ad ad

समाज


पदक अस्वीकार गर्ने पत्रकारको संख्या ४ पुग्यो

पदक अस्वीकार गर्ने पत्रकारको संख्या ४ पुग्यो

फाइल तस्बिर : पत्रकारहरू बायाँबाट क्रमशः कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र रविन सायमि।


नेपालखबर
असोज ३, २०७८ आइतबार १६:१४, काठमाडौँ

संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको पदक अस्वीकार गर्ने पत्रकारको संख्या चार पुगेको छ। 

अहिलेसम्म नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा, इकागजडटकमका प्रधान सम्पादक हरिबहादुर थापा, नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृत र पत्रकार एवं चर्चित कार्टुनिस्ट रविन सायमिले पदक अस्वीकार गरेका हुन्।  

चारै जनाले सामाजिक सञ्जालमार्फत पदक स्वीकार नभएको जानकारी दिएका हुन्। 

कसले के भने? 
नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा  :  ढिलो उठ्ने मान्छे, ढिलै थाहा पाएँ। नेपाल सरकारले मलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद। तर, पदकहरूको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैं पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ। नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ।

इकागजडटकमका प्रधान सम्पादक हरिबहादुर थापा : जनप्रतिनिधिले लेखेको हाम्रो संविधान सातौँ वर्षमा प्रवेश गरेको अवसरमा संविधानवाद अझ सुदृढ हुँदै जाओस्, लोकतान्त्रिक शैली व्यवहारमा देखिँदै जाओस्। सबैलाई मेरो हार्दिक शुभकामना। 

आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद। 

विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु। यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ। सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु।

मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु। राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुनेगरी मात्र सम्मान गर्नुपर्छ। कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ।

नेपाल समय डटकमा प्रधान सम्पादक नारायण अमृत : आज संविधान दिवस। लोकतन्त्रिक संविधानप्रति मेरो अगाध स्नेह र सम्मान छ। जनआन्दोलनमा सहभागी भएको एउटा पेसाकर्मीका हिसाबले त झन् यसको जगेर्नाप्रति सदा दायित्वबोध रहन्छ। तर संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति म सधैं अहसमत हुँदै आइरहेको छु। 

यसपटकको लाममा मेरो पनि नाम देखेँ। बिनाखबर, बिनाप्रक्रिया र बिनामापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबन्डाको स्पष्ट दपर्ण देखिन्छ। कसैलाई लागेर ‘फलानाको नाम पनि यो शीर्षकमा राख्दिम् न’ भनेर हचुवाका भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यन समेत गर्छ भन्ने मर्म कहिले बुझिएला? 

त्यसैले, त्यो लामबाट मेरो नाम झिकियोस्। यसरी दिने पुरस्कारका लागि म योग्य छैन भन्दै म यो भागबन्डा अस्वीकार गर्छु। दुई दशकभन्दा अघिदेखि पत्रकारिताको मूलधारमा सक्रिय छु, विवेकलाई साक्षी राखेर पेसागत मर्ममा अझै सक्रिय रहिरहेनछु। 

पत्रकार एवं कार्टुनिस्ट रविन सायमि : सरकारले मलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु।

यो पनि : ​कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म ९०३ जनालाई राष्ट्रपतिले दिइन् विभूषण (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .