मधेश प्रदेशको महाकुम्भ धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ।
फागुने औँशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ।
आजको दिन धनुषाको मिथिला विहारनी नगरपालिका ८ कचुरी स्थित मिथिला विहारी मन्दिरबाट झाकी किर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याउने गरिन्छ। र, यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ।
वृहत्त, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गरिन्छ। तर, विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनीय रहेको छ।
डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा लाखौँ नरनारीहरु सहभागिता हुने गर्छन्। लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ।
१५ दिने परिक्रममा अन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औँ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ।
नेपाल–भारत बिचको सदियौँ देखि रहिआएको मधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन परिक्रमाले सेतुको भूमिका खेलेको छ।
Shares
प्रतिक्रिया