समाज


‘जलवायु संकटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

‘जलवायु संकटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

नेपालखबर
असोज २, २०७९ आइतबार १४:१, काठमाडौँ

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने योजना बनाइरहेको छ। 

संयुक्त राष्ट्रसंघले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय संकट सुरु भएको भनेकाले नेपालजस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्न योजना बनाउने जानकारी यसअघि नै दिएका छन्। यसै आधारमा सो मन्त्रालयले यसको अध्ययन तथा सम्बन्धित विज्ञसँग राय सुझाव लिन सुरु गरेको छ।

मन्त्रालयका जलवायु महाशाखा प्रमुख बुद्धिसागर पौडेलले संकटकाल घोषणाको अध्ययन र प्राविधिक तयारी भइरहेको जानकारी दिए। उनका अनुसार संकटकाल लगाएपछि फाइदा वा घाटा के हुन्छ, कुनै क्षेत्र विशेषमा असर पर्छ कि भन्ने विषयमा अध्ययन गर्ने भनेर तथ्य–तथ्यांक जुटाउने र विश्लेषण गर्ने काम सुरु गरिएको छ।

‘जलवायु संकटकाल’ घोषणा गरेपछिको अवस्थाबारे अध्ययन गरी जानकारी लिन मन्त्रालयले प्राविधिक टोली तयार गरिरहेको बताइएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भनेर निरन्तर सचेत गराइरहेका छन्।

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमका विषयमा तथ्यांक राख्ने अन्तर्राष्ट्रिय संस्था ‘जर्मनवाच’का अनुसार नेपाल अहिले जलवायु परिवर्तनका कारण उच्च जोखिम भएका देशमध्ये दसौं स्थानमा पर्छ। संकटकाल नै घोषणा गर्न भने हतार गर्न नहुने धरैको भनाइ छ।

तथ्यमा आधारित प्रमाणसहित ‘जलवायु संकटकाल’ घोषणा गर्न आवश्यक रहेको यसका विज्ञ तथा मन्त्रालयका कर्मचारीको भनाइ छ। नेपाल सरकारसँग अहिलेसम्म जलवायु परिवर्तनकै कारण कति हानि नोक्सानी भयो भन्ने यकिन तथ्यांक नभएका कारण संकटकाल घोषणापछि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने योजना बनाउनुपर्ने आवश्यकता रहेको यस क्षेत्रका विज्ञको भनाइ छ।

मुलुकले लामो समयदेखि पर्यावरणीय र जलवायुजन्य समस्या भोगिरहेको भए पनि सरकारले कोप–२७ को तयारीका क्रममा संकटकाल घोषणाका विषयमा सरोकारवाला निकाय र विज्ञसँग छलफल गरिरहेको छ। 

उता वन तथा वातावरणमन्त्री प्रदीप यादव नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायत सबै क्षेत्रमा देखिने गरी जलवायु परिवर्तनको असर परिरहेकाले नेपालमा जलवायु संकटकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको दाबी गरिरहेका छन्।

हालसम्म विश्वका ३९ देशले जलवायु संकट घोषणा गरेका छन्। जलवायु परिवर्तनको असरले नेपालमा प्राकृतिक विपद्का घटना बर्सेनि दोहोरिइरहने तथा हरेक वर्ष कहिले खडेरी हुने त कहिले भारी वर्षाका कारण बाढी, पहिरो आउने समस्याका कारण ठूलो मात्रामा धनजनको क्षति भइरहने एवं पछिल्ला केही वर्षयता हिमालमा हिउँ पग्लिने र मधेस तथा पहाडमा खानेपानी र सिँचाइकै समस्या हुने खालका समस्या बढ्ने गरेका छन्। 

जलवायु संकटकाल घोषणा गर्ने खास मापदण्ड नभए पनि यसको संवेदनशीलताको मनन गरी घोषणा गर्नुपर्ने सबैको राय छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .