ad ad

समाज


शिक्षकबाटै यौन दुर्व्यवहार : चाबहिलदेखि गौशालासम्म दिनभर तनाव

गुपचुप पार्ने कलेजको प्रयास, दुई शिक्षकलाई थुनामा राख्न अदालतको अनुमति
शिक्षकबाटै यौन दुर्व्यवहार : चाबहिलदेखि गौशालासम्म दिनभर तनाव

उजिर कार्की
जेठ १०, २०७९ मंगलबार २२:१, काठमाडौँ

चाबहिलको सेन्ट लरेन्स कलेजमा मंगलबार बिहान ६ बजे केही शंकायको पढाइ सुरु भइसकेको थियो। एक छात्रा रुँदै सबै कक्षामा डुल्न थालिन्। उनले आफूलाई सहयोग गर्न अपील गरिन्।

‘उनले हाम्रो कक्षामा पनि आएर मलाई जनार्दन सरले दुव्यर्वहार गर्नुभयो भनिन्, पटक–पटक प्रशासनमा पनि सुनाइसकेँ, उहाँहरुले पनि केही सहयोग गर्नुभएन। मलाई सहयोग गर्नुस् प्लिज भनेर उनले आग्रह गर्न थालिन्। त्यसपछि हामी पनि कक्षा छाडेर बाहिर निस्कियौं’, एक विद्यार्थीले नेपालखबरसँग भने।

अरु कक्षाका पनि विद्यार्थी बाहिर निस्किए। दुव्यर्वहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै कलेजको प्राङ्गणमा नाराबाजी सुरु भयो।

बिहानी कक्षा सबै बन्द भए। शिक्षकहरु जम्मा भए। दिउँसोका कक्षा बन्द गरिएको जानकारी गराइयो। आउन लागेका विद्यार्थीलाई पनि रोकियो।

तर, कलेज अगाडि लागिरहेको नारा भने प्रशासनले सुन्दै सुनेन।

त्यसपछि विद्यार्थीहरु कलेजको गेटमा निस्किए। कलेजतिर ढुंगा बर्साउन थाले। उनीहरुलाई सुरक्षा गार्ड लगाएर रोक्न खोजियो। उनीहरुको माग सम्बोधनको कुरै भएन।

विद्यार्थीको हुल नारा लगाउँदै चाबहिलको पिपलबोट अगाडिको मुख्य सडकमा निस्कियो। त्यसपछि भने प्रहरीको भ्यान साइरन बजाउँदै पुग्यो।

प्रहरी गाडीबाट झरेर के भएको हो ? भनेर सोधे।

विद्यार्थीले शिक्षकबाट भएको यौन दुर्व्यवहारको कुरा सुनाए। त्यसको आधा घण्टा जति प्रहरी अल्मलियो। पछि प्रहरीको टोली कलेजमा प्रवेश गर्यो।

छात्रासँग सम्बन्धित घटना भएकाले महिला प्रहरी निरीक्षक पनि कलेजमा पुगिन्। उनले तीनजना पीडित छात्रासँग कुरा गरिन्। छात्राले कानुनी उपचारमा जान चाहेको बताए।

पछि गौशाला वृत्तका डीएसपी पनि कलेजमा पुगे। विद्यालय प्रशासनसँग कुरा गरे। प्रशासनले छलफल गर्छौं, मिलाउँछौं भने पनि पीडित छात्राले कानुनी प्रक्रियामा जाने बताइसकेकाले अब यसबारे प्रहरी कार्यालय गौशालामै छलफल हुने भयो।

प्रहरीले विद्यालयका चियरमेन केशव ढुंगाना, प्रिन्सिपल पुरुषोतम महर्जनसहित दुव्यर्वहार संलग्न भनिएका जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पनि गौशाला वृत्तमा लग्यो।

कलेजका डेढसय जति विद्यार्थी पनि सँगै गौशाला गए। अविभावकसहित पीडितहरु पनि प्रहरी वृत्तमा पुगे।​

सुरुमा तीनजना पीडित खुले पनि पछि अरु छात्राहरु पनि थपिँदै गए।

गौशाला बृत्त मंगलबार दिनभरि तनावग्रस्त रह्यो। प्रहरी कार्यालयभित्र पीडितले जाहेरी तयार गरिरहँदा बाहिर न्याय माग्दै विद्यार्थीले ‘वी वान्ट जस्टिस’को नारा लगाइरहे।

यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक प्रहरी कार्यालय परिसरमा देखिँदा विद्यार्थीले ढुंगा र खाली बोतल बर्साए।

दिनभरिको तनावपछि अपराह्न प्रहरीले जाहेरी लियो र दुई शिक्षकलाई म्याद थपका लागि जिल्ला अदालतमा पुर्यायो।

अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीहरुविरुद्ध बाल यौन दुव्र्यवहारको कसुरमा अनुसन्धान अगाडि बढेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले नेपालखबरलाई बताए।​​

प्रशासनले लुकायो, पीडितलाई रेस्टिकेटको डर

दुई महिना पहिले नै शिक्षक जनार्दन अधिकारीले छात्रामाथि दुव्यर्वहार गरेको गाइँगुइँ हल्ला विद्यार्थीमाझ चलेको थियो। कक्षा कोठा हुँदै यो हल्ला कलेज प्रशासनसम्म पुग्यो।

तर, प्रशासनले यसको समाधान खोज्न भन्दा पनि दबाउन खोज्यो। ‘हल्ला नगर्नु है, कलेजको बदनाम हुन्छ’, शिक्षकको ज्यादती सुनाउन गएकी छात्रालाई प्रशासनले भन्यो।

तथापि गुपचुपमै यो विषय फैलिँदै गयो। अरु पनि पीडित खुल्दै गए।

पछि अर्का शिक्षक राजनकुमार पौडेल पनि छात्रामाथि यौन दुर्व्यवहारको घटनामा जोडिए।  एकपछि अर्को गर्दै पीडित छात्राहरुले गुरुका कर्तुत खोल्न थाले। तर, मंगलबारसम्म पनि कलेजकै प्रायः विद्यार्थीलाई भने यसबारे थाहा थिएन।

कक्षा ११ की एक छात्रालाई दुई हप्ता पहिले विद्यालय समयमै शिक्षक जनार्दन अधिकारीले चाबहिलको ए वान क्याफेमा लगेका रहेछन्। ‘क्याफेमा लगिसकेपछि उहाँले सुरुमा अश्लील कुरा गर्न थाल्नुभयो। पछि मलाई छुन थालेपछि त्यहाँबाट भागेर विद्यालय फर्किएँ। विद्यालयमा आइसकेपछि मैले यो कुरा प्रशासनमा सुनाएँ। तर, उहाँहरुले तँ त्यस्तो नभएको भए  क्याफेसम्म किन गाको त भनेर उल्टै मेरै गल्ती दोखाउनुभयो’, पीडित छात्राले सुनाइन्।

छात्राले प्रशासनसम्म कुरा पुर्याएको जनार्दनले थाहा पाएपछि फेरि झपारे। ‘मेरो कुरा तिमीले सरलाई सुनाइछौ, तिमीलाई थाहै होला, मेरो एउटा सिग्नेचरले भविष्य बर्बाद गरिदिन सक्छ’, रेस्टिकेट गर्ने कागजात देखाउँदै जनार्दनले भने।

अर्को संकायकी छात्रालाई पनि अधिकारीले प्रलोभनमा पारेर यौन सम्पर्कको प्रस्ताव राखेको विद्यार्थीहरुको आरोप छ। यसैगरी पीडितहरु एक आपसमा जोडिँदै गए। 

‘तिम्रो घर टाढा छ, घरबाट आउजाउ गर्नु पर्दैन । म यतै कोठाको व्यवस्था गरिदिन्छु। विद्यालयको शुल्क पनि घटाइदिन्छु। तर, त्यसबापत तिमिले मेरो यौन चाहना पूरा गर्नुपर्छ। म मेरो परिवारबाट सन्तुष्ट छैन’, शिक्षकले भनेको कुरा उनले अर्की पीडितलाई म्यासेज मार्फत सुनाइन्।

ती शिक्षकले कार्यालयमै बोलाएर यस्ता प्रस्ताव गर्ने गरेको छात्राहरुको गुनासो छ। सीआर मिटिङ भनेर उनले सबैलाई बोलाउँथे।

छात्रतर्फका कक्षा क्याप्टेनले भने, ‘तर सरले हामीसँग धेरै कुरा गर्नुहुन्नथ्यो। छोटो कुराकानी गरेर जाउ राम्रो पढ्नुपर्छ भनेर पठाइ हाल्नुहुन्थ्यो। छात्राहरुलाई भने बस तिमीसँग काम छ भनेर रोक्नुहुन्थ्यो।’

उनी थप्छन्, ‘अहिले बुझ्दा थाहा भो उहाँको कुरा यस्तो रहेछ। कक्षामा पनि केटाहरुलाई र केटीहरुलाई गर्ने व्यवहार नै फरक थियो। हामी केटाहरुले प्रश्न सोध्यो भन्ने थर्काउँदै उत्तर दिनुहुन्थ्यो, केटीहरुले प्रश्न सोधेभने नजिकै पुगेर छुँदै जवाफ दिनुहुन्थ्यो। उहाँको शैली नै फरक थियो।’

आफूलाई जस्तै अरु केटीसाथीहरुलाई पनि ती शिक्षकले  यस्तै व्यवहार गर्लान् भन्ने उनीहरुलाई शंका थियो। तर, कुरा गर्ने मेसो मिलेको थिएन।

जब एउटी छात्राले प्रशासनमा यो विषयमा कुरा सुनाउन आफ्ना साथीहरुलाई भनिन्। त्यसपछि विद्यालयमा अरुले पनि थाहा पाए। उनीहरुले सुरुमा त ती शिक्षकलाई विद्यालयबाट निकाल्न माग गरेका थिए। प्रशासन त्यसका लागि तयार भएन।

दुर्व्यवहारमा पर्ने अरु पनि खुल्न थाले।

जब यो विषय उनीहरुले परिवारमा पनि सुनाए। त्यसपछि भने विद्यालयले दबाउन सकेन।

सोमबार एकछात्राका परिवार नै आएर प्रशासनसँग कुरा गरे। प्रशासनले अब ती शिक्षकलाई कलेजबाट निकाल्ने तर कुरा बाहिर गए कलेजको बदनाम हुने भनेको थियो।

अविभावकहरुले दुर्व्यवहारमा संलग्न शिक्षकलाई त्यहीँ बोलाउन माग गरे। प्रशासनले उनी घर फर्किसकेको जवाफ दियो। त्यसपछि यो विषयमा थप कुरा हुन पाएन। विद्यालयले भने यो विषय बाहिर नल्याउन र छात्राहरुको शुल्क मिनाहा गरिदिने आश्वासन देखाएको थियो। प्रलोभनमा नपर्ने बताउँदै अभिभावकहरु सोमबार विद्यालयबाट फर्किएका थिए।

मंगलबार प्रहरी वृत्तभित्रै चियरमेन केशव दंगालले यो कुरा भने अरुलाई नसुनाउन आग्रह गरेको एक पीडितले सुनाइन्। ‘मैले शुल्क मिनाहा गरिदिन्छु। यो विषयमा हल्ला नगरौं भनेको कुरा नभन्नु है भन्नुभयो दंगाल सरले’, ती पीडित छात्राले भनिन्।

केहीबेर प्रहरी कार्यालयभित्रै तनावपूर्ण अवस्था भयो। पीडितका अभिभावकले अधिकारीलाई दुई थप्पड लगाए। पछि प्रहरीले रोक्यो।

यी शिक्षकबाट यौन दुर्व्यवहारमा पर्नेहरु भने भटाभट खुल्न थालेका छन्। १२ कक्षा पास गरेर गइसकेकाहरुले पनि यस्तो दुर्व्यवहारमा परेको तर रेस्टिकेटको डरले नभनेको बताएको एक पीडित छात्राले सुनाइन्।

पक्राउ परेका शिक्षकविरुद्ध जाहेरी दिनेको संख्या थपिन सक्ने प्रहरीले जनाएको छ।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .