समाज


न्यायाधीश-वकिल घुस बार्गेनिङ छानबिन गर्न तीन सदस्यीय समिति गठन

न्यायाधीश-वकिल घुस बार्गेनिङ छानबिन गर्न तीन सदस्यीय समिति गठन

नेपालखबर
असार ८, २०७९ बुधबार १६:१२, काठमाडौँ

साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न न्यायाधीश र वकिलले २ करोडको बार्गेनिङ गरेको विषय छानबिन गर्न न्यायपरिषद्ले छानबिन समिति गठन गरेको छ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले परिषद् सदस्य रामप्रसाद श्रेष्ठ**को नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिलाई यो प्रकरणमा के भएको हो, बुझेर ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

न्यायपरिषद ऐनको दफा १९ बमोजिम जाँचबुझ आयोग गठन गरिएको हो। यो आयोगमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्चकै न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन्। 

इच्छाराजलाई छुटाउने नाममा अधिवक्ता रुद्र पोखरेलले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि न्याय क्षेत्र तरंगित छ। 

उक्त अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका थिए। 

अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन उनीहरुसँग पनि कुरा गर्ने बताएका थिए।

उक्त अडिओमा अधिवक्ता पोखरेलले तामाङलाई १० करोड धरौटीमा छाड्ने आदेश गरे २ करोड रुपैयाँ घुस आउने बताएका थिए। 

उक्त आदेश उच्च अदालतबाट नउल्ट्याउने सेटिङ पनि मिलाउने उनको कुरा थियो। अडिओमा न्यायाधीश कोइरालाले यो विषय सार्वजनिक भए आफ्नो जागिर जान सक्ने आशंका गरेका थिए। तर चोलेन्द्रबाटै संकेत आए छाड्न सकिने आसय उनको थियो। 

सिभिल सहकारीका पूर्वअध्यक्ष तथा पूर्व सांसद तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई गत पुस १४ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त ठगी प्रकरणमा १२ जना पक्राउ परेका थिए। ४२ जनालाई प्रतिवादी बनाइएको थियो। 

जसअनुसार इच्छाराज र केशव थुनामा जाँदा अन्यलाई धरौटी मागिएको छ। यो प्रकरणमा सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख धरौटी मागिएको थियो। अन्यलाई पनि धरौटी माग गरेर छाडिएको छ। 

मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको थियो।

उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिएको थियो। 

उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए। ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ।

सच्याइएको** : यसै समाचारमा छानबिन समिति संयोजक रामप्रसाद श्रेष्ठ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .