ad ad

समाज


'अत्यधिक वर्षा र हिमनदी विस्फोटका कारण मेलम्चीमा बाढी'

'अत्यधिक वर्षा र हिमनदी विस्फोटका कारण मेलम्चीमा बाढी'

मणि दाहाल
साउन २०, २०७८ बुधबार ८:५, काठमाडौँ

मेलम्ची नदीमा असार १ र २ गते आएको ठूलो बाढीको प्रारम्भ विन्दु पेमदाङ खोलाको उद्गमस्थल भएको एक अध्ययनले देखाएको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा मनसुनअघि र पछि त्यस क्षेत्रमा भएको वर्षा र हिउँ पग्लिएका कारण भूस्खलन सुरु भएको जनाइएको छ।

प्रतिवेदनमा उच्च पहाडी क्षेत्रमा औसतभन्दा बढी वर्षा, यास र ताउते चक्रवातमा परेको हिउँ पग्लिएका कारण सानो हिमनदीको विष्फोट, भेमाथाङको पुरानो पहिरो र त्यसले मेलम्ची नदीको प्रवाह रोक्नु, मेलम्ची गाउँनजिकै गएको नयाँ पहिरो, नदी किनाराको भूस्खलनलाई पछिल्लो विपत्तिको कारण मानिएको छ। 

यास बंगलाको खाडी र ताउते अरब सागरमा उत्पत्ति भएका चक्रवात हुन्। जसले नेपालभर तराई र पहाडमा वर्षा र हिमाली क्षेत्रमा हिमपात गराएको थियो। 

मनसुनी तथा हिँउ पग्लिँदा बढेको पानीको बहावले गेग्रान समेत बगाएर ल्याउँदा समुद्र सतहभन्दा ४ हजार ७ सय ७० मिटरमाथि रहेको पेमदाङ नदीको उद्गम स्थलमा हिमनदी पनि फुटेको अध्ययनले देखाएको छ। हिमनदीको क्षेत्रफल २ हजार ७ सय ६१ वर्गमिटर थियो। 

मे २१ मा लिइएको तस्वीरमा सो हिमतालमा पानी र हिँउ देखिएको थियो। तर, बाढी आएपछि जुन २३ मा खिचिएको स्याटलाइट तस्बिरमा पानी र हिउँ पुरै हराएको इसिमोडले जनाएको छ। 

त्यसैगरी भेमाथाङमा पुरानो पहिरोले राखेको गेग्रानले त्यो पानीको बहावलाई केही समय थुनेर राखेको थियो। पुरानो पहिरोको कारण बाँध बनेको सो क्षेत्र हिमनदीभन्दा ५ दशमलव ८ किलोमिटर दक्षिणतर्फ पर्छ। जुन स्थान पेमदाङ खोला र मेलम्ची खोलाको दोभानभन्दा १ दशमलव ८ किलोमिटर पर छ। 

त्यो पहिरोको बाँध ९ सय ५० मिटर लामो र ९ मिटर चौडा थियो। भेमाथाङको पहिरोमा १ किलोमिटरसम्म पानी जमेको थियो। 

‘यो गेग्रानको बाँध थियो। जमेको पानीले त्यो बगाउनुका साथै पहिरोले पनि कटान ग¥यो,’ अध्ययनमा संलग्न अरुणभक्त श्रेष्ठले भने, ‘त्यसपछिको स्थानमा पहिरोले कटान अझ तीव्र बनाउँदै लगेको थियो।’  

सो स्थानबाट एकपछि अर्को गर्दै प्राकृतिक प्रकोपको डरलाग्दो शृंखला सुरु भएको देखिन्छ। मेलम्ची नदीको तल्लो तटीय क्षेत्रमा आइपुग्दा त्यो बाढी र पहिलो विपत्तिको ठूलो कारण बन्न पुगेको छ।  

‘यी विपत्तिले फरकफरक र त्यसको संयुक्त रुपले तल्लो तटीय क्षेत्रमा प्रकोपलाई विनाशकारी बनाउँदै लग्यो,’ प्रतिवेदनमा भनिएको छ। 

खोँच क्षेत्रमा तीव्र गतिमा गेग्रानसहित आएको बाढीले मेलम्ची गाउँको पूर्वमा पहिरो गएको छ। जसको क्षेत्रफल शून्य दशमलव १८ वर्ग किलोमिटर रहेको प्रतिवेदनमा उल्लेख छ। सो पहिरो मध्य भागमा ४ सय ४० मिटर र खोलाको पिँधमा ५ सय मिटर चौडा रहेको बताइएको छ। सो स्थानबाट ६ लाख ७० हजार घनमिटर माटोसहितका वस्तुहरु कटान गरेको प्रतिवेदनमा उल्लेख छ। 

यो वर्ष मनसुन सुरु हुनुअघि देखि नै उच्च पहाडी क्षेत्रमा औसतभन्दा बढी वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागको सेनथान र इसिमोडको यांग्री खोलाको माथिल्लो तटमा रहेको मौसम मापन केन्द्रका मापनहरुले त्यो देखाएको प्रतिवेदनमा उल्लेख छ। 

‘जल तथा मौसम विज्ञान विभागको प्रतिवेदनअनुसार प्रि–मनसुनको समय मार्चदेखि मेसम्ममा यो वर्ष औषतभन्दा १ सय २९ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा भनिएको छ। 

जेठ २८ गते सेनथानमा रहेको मौसम मापन केन्द्रले ५–६ दिनको अन्तरमै २ सय मिलिमिटर वर्षा भएको देखाएको छ। 

त्यसैगरी जेठ पहिलो र दोस्रो साता आएको ताउते र यास नामको चक्रवातको कारण मेलम्ची जलाधार क्षेत्रमा ठूलो मात्रामा परेको हिउँ मनसुन शुरु भएपछि धेरै मात्रामा घटेको राडार इमेजहरुको अध्ययनले देखिएको इसिमोडले जनाएको छ।

‘तीव्र गतिमा हिउँ पग्लिँदा र पानीे जम्मा हुँदा पेमदाङ खोला, यांग्री खोला र लार्चे खोलाको मुहानमा हिउँनदीले जम्मा गरेको गेग्रान बग्न सुरु गरेको थियो,’ प्रतिवेदनमा भनिएको छ। 

पेमदाङ खोलाको शिरमा मात्रै करिब ७० हजार वर्ग मिटर भूस्खलन भएको अनुमान गरिएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसलाई पछिल्लो डेढ शताब्दीमा आएको सबैभन्दा ठूलो लेदोसहितको बाढी भनेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .