

समाज


मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास भएन’

मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास भएन’

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १०:२, काठमाडौँ

गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे। 

उनले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदको लागि मतदान गर्दै छन्। उनले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुने तर, लिलिङमा सडकको समस्या भने कहिल्यै समाधान हुन सकेन। 

जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी समय लाग्ने गरेको उनले गुनासो गरे। ‘जिल्ला सदरमुकाम जान बागलुङ गएर चार घण्टामा पुग्न सकिन्छ।’ उनले भने, ‘पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा छ घण्टा लाग्छ।’ वडादेखि केन्द्र तहका नेताले पटकपटक आश्वासन दिए पनि कहिल्यै पूरा नभएको स्थानीयवासी घर्तीमगरले गुनासो गरे।

लिलिङका अर्का स्थानीय ३७ वर्षीय यमबहादुर बलामी पनि गाउँमा सडक नहुँदा नेताप्रति वाक्क छन्। उनले पनि १८ वर्ष पुगेपछि पहिलोपटक २०५६ देखि गत निर्वाचनसम्म चार पटक सांसद चुने। मङ्सिर ४ मा उनले पाँचौँ पटक सांसद चुन्दै छन् तर, उनी पनि गाउँमा सडक नहुनाले नेताहरू प्रति वाक्क छन्। 

गाउँमा लामो समयदेखि नेताले पटकपटक दिएको आश्वासनले दिक्क लागेको लिलिङका यमबहादुरले गुनासो गरे। ‘सडकको लोभ देखाएर मत मागेपछि विश्वास गर्दा धेरै सांसद बनेका छन्।’ उनले भने, ‘लामो समयदेखि सडक नहुँदा सास्ती भयो, अहिले ट्रयाक खुले पनि एक झर पानी परेपछि सडक अस्तव्यस्त हुन्छ।’ उनले आफूहरूलाई निकै सास्ती हुँदा पनि नेताले आश्वासन मात्र देखाएर मत माग्ने गरेको गुनासो गरे।

लिलिङका यी दुई त केवल पात्र मात्र छन्। लिलिङमा ४५ घरपरिवारमा तीन सय सदस्य छन्। उनीहरू यो समस्याबाट सधैँ ग्रसित बनिरहेका छन्। 

गत वर्ष सडकको ट्रयाक खुले पनि अहिलेको वर्षायामले सडक अस्तव्यस्त बनेको छ। बडिगाड खोला पर बाग्लुङको भिमगिठेमा मध्यपहाडी राजमार्ग भए पनि यस क्षेत्रमा भने सडकको अवस्था विजोग रहेको लिलिङका स्थानीयवासीले गुनासो गरे। यो मात्र होइन यस क्षेत्रमा विद्यालय पनि छैन । मनकामना प्राथमिक विद्यालयमा कक्षा १ र २ मा अध्ययन तथा अध्यापन भए पनि त्यसबाहेकको माथिल्लो तहमा २० विद्यार्थी बागलुङमा जाने गर्दछन् । यस क्षेत्रमा अहिलेसम्म केन्द्रीय विद्युत् पुगेको छैन । त्यहाँका स्थानीवासीले प्रतिघरपरिवार रु सात हजार नगद र एक सय १० दिन श्रमदान गरेर घरघरमा बिजुली बाले पनि समस्या आइरहन्छ । 

त्यस्तै सोही वडाको देउरालीका स्थानीय ६१ वर्षीय भीमबहादुर विकको २०७३ मा सडकको ट्रयाक खोल्दा घर जोखिममा परेको थियो तर, उनको समस्या अहिले पनि उस्तै रहेको छ । उनको घर जोखिममा परेपछि चुनावी कार्यक्रममा सधैँ गुनासो राखे तर, चुनावको समयमा आश्वासन धेरै आए पनि चुनावपछि कहिल्यै समस्या समाधान हुन नसकेको उनले गुनासो गरे। 

आफूले अहिले सांसदका लागि छैटौँ पटक मतदान गर्न लागेको भीमबहादुरले बताए। ‘मैले विभिन्न आश्वासनका कारण पटकपटक मतदान गरेको थिएँ,’ उनले भने, ‘आश्वासन कहिल्यै पूरा नभएकाले यसपटक मतदान गर्ने इच्छा पनि छैन।’ उनले पटकको निर्वाचनमा जोखिममा रहेको घरमा सिमेन्टी पर्खाल उठाउने आश्वासन दिए पनि अहिलेसम्म पूरा नगरेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .