ad ad

समाज


कस्तो हो नेपालमा परीक्षण हुन लागेको चिनियाँ खोप?

कस्तो हो नेपालमा परीक्षण हुन लागेको चिनियाँ खोप?

यज्ञराज जोशी
भदौ १३, २०७८ आइतबार १७:५०, काठमाडौँ

नेपालमा पहिलो पटक कोरोना खोपको परीक्षण हुने भएको छ। कोरोनाविरुद्धको खोप लगाउन थालिएको एक वर्षपछि नेपालमा बल्ल खोप परीक्षण सुरु हुन लागेको हो। 

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी वालभ्याक्सले विकास गरेको सार्क कोभ–टु एमआरएनए खोपलाई नेपालमा परीक्षण अनुमति दिएको थियो।

नेपाल स्वास्थ अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार परिषद्ले एथिकल स्वीकृति गरेपछि मन्त्रिपरिषद्ले परीक्षण अनुमति दिएको हो। 

‘नेपालमा खोप ट्रायलल गर्ने निर्णय भएको डेढ वर्षपछि यहाँ खोप ट्रायल हुने भएको छ। यो हामी सबैका लागि गर्वको कुरो हो,’ ज्ञवालीले भने, ‘तेस्रो चरणमा मल्टिनेसनल ट्रायल गर्नुपर्छ। अरु देशमा गर्ने क्रममा कम्पनीले नेपाललाई पनि छनोट गरेको हो।’

ज्ञवालीका अनुसार वालभ्याक्सको खोप अमेरिकाको मोर्डना, फाइजर कम्पनीका जस्तै एमआरएनए प्रविधिअन्तर्गतको खोप हो। उनले एमआरएनए खोप लगाएपछि त्यसले प्रोटिन उत्पादन गर्ने र त्यसले रोगप्रतिरोधकको काम गर्ने बताए।

चिनियाँ कम्पनीले नेपालमा देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा धरानमा ३ हजार जनामा उक्त खोप परीक्षण गर्न लागेको हो। तीनदेखि ६ महिनासम्म परीक्षण हुने ज्ञवालीले बताए।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वयमसेवीहरुको सहभागितामा खोपको परीक्षण हुनेछ। 

खोप कति सुरक्षित छ? यसको प्रभावकारिता कति छ? कति समय काम गर्छ? कुन उमेर समूहमा बढी प्रभावकारी हुन्छ? खोप लगाएपछि शरीरले कस्तो एन्टिबडी उत्पादन गर्छ? परीक्षणमा यी प्रश्नहरुको जवाफ खोजिनेछ।

स्वयमसेवकहरुको सुरक्षाको सम्पूर्ण ग्यारेन्टी कम्पनीले लिने उनले बताए।

‘एथिकल प्रस्ताव पास गर्दा नै हामीले स्वयमसेवकको सुरक्षा सुनिश्चित गरेका हुन्छौं,’ उनले भने, ‘केही भैपरी समस्या आए कुन अस्पताल लैजाने, के गर्ने, कसरी केयर गर्नेदेखि लिएर बिमाका कुराहरु सबै प्रस्तावमा हुन्छन्। त्यसलै सहभागी हुन चाहनेले डराउनुपर्ने आवश्यक छैन।’ 

नेपालमा हालसम्म भारतको कोभिसिल्ड, चीनको भेरोसेल र अमेरिकाको जोनसन एन्ड जोनसोन खोप प्रयोगमा आएको छ। सबै खोपहरुको नेपालबाहिर नै परीक्षण भएका हुन्। 

नेपालमै परीक्षण गर्दा नेपालीको वंशाणुगत अवस्था अनुसार पनि यो भ्याक्सिन कति प्रभावकारी छ भन्ने पत्ता लाग्ने भएकाले सहभागिताका लागि उनले अनुरोध गरे। अन्य देशमा परीक्षण भएका खोपहरु त्यहाँको खानपिन, भौगोलिक अवस्थाले पनि ठ्याक्कै नेपाल सुहाउँदो नहुनसक्ने तर यहाँ नै ट्रायल भएको अवस्थामा धेरै कुरा थाहा हुने उनले बताए।

त्यसबाहेक नेपालमै परीक्षण हुँदा कम्पनीले नेपाललाई सहुलियत मूल्यमा पहिलो प्राथमिकता दिई खोप उपलब्ध गराउने सहमति पनि भएको उनले बताए। त्यसबाहेक कम्पनीले कम्तीमा केही लाख डोज खोप निशुल्क उपलब्ध गराउने र प्रविधि पनि दिने प्रतिबद्धता गरेको उनको भनाइ छ।

यो खोप नेपालमा अहिले प्रयोग हुने रेफ्रिजेरेटरमा राखेर प्रयोग गर्न सकिने भएकाले नेपालको पूर्वाधार सुहाउँदो भएको ज्ञवालीले बताए। 

‘यो खोप भण्डारण, ओसारपसार गर्न सजिलो छ। अहिले भएकै पूर्वाधारमै यसको प्रयोग गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘खोप ट्रायल भएपछि सहुलियत दिने र किन्न खोजेका बेला सस्तोमा दिने भएकाले पनि हामीले खोप ट्रायललाई प्रथामिकतामा राख्नुपर्छ।’

परीक्षण सफल भएपछि कम्पनीले नेपालमै खोप उत्पादन गर्ने प्रतिबद्धता समेत जनाएको छ। सोही कारण नेपालमा भविष्यमा खोप उत्पादन गर्न समेत बाटो खुलेको ज्ञवाली बताउँछन्। 

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गत साउन अन्तिम साता न्यूनतम साझा कार्यक्रममा नेपालमा ‘खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने’ बताएको छ। 

नेपाल औषधि व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहाल परीक्षणसँगै नेपालमा सरकारले घोषणा गरेबमोजिम खोप उत्पादन गर्ने बाटो खुल्ने बताउँछन्।  

‘ट्रायलका लागि अनुमति दिने कुरो राम्रो हो। यसले नेपालमा पनि खोप उत्पादन सम्भव हुने देखाउँछ,’ उनले भने, ‘यही खोप बनेपछि हामीलाई खोपका लागि अरुको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुन्छ।’

उनले दक्षिण एसियाकै भारतसँगै पाकिस्तानले ‘पाकभ्याक’, बंगलादेशले ‘बंगभ्याक’ भनेर खोप उत्पादन गरिरहेको अवस्थामा नेपालमा पनि खोप उत्पादनका लागि धेरै अघि नै पहल हुनुपर्नेमा जोड दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .