ad ad

समाज


मनसुन ‘ब्रेक’ अवस्थामा, केही दिन वर्षा कम हुने सम्भावना

मनसुन ‘ब्रेक’ अवस्थामा, केही दिन वर्षा कम हुने सम्भावना

नेपालखबर
असार २२, २०७९ बुधबार ६:५९, काठमाडौँ

अहिले मनसुुन ‘ब्रेक’ भएको छ। जसले गर्दा अब कम्तीमा ३ दिन वर्षा घट्ने मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार मनसुन ‘एक्टिभ’ (सक्रिय) र ‘ब्रेक’ (मत्थर) हुने हुन्छ। ‘अहिले मनसुन ब्रेक अवस्थामा छ, त्यसैले कम्तीमा तीन दिन वर्षा पनि घट्ने सम्भावना छ’, उनले भने। 

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।  

मौसमविद् भट्टराईका अनुसार अहिले (बिहान साढे ६ बजे) सर्लाही, झापा, दोलखा, चितवन, नुवाकोट र काठमाडौं उपत्यकामा पनि गोदावरीतिर हल्का वर्षा भइरहेको छ। 

काठमाडौं उपत्यकामा आज वर्षा? 
मौसमविद् भट्टराईका अनुसार आज काठमाडौं उपत्यकामा दिउँसो वर्षा हुने सम्भावना देखिएको छैन।

‘हिजो जस्तै कहिले घाम लाग्ने, कहिले बादल लाग्ने हुन्छ र साँझतिर चाहिँ वर्षा हुन सक्छ।’​

मौसम पूर्वानुमान महाशाखाले गरेको शुक्रबारसम्मको मौसम अनुमान यस्तो छ :

असार २२ गते बुधबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असार २३ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

असार २४ गते शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  प्रदेश नं १, बागमती र गण्डकी प्रदेश केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  
देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .