ad ad

प्रविधि


खेर गएकाे खानाबाट जापानले निकाल्याे बिजुली

खेर गएकाे खानाबाट जापानले निकाल्याे बिजुली

नेपालखबर
माघ १६, २०७६ बिहिबार १०:१७,

जापानमा परित्याग गरिएको खानालाई रिसाइकल गरी विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ। जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै “जे बायो फूड रिसाइकल” कम्पनी खडा गरेको छ।

यस कम्पनीले अगस्ट २०१८ मा परित्या गरिएको खानाबाट बायोग्यास बनाउने परियोजना सुरु गरेको थियो। जेएफई इन्जिनियरिङका अध्यक्ष हाजिमे ओशिताले औद्योगिक र फालिएको खानाको प्रयोग गरी एकीकृत सेवा सुरु गरिएको जानकारी दिए। उनले कम्पनीले हाल फोहोर संकलन, फोहोर बिसर्जन, ऊर्जा उत्पादन र विद्युत बिक्रीको कार्य थालेको बताए।

ओशिताले भने, 'यस्ता परियोजना जापानमा बिरलै देख्न पाइन्छ। यो परियोजनाले तीन वटा मुख्य पक्षलाई आत्मसात गरेको छ – वातावरण, ऊर्जा र रिसाइकल। सबै किसिमका स्रोतहरुको प्रभावकारी प्रयोग गर्न सकिन्छ भन्ने नमुना देखाउन हामीले चाहेका छौं, र यो सफल पनि भएको छ।'

यस परियोजनामा हरेक दिन ८० टन फोहोर खाद्यान्नलाई सूक्ष्मजीवीय विधिद्वारा प्रशोधन गरिन्छ, र मिथेन ग्यासको प्रयोगबाट विद्युत उत्पादन हुन्छ। खाद्यान्न कारखाना र अरु ट्रेन स्टेशनमा जम्मा हुने खाद्य फोहोरलाई संकलन गर्ने कार्यक्रम पनि सँगै सञ्चालन गरिएको छ। फोहोर उठाउँदा आउने शिशा, प्लास्टिक जस्ता नगल्ने फोहोरलाई छुट्याउने कार्य सम्पन्न भएपछि खाद्यान्नलाई कुहाउने प्रक्रिया सुरु हुन्छ, र अन्तमा बायो ग्यास तयार हुन्छ।

मिथेनसँगको मिश्रणपछिको बायोग्यासको सहयोगमा विद्युत उत्पादन गरिन्छ । यो विद्युतलाई नवीकरणीय ऊर्जाका रुपमा बिक्री गरिन्छ। जे बायो फूड रिसाइकलका निर्देशक सातोरु उडागावाले कम्पनीसँग हाल ४ लाख घनमिटरका ठूल्ठूला ग्यास भण्डारण ट्यांकहरु रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .