ad ad

राजनीति


सभामुख चयन प्रक्रिया अन्योलमा परेपछि बोलाइयो सर्वदलीय बैठक

सभामुख चयन प्रक्रिया अन्योलमा परेपछि बोलाइयो सर्वदलीय बैठक

फाइल फाेटाे


नेपालखबर
पुस ३०, २०७९ शनिबार ९:५२, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशसभाको सभामुख चुन्ने चुनावबारे निर्णय गर्न आज (शनिबार) सर्वदलीय बैठक बस्दै छ।

प्रदेशसभाका अध्यक्ष शिवराज भट्टले शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए। 

शुक्रबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठक अर्को सूचना जारी नहुन्जेलका लागि स्थगन भएपछि सभामुख चयन प्रक्रिया नै अन्योलमा परेको छ।

पुस २८ गते प्रदेशसभा बैठकमा भएको सभामुखको मतविभाजनमा कांग्रेसका मानबहादुर रावलका पक्षमा २३ र माओवादीका भीमबहादुर भण्डारीको पक्षमा २६ मत मात्र खस्यो। अर्थात् बहुमत आएन। 

दुवै उम्मेदवारले बहुमत पाउन नसकेपछि दोस्रो चरणमा कसरी सभामुख चयन गर्ने स्पष्ट व्यवस्था नहुँदा झनै अन्योल भएको हो।

शुक्रबार अनिश्चित समयसम्म बैठक स्थगन गरेर सभाध्यक्ष शिवराज भट्ट गायब भएका थिए। पछि राति सम्पर्कमा आएका उनले आफू सम्पर्कविहीन नभएको दाबी गरे। 

प्रदेशसभाको बैठक राखेर सभामुख चयनबारे निर्णय गर्न सर्वदलीय बैठक बोलाइएको सभाध्यक्ष भट्टले बताए। थारु समुदायको माघी पर्व भएकाले प्रदेशसभाको बैठक भने माघ २ गतेलाई सार्ने उनको तयारी छ।

त्यसअघि नै सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा सत्तारुढ गठबन्धन छ। 

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

पुस १८ गते बसेको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो।

सोहीअनुसार सभामुखको मतविभाजन भए पनि कसैले बहुमत नल्याउँदा सभामुख चयन गरिसक्नुपर्ने समय सीमा घर्किदै जाँदा संवैधानिक संकट आउनसक्ने खतरा उत्तिकै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .