ad ad

समाज


आवास अनुदान नपाएकालाई तीन लाख दिइने

आवास अनुदान नपाएकालाई तीन लाख दिइने

नेपालखबर
असार २७, २०७८ आइतबार १६:१४, काभ्रेपलाञ्चोक

भूकम्पबाट घर क्षतिग्रस्त भई सरकारी अनुदानबाट छुटेकालाई भुम्लु गाउँपालिकाले रु तीन लाख आवास अनुदान दिने भएको छ। भूकम्पको ६ वर्षपछि आवास अनुदानबाट छुटेकालाई गाउँपालिकाले अनुदानस्वरुप आगामी आर्थिक वर्षमा उक्त रकम दिन लागेको हो।

गाउँपालिकाको हालै सम्पन्न नवौँ अधिवेशनले पुनःनिर्माण प्राधिकरणको लाभग्राहीमा सूचीकृत नभएकालाई आवास अनुदान बराबर रु तीन लाख दिने निर्णय गरिएको हो। यसका लागि कानून, नीतिनियम बनाएर आगामी आवको शुरुवातसँगै छानबिन गरेर अनुदान रकम वितरण गरिने गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताए। 

उनले भने, ‘पहिलो कानून बनाएर वास्तविक भूकम्पपीडित छानबिन गरी अनुदानस्वरुप घर बनाउन प्रतिपरिवार रु तीन लाख दिन्छौँ।’ 

उनका अनुसार तत्कालीन अवस्थामा लाभग्राहीमा सूचीकृत भएकालाई गाउँपालिकाको अनुदानले निकै राहत पुग्नेछ। 

गाउँपालिकामा रहेका दश वडामा करीब एक सयभन्दा बढी परिवार पुनःनिर्माण प्राधिकरणको अनुदानबाट छुटेका हुनसक्ने अनुमान गरिएको छ। अनुदान रकम वितरण गर्न गरिने अनुगमनले वास्तविक भूकम्पपीडित परिवार तथा कति परिवारले प्राधिकरणको अनुदानबाट आवास निर्माण गरे नगरेको एकीन तथ्यांक आउने कुँवरले बताए। 

आवास पुनःनिर्माणका लागि जिल्लाका ८४ हजार ५७० भूकम्पपीडित परिवारले पुनःनिर्माण प्राधिकरणसँग आवास अनुदान सम्झौता गरेका थिए। त्यसमध्ये ७८ प्रतिशतले आवास पुनःनिर्माण सकेर तेस्रो किस्ताबापतको रकम लिइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले जनाएको छ। सो कार्यालयले निषेधाज्ञाका कारण केही भूकम्पपीडित लाभग्राहीलाई भूक्तानीमा ढिलाइ भएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .