ad ad

समाज


सक्रिय बने सुन तस्कर, कहाँ छन् नाइके एमके अग्रवाल?

सक्रिय बने सुन तस्कर, कहाँ छन् नाइके एमके अग्रवाल?

दीपक खरेल
मंसिर १८, २०७६ बुधबार ११:१९,

महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका बिष्णु खड्का पेशाले कन्टेनर चालक हुन्। उनी लामो समयदेखी नेपालको उत्तरी नाकासम्म जाने कन्टेनर चलाउदैं आएका छन्।

खड्का नक्कली सुन देखाएर लुटपाट गर्ने गिरोहका सदस्य भएको आशंकामा पक्राउ परेको बौद्ध प्रहरीको दाबी छ। उनी मंसिर ११ गते पक्राउ परेका हुन्। उनीबिरुद्ध सार्वजनिक अपराधमा म्याद लिएर अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।

वृत्तप्रमुख डीएसपी रमेशबहादुर सिंहले नेपालखबरसँगको कुराकानीमा बताए, ‘खड्का लुटपाटमा संलग्न रहेको आशंकामा पक्राउ परेका हुन्। उनका बिषयमा थप अनुसन्धान हुँदैछ।’
तर, उच्चसरकारी स्रोत भन्छ– कहलिएको सुन भरिया खत्री समुहका सदस्य हुन् खड्का। बिष्णु खत्री र सुमन खत्रीका लागि चीनबाट सुन ओसारपसारमा संलग्न खड्का सुन हराएपछि पक्राउ परेका हुन्।

‘बिष्णुकी श्रीमती चिनियाँ हुन्, उनले उताको सेटिङ गर्ने गर्छिन,’ स्रोतले भन्यो ‘असोज अन्तिममा काठमाडौं भित्रिएको ४ किलो सुन हराएपछि खड्का पक्राउ परेका हुन्।’
खड्का सुन ओसारपसारमा समेत संलग्न रहेको सूचना आफुले समेत पाएको बौद्ध वृत्तका डीएसपी सिंह बताउँछन्। सिंहका अनुसार, खड्काले प्रहरीसँगको बयानमा आफुले कोदारीबाट ल्याएको ४ किलो सुन तस्करले भनेअनुसार कलंकीमा एकजनालाई दिएको बताएका थिए।

Gold smuggling 2विशेष अनुसन्धान टाेलीले संकलन गरेकाे प्रमाणहरू।

‘सुन ओसारपसारमा समेत संलग्न रहेको थाह पाएपछि सोधपुछ गरेका थियौं,’ डीएसपी सिंहले भने ‘चार किलो सुन कलंकीमा डेलिभरी दिएको भन्छन तर कसलाई दिए र कसको सुन हो थाह भएन भनेका छन्।’

यो एउटा प्रतिनिधी घटना हो, जसले केही महिना सुषुप्त बनेको सुन तस्करीको ‘सिण्डिकेट’ पुनः सुरु भएको संकेत गर्छ। योसँगै दिन बिराएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी र १ केजी सुन बरामद र खाडी देश हिंडेका भारतीयबाट ठुलो मात्रामा विदेशी मुद्रा बरामद हुनुलाई पनि सुन तस्करीकै घटनासँग जोडेर हेरिएको छ।

सल्बलाए पुरानै तस्कर

चीनको केरुङ र कोदारी, गोरखाको उत्तरी नाकादेखि पश्चिम तथा पूर्वी नाका र विमानस्थलबाट हुने सुन तस्करी र यसमा संलग्न लगानीकर्ता तथा मुख्य भरियाहरुको सूची बनाएर सरकारी अनुसन्धान टोलीले प्रतिवेदन सरकारलाई बुझाएको १ वर्ष भन्दा बढि भएको छ।

सरकारले २०७४ चैत्र २० मा सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको विशेष अनुसन्धान टोलीले तयार गरेको प्रतिवेदनको एउटा परिच्छेद्मा विमानस्थल भएर हुने सुन तस्करी र स्थलमार्ग भएर हुने सुन तस्करीमा फरक–फरक समुह सक्रिय रहेको विवरण उल्लेख छ।

Gold smuggling 4सहसचिव ईश्वरराज पौडेलको नेतृत्वकाे टोली पत्रकार सम्मेलनमा। फाइल तस्बिर।

प्रतिवेदनमा यसमा दुई ठुला तस्कर समुह संलग्न रहेको र उनीहरुको बेलाबेला हुने आन्तरिक विवादका समयमा मात्रै सुनको सूचना प्रहरीमा पुग्ने गरेको घटनाक्रमबारे उल्लेख छ।
सरकारले संलग्नहरुको नाम सहितको सो प्रतिवेदनअनुसार कारबाही अघि नबढाउँदा अहिले सुन तस्करीको ‘सिन्डिकेट’ फेरि सल्बलाएको अनुसन्धान टोलीमा रहेका एक सदस्यले नेपालखबरलाई बताए।

ती सदस्यका अनुसार बिमल पोद्दार, बच्चु पौडेल र गोबिन्द सरिया समुह अहिले पनि सुन तस्करीमा सक्रीय रहेको अनौपचारिक सूचना आफुहरुले पाएको बताए।

‘काठमाडौंमा बसेर भारतीय लगानी व्यवस्थापन गर्नेदेखि आफै लगानी गर्ने एउटा समुह छ,’ अनुसन्धान टोलीका ती सदस्यले नेपालखबरसँग भने, ‘आफै लगानी र भरिया भएको अर्को समुह छ, दुबै समुह सक्रिय भएको आशंका हो।’ उनका अनुसार हवाई र स्थलमार्गमा सुन तस्कर समुहको हिस्सेदारी हुनुका साथै भारतीय र चिनियाँ समुह सक्रिय भएको हो।

कहाँ छन् तस्करीका नाईके एमके अग्रवाल?

सुन अनुसन्धान विशेष टोलीले सुन तस्करीका मुख्य नाईकेका रुपमा प्रतिवेदनमा ब्याख्या गरेका एमके भन्ने मोहनकुमार अग्रवाल १६ महिनाभन्दा बढि समय भईसक्दा समेत पक्राउ पर्न सकेका छैनन्।

Gold smuggling 3एम के अग्रवाल

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरेको बिशेष टोलीले करिब ३ सय जना माथी थप अनुसन्धानको सिफारिससहित गत साउनमा सरकारलाई बुझाएको प्रतिवेदनमा एमके मुख्य लगानीकर्ता, व्यवस्थापक र तस्कर भएको उल्लेख छ। तीन महिना लामो अनुसन्धानको निस्कर्षसहित सरकारलाई बुझाईएको प्रतिवेदनमा २ सय ९३ जना माथि थप अनुसन्धानका लागि सरकारलाई सुझाव दिईएको छ।

३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाईके एमके भन्ने मोहनकुमार अग्रवालको काठमाडौं कालिकास्थानस्थित घरमा सरकारी अधिकारीहरुले सोही समय छापा मारेर सुन कारोबारसम्बन्धी अती महत्वपूर्ण दस्तावेज बरामद गरेको थियो। अग्रवालले सुन र चाँदीको अवैध तस्करीको रेकर्ड सहित विभिन्न व्यक्तिका नाम समेत रहेको दस्तावेज आफुसँग राखेको पाइएको थियो।

बन्द अवस्थामा रहेको घरबाट समितीले अग्रवालले दुबई आउजाउमा प्रयोग गरेका कागजपत्र, डायरी, हरहिसाब राखेको खाता लगायतका कागजपत्र बरामद भएको थियो। यस्तै एक दर्जन बढी विभिन्न कम्पनीका सवारीसाधनका साँचो समेत बरामद भएको हो। समितीले अग्रवालको घरमा प्रयोगमा रहेका ल्यापटप र कम्प्युटर समेत बरामद गरेको थियो।

प्रहरीको संलग्नता कि असफलता

चीनको केरुङ, कोदारीसहित चलनचल्तीमा रहेका नाका हुँदै नेपाल भित्रिने सुन स्थलमार्गबाट भारतसम्म पुग्ने गर्छ। यसैगरि हवाईमार्ग भएर दुबई, कतार, हङकङ, थाईल्याण्ड र सिंगापुरबाट भित्रिने सुन समेत केही मात्रामा नेपालमै खपत हुन्छ। तर ठुलो मात्रामा भारत नै तस्करी हुने गरेको छ।

प्रहरी तथ्यांकले ६ वर्षको अवधिमा ६ क्विन्टलको हाराहारीमा सुन बरामद भएको छ। सुन ओसारपसारमा संलग्न ३ सय ८८ जना नेपाली तथा विदेशी नागरिक पक्राउ समेत परे। जसमा ४३ जना महिलासहित २ सय ६७ जना नेपाली पुरुष र ७८ जना विदेशी नागरिक पक्राउ परे।

प्रहरीको यो तथ्यांकमा सुन तस्करी अनुसन्धानका लागि गठित विशेष अनुसन्धान टोलीले पक्राउ गरेका ७३ जना संलग्न छैनन्। टोलीले पक्राउ गरेर अदालतमा उभ्याएका उनीहरु हवाईमार्ग भएर सुन तस्करीमा संलग्न गिरोहका लगानीकर्ता, व्यवस्थापक र भरिया थिए। यीमध्ये मुख्य आरोपी धरौटीमा अहिले बाहिर छन्।

सुन तस्करी सम्बन्धी जानकार एक वरिष्ठ प्रहरी अधिकारी विशेष सुराकी बिना सुन तस्करी रोक्न वा तस्कर समाउन नसकिने बताउँछन्। उनका अनुसार तस्करी भएर आउने सुन समाउन सुराकी चाहिन्छ। तर पछिल्लो केही महिनायता प्रहरीले सुनसम्बन्धी सुराकीमा त्यती ध्यान नदिएको उनको अनुभव छ।

‘सुन र अवैध मुद्रादेखि हुण्डीसम्मका मुख्य कारोबारीको सूचना प्रहरीसँग नभएको होइन,’ उनले भने ‘प्रहरीले त्यहाँ हात हाल्नुअघि सरकारको माथिल्लो नेतृत्वको ‘ग्रिन सिग्नल’ पर्खन्छ, समस्या यही नै हो।’ उनका अनुसार सरकारले अघि बढ्न प्रोत्साहन नगर्दासम्म प्रहरीको सानो–ठुलो इकाईका अधिकारीहरुले मौकाको फाईदा लिने गरेका छन्।

‘रोक्न चाहे ठुलो बिषय होइन, मुख्य तस्करको घरठेगाना प्रहरीका उच्च अधिकारीलाई थाह छ,’ ती अधिकारीले भने ‘अनुसन्धान टोलीको प्रतिवेदन सहित विभिन्न समयमा बनेका अनुसन्धान समितीमा ती नाम सुरक्षित छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .