ad ad

समाज


हस्ताक्षर चोरेर बैंकबाट यसरी निकालियो लाखौँ रुपैयाँ, १८ बैंक शंकाको घेरामा

हस्ताक्षर चोरेर बैंकबाट यसरी निकालियो लाखौँ रुपैयाँ, १८ बैंक शंकाको घेरामा

दीपक खरेल
मंसिर ११, २०७६ बुधबार ६:२८,

महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हाल कालीमाटी बस्दै आएका काभ्रेपलाञ्चोक पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका हाल बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोकका हाल सुविधानगर बस्ने गोविन्द घिमिरे रहेका छन्।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जनता, एनाआईसी र मुक्ति विकास बैंकका कर्मचारी समेत अनुसन्धानको दायरामा रहेको बताएका छन्। 

अभियुक्तहरुले बैंकमा खाता रहेका व्यक्तिको चेकमा रहेको हस्ताक्षर चोरी, सोही व्यक्तिको नाममा चेक हराएको निवेदन समेत दिएर नयाँ चेक बुक लिने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता  बोगटीले बताए। बोगटीका अनुसार त्यसरी अरुको हस्ताक्षर मिलाएर उनीहरुले लाखौँ निकालेका हुन्।

‘हामीले ठूलो परिमाणमा कगजपत्र बरामद गरेका छौं। यो ठूलो गिरोह हो, थप अनुसन्धान भइरहेको,’ महानगरी प्रहरी परिसर टेकुमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै उनले भने, ‘१८ वटा बैंक शंकाको घेरामा छन्। बैंकको मिलमतो नभई यो घटना सम्भव छैन।’

धेरै व्यक्तिको नाममा रहेका खाताको सयौँ थान सक्कली चेक बनाउन सफल देखिएकाले ती खाताबाट भिसा कार्ड बनाई प्रयोगमा समेत देखिएको उनले जानकारी दिए। यसमा सम्बन्धित बैंकका कर्मचारीहरुको मिलेमतो समेत देखिएको उनले बताए। यसबारे गहन अनुसन्धान गरिछाड्ने बोगटीले बताए।

मंसिर ८ को राति जनता बैंकको खातावाल गोपालमान राजवाहकले आफ्नो खाताबाट पटक पटक गरी १९ लाख ९ हजार रुपैयाँ निकालेको मोबाइल मेसेज आएको तर आफैँ कुनै पनि चेक कसैलाई नदिएको भन्ने पीडितको सूचना परिसर काठमाडौंमा दिए। त्यसपछि प्रहरीको विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरी पीडितको खाता तत्काल चेक गर्दा नक्कली चेकबाट पैसा निकाल्न सफल भएको देखिएको प्रहरीले जनाएको छ।

खोजतलासका क्रममा मंसिर ९ गते पीडितको खाताबाट पैसा निकाल्न पुनः चेक बोकी एक जना व्यक्ति जनता बैंक न्युरोड शाखामा आएको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यसपछि अन्य व्यक्ति पनि सोही दिन पक्राउ परेका थिए। उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, २ सय ९० वटा नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिष्ट्रर २६ थान, दुईवटा हस्ताक्षर नमूना भएको डायरी, अन्य व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको तीन सय थान फारम, १ सय ९५ जनाको बैंक स्टेटमेन्ट बरामद भएको छ।

त्यस्तै, जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको १६ वटा चेकबुक, काटिएको अवस्थाको ४१ वटा चेकबुक, ज्योति विकास बैंकबाट अन्जन बरालको नाममा जारी भएको एउटा चेकबुक, एभरेस्ट बैंकबाट विभिन्न व्यक्तिको नकाटिएको २० थान चेकबुक, काटिएको ३ थान चेकबुक समेत बरामद भएको छ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखी बैंकिङ कसुर सम्बन्धी सात दिने म्याद पाटन उच्च अदालतबाट लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .