ad ad

समाज


जनगणना २०७८ : यस्ता छन् गणकहरुले भोगेका केही सास्ती

जनगणना २०७८ : यस्ता छन् गणकहरुले भोगेका केही सास्ती

नेपालखबर
मंसिर ११, २०७८ शनिबार ७:४, काठमाडौँ


राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सकिएको छ। गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को काम सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने काम सुरु भएको तथ्याङ्क विभागले जनाएको छ। 

जनगणनाको क्रममा गणकहरुले विभिन्न अप्ठ्यारा र सास्तीहरु भोगेका छन्। ती विषयलाई पनि विभागले सार्वजनिक गरेको छ। गणकहरुले भोगेका त्यस्ता केही उल्लेखनीय विषयलाई विभागले बुँदागतरूपमा सार्वजनिक गरेको छ।

तेह्र बुँदामा समावेश भएको उक्त निष्कर्ष अनुसार गणक दोलखाको विगु गाउँपालिका–१ स्थित चाइनाको बोर्डरमा रहेको लप्ची गाउँमा पुग्न तीन दिन लागेको थियोे। उनीहरु जङ्गलमा दुई रात बास बस्नुपरेको तथा पहाडको ढुङ्गा खोपेर बनाएको बाटोमा डोरी समातेर हिड्नु परेको विभागले जनाएको छ। 

बाग्लुङको ढोरपाटन नगरपालिका–९ मा कायत जातिको बसोबास छ। २०६८ सालको जनगणनामा उक्त जाति अलगरुपमा उल्लेख भएको थिएन। हालको गणनामा पनि उक्त जाति नआउने भन्ने विषयले केही समय जनगणना प्रभावित भएको थियो। जिल्ला जनगणना कार्यालयले सम्बन्धित समुदायसँग छलफल गरी समस्या समाधान गरी जनगणना गरेको विभागले जनाएको छ। उनीहरुलाई कायत जाति कायम गर्न विभागमा जानकारी गराउने मौखिक सहमति भएपछि उनीहरु जनगणना गर्न राजी भएका थिए।

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुङ र टिङ्कर वस्ती पुग्न नेपालतर्फ बाटो छैन। भारतको बाटो भएर एक दिनमा पुग्न सकिने भएकाले भारत सरकारका स्थानीय प्रतिनिधिमार्फत उक्त क्षेत्रमा जान सहमति माग गर्दा पनि सहमति प्राप्त नभएकाले जनगणनामा समस्या भएको थियो। विभागले सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीसहित तीन गणक उक्त स्थानमा जान नसकेपछि अन्य दुई गणकले तीन दिन लगाएर उक्त क्षेत्रमा पुगि जनगणना सम्पन्न गरेको विभागले जनाएको छ। 

गणनाको काम सकेपछि उनीहरूलाई सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो 

गणकले गलत विवरण टिपेको र विभिन्न अभियन्ताले सामाजिक सञ्जाल तथा प्रत्यक्षरुपमा गलत प्रचार प्रसार र गणकलाई विवरण टिपाउन दवाव दिएको सम्बन्धमा विभागको गम्भीर ध्यानाकर्षण भएको र गणकले उत्तरदाताले भनेको विवरण टिप्न र अभियान्ताले गलत प्रकारले दवाव नदिन विभागले प्रेस विज्ञप्तिमार्फत अनुरोध गरेको थियो।

यसै सन्दर्भमा आदिवासी जनजाती आयोगमा तथ्याङ्क सङ्कलनका क्रममा उठेका विवादका सम्बन्धसमेतमा छलफल भइ आयोगले सत्य तथ्य विवरण टिप्न टिपाउन अनुरोध गरिएको विभागले जनाएको छ। 

विभागले जनगणना गर्ने क्रममा कैलालीमा एक सुपरिवेक्षक, धादिङ र रसुवामा क्रमशः एक÷एक गणकको मृत्यु भएको, चार जना गणकलाई कुकुरले टोकेको र दुई जनाको खुट्टा भाँचिएको जानकारी गराएको छ। 

केही गणकलाई कोभिड–१९ सङ्क्रमणसमेत भएको थियो । विभागले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेको छ । घाइतेको स्वास्थ्य लाभको कामना पनि गरिएको छ । उनीहरूका सन्दर्भमा सरकारकोतर्फबाट बीमा गरिएको र क्षतिपूर्तीको व्यवस्था बमोजिम सहजीकरणको कार्य भइरहेको विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जानकारी दिए। 

विभागले घर तथा घरपरिवार सूचीकरण कार्यमा ६८ लाख परिवारको गणना भएको जानकारी दिएको छ । जुन विसं २०६८ सालको जनगणनाअनुसार प्रक्षेपण गरिएको करिव नजिक रहेको जनाइएको छ । जसअनुसार केही तलमाथि भए पनि नेपालको जनसङ्ख्या करिब तीन करोड नजिक पुग्ने अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .