ad ad

समाज


दसैँका खचाखच यात्रु बोकेको बस ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना!

मृतकको संख्या १७ पुग्यो, १५ जनाको सनाखत
दसैँका खचाखच यात्रु बोकेको बस ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना!

जनार्दन पोखरेल
असोज २०, २०७९ बिहिबार २१:०, सर्लाही

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दसैँका खचाखच यात्रु बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ।

दसैंका यात्रुले खचाखच भरिएको बस ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

दुर्घटनाका मृतक १७ मध्ये केहीबेर अघिसम्म १५ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

मृतक एक महिला र एक पुरुषको अझै सनाखत हुन सकेको छैन। दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको एसपी बोगटीले बताए।

मृतकहरु
दुर्घटनामा मृत्यु भएकामध्ये बाराको कलैया उपमहानगरपालिका- २ का ४१ वर्षीय लीलाराज चौधरी, कलैया -१० की ३५ वर्षीया नागलिन ठाकुर, सोही ठाउँका इताजब अन्सारी, बाराकै जितपुर सिमरा उपमहानगरपालिका २२ का २८ वर्षीय सुरेश बिकको सनाखत भएको छ।

त्यसैगरी चितवनको खैरहनी नगरपालिका ५ की ६३ वर्षीया नन्दकुमारी पुडासैनी, त्यही ठाउँका ३५ वर्षीय मनोरथ पुडासैनी, चितवनकै कालिका नगरपालिकाको रमाइलो चोक निवासी शंकर चौधरीका छोरा १४ वर्षीय सफल चौधरी, पर्साको वीरगञ्ज महानगरपालिका १६ का ६५ वर्षीय सोमप्रसाद चौरसिया, सोही ठाउँकी ३५ वर्षीया मनिदेवी चौरसियाको सनाखत भएको छ। 

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका ७ घर भएकी ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, त्यही ठाउँकी २० वर्षीया स्वस्तीका श्रेष्ठ, ओखलढुंगा घर भएका ५५ वर्षीय लालबहादुर बोगटी, गोरखा घर भएका ३५ वर्षीय अम्बिका कँडेल, धनुषाको जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोषकुमार राय र चितवनको भरतपुर महानगरपालिका १२  घर भएकी १६ वर्षीया कृतिका चौधरीको सनाखत भएको छ। 

चितवनको नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेशको ०६–००१ ख ०११० नम्बरको बस ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृतकमध्ये केही एकाघरका सदस्य भएको अनुमान प्रहरीले गरेको छ। 

‘मृतकमध्ये केही एकाघरका सदस्यसमेत छन्। तर,अझै उनीहरुबीचको नाता खुल्न सकेको छैन,’ एसपी बोगटीले भने, ‘दुर्घटनामा घाइते हुने धेरै बालबालिका छन्। घाइतेहरुको हेटौँडा, भरतपुर र वीरगञ्जका अस्पतालमा उपचार भइरहेको छ।’

गम्भीर घाइते १४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य घाइतेको वीरगञ्ज र हेटौँडामा उपचार भइरहेको छ। दुर्घटनामा बसका चालक पनि गम्भीर घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .