ad ad

राजनीति


पूर्वप्रहरीको राजनीतिक मोह : ओत लाग्न कि सेवा गर्न?

पूर्वप्रहरीको राजनीतिक मोह : ओत लाग्न कि सेवा गर्न?

उजिर कार्की
साउन २३, २०७९ सोमबार १३:४०, काठमाडौँ

पूर्वडीआईजी रमेश खरेल आइतबार दिनभर काठमाडौं क्षेत्र नं १ मा राजनीतिक भेटघाटमा व्यस्त थिए।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उनको घर दैलो अभियान र भेटघाट बाक्लिएको छ।

सुरुमा सुशासन अभियानमा सामेल भएका खरेलले पछि आफैं पार्टी खोले। २०७८ मंसिरमा घोषणा गरेको खरेल नेतृत्वको पार्टी गएको स्थानीय तहको निर्वाचनमा सहभागी भएर केही वडामा विजयी समेत भएको थियो।

अहिले खरेल काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचन लड्ने तयारीमा छन्। आफ्नै नेतृत्वमा नेपाल शुसासन पार्टी घोषणा गरेका पूर्व डीआईजी खरेललाई चाहेको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न समस्या पनि छैन।

रमेश खरेल

प्रहरी छाडेर आफैं राजनीतिक दल खोल्ने खरेल एक्ला हुन्। तर पुराना पार्टीमा प्रवेश गरेर राजनीतिमा लाग्ने प्रहरीको भने लर्को नै छ। यी मध्ये केहीले त सांसदमा चुनाव नै जितिसकेका छन्।

पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमालेका सांसद हुन्। उनी २०७४ सालको निर्वाचनमा ललितपुर क्षेत्र नं १ बाट प्रत्यक्षमा निर्वाचित भएका थिए।

२०७४ असोजमा मात्रै एमालेमा प्रवेश गरेका सिलवाललाई एमालेले भित्र्यायो। राजीनामा स्वीकृत नभई एमालेमा प्रवेश गरेका खरेलले असोज २० गते एमाले अध्यक्ष केपी ओलीबाट टिका र खादा लगाएर राजनीतिमा सक्रियता बढाए।

शेरबहादुर देउवा नेतृत्वको सरकारले आईजीपी नबनाएपछि उनले दुई पटक सर्वोच्चमा मुद्दा दायर गरे। तर मुद्दा जितेर आईजीपी हुने चाहना पूरा भएन। आईजीपी हुन नसकेका सिलवाललाई त्यतिबेला ओलीले गृहमन्त्री बनाइदिन्छु भन्दै एमालेमा प्रवेश गराएका थिए। भलै उनी गृहमन्त्री भने हुन पाएनन्।

नवराज सिलवाल

सिलवाल फेरि चुनावको तयारीमा लागिसकेका छन्। आइतबार साँझ नेपालखबरसँग कुरा गर्दा पनि उनी राजनीतिक भेटघाटमै व्यस्त थिए। सिलवाल फेरि चुनावमा उठ्ने तयारीमा छन्। आफ्नो क्षेत्रबाट टिकट पाउने लगभग निश्चित नै छ।

ठूला पार्टीमा पूर्वप्रहरीलाई टिकट पाउनै मुस्किल छ। डीआईजी, एआई र आईजीपी भइसकेका करिव १० जना पूर्व प्रहरी पनि टिकटको चक्करमा छन्।

पूर्व आईजीपी ध्रुवबहादुर प्रधान राप्रपाको उपाध्यक्ष हुन्। प्रहरी प्रमुख भइसकेका प्रधान अवकासपछि राप्रपामा प्रवेश गरे। तर अहिलेसम्म सांसद भने हुन सकेका छैनन्। आगामी निर्वाचन पछि उनी पनि सांसद बन्ने चक्करमा छन्।

आजभन्दा ठीक ३० वर्ष पहिले मोतिलाल बोहरा नेपाल प्रहरीको आईजीपी थिए। आईजीपीबाट अवकाश भएका बोहरा अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छन्। कांग्रेसको गएको निर्वाचनमा उनी अछामबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।

पूर्वडीआईजी पार्वती थापा २०७५ मा तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेकी थिइन्। प्रहरी सेवाको उत्तरार्द्धमा विवादित बनेपछि केही समय गुमनाम भएकी थापा पछि राजनीतिमा अगाडि बढिन्।

पार्वती थापा

आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पुगिन्। तर सर्वोच्चले उनको रिट अनिर्णित बनाइदियो। जब सेवाबाट अवकास भइन् अनि मात्रै रिट खारेज गरिदियो। सरकारले उनीभन्दा ११ महिना कनिष्ठ उपेन्द्रकान्त अर्याललाई आईजीपी बनाएको थियो।

पूर्व एआईजी गणेश राई पनि केही समय सक्रिय राजनीतिमा लागे। बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीमा करिव ३ वर्ष बिताएपछि उनले साधारण सदस्यता समेत त्यागे।

२०७२ माघ १० गते एआईजीबाट अवकास भएको केही दिनमै नयाँ शक्तिमा प्रवेश गरेका राईले पार्टीको सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी पाएका थिए। तर, उनी त्यो जिम्मेवारीमा करिव २ वर्ष मात्रै टिके। २०७४ मंसिरमा उनले त्यो पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरेका थिए।

पूर्वडीआईजी भक्तिनाथ माझी पनि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा छन्। प्रहरी सेवामा हुँदै विजयकुमार गच्छदारसँग निकट रहेका माझि अवकाशपछि पनि गच्छदारकै पदचाप पछ्याइरहेका छन्। गच्छदारले मधेश केन्द्रित पार्टी खोल्दा उतै सामेल भएका माझीपछि कांग्रेसमा पार्टी गाभिँदा पनि गच्छदारसँगै कांग्रेसमा प्रवेश गरेका हुन्।

यी बाहेक पनि पूर्व विशिष्ट प्रहरीहरु राजनीतिमा खुलेरै लागेका छन्। केही मौका पर्खिरहेका छन् । तर, त्योभन्दा टाढा रहन सकेका छैनन्।

पूर्व आईजीपी सर्वेन्द्र खनाल पार्टीमा खुलिसकेका छैनन्। अवकाशको केही समयमै एमालेसँग नजिकिएका खनाल अहिले एमालेमा नरहेको उनी निकट हरु बताउँछन्। अवकाशपछि धेरै समय उनले अमेरिकामा बिताए।

सर्वेन्द्र खनाल

अमेरिकाबाट फर्किएपछि केही समयअघि उनले छुट्टै अभियानमा सामेल भए। नयाँ पार्टी खोल्ने तयारी गरेको पनि चर्चा छ। आगामी निर्वाचनमा उम्मेदवार बन्ने जोडमा छ्न। तर अहिलेसम्म उनको बाटो प्रस्ट भइसकेको छैन।

यीबाहेक केही विशिष्ट पूर्व प्रहरीहरु पनि मौका मौकामा दलसँग आवद्ध देखिन्छन्।

पूर्वप्रहरी किन आउन चाहन्छन् राजनीतिमा?
राजनीतिमा आउने केही प्रहरी ३० वर्ष पूरा सेवा गरेर राजनीति गर्न थालेका छन्। कोही आईजीपी नबनाएर अन्याय गरेको भन्दै बिचैमा राजीनामा दिएका प्रहरीहरु छन्। पूर्वआईजीपी मोतिलाल बोहरा पनि प्रहरी प्रमुखबाट अवकाश भइसकेपछि राजनीतिमा सक्रिय भएका हुन्।

‘भर्खरै चुनावको मिति घोषणा भएको छ। सोच्दै छु। अहिलेको राजनीतिक अवस्था थाहै छ। मैले निर्णय लिइसकेको छैन। पछिल्ला राजनीतिक गतिविधिमा धेरै सक्रिय पनि छैन। अवस्था केही परिवर्तन भयो भने अघि बढ्न पर्ला’, बोहराले नेपालखबरसँग भने।

प्रहरीमा हुँदा आर्जन गरेको अनुभवलाई सदुपयोग गर्न राजनीतिमा सक्रिय भएको बोहरा बताउँछन्। ‘आम जनतालाई केही सेवा दिन सकिन्छ भनेर आएको हो। स्वच्छ मनले केही गर्न सकिन्छ कि भनेर लागियो। तर विभिन्न खालका परिस्थिति सिर्जना भए। सुरुसुरुमा त केही गर्छु कि भनेजस्तो लागेको थियो। केही गर्छु भन्नेका लागि अवसर पाउन ज्यादै कठिन रहेछ’, उनको प्रतिक्रिया छ।

मोतिलाल बोहरा

बहुदलिय व्यवस्था आइसकेपछि गाउँमा घरभित्रै छोरा एकातिर बाबु अर्कातिर लाग्ने र घरमै बोलचाल समेत नहुने अवस्था रहेको बताए। उनका अनुसार त्यतिबेला एउटा पार्टीमा लागेपछि अर्कोले बोल्नै नहुने पानी बाराबारको परिस्थिति थियो। सामाजिक काम गर्छु भन्दा पनि कुनै न कुनै पक्षमा नलागि कठिन थियो। त्यहि भएर राजनीतिमा लागेको उनले बताए।

तर प्रहरी सेवामा जति नै अवधि राजनीतिमा बिताइसकेपछि उनी निरुत्साहित छन्।

‘म कस्सिएँ भने जिल्लावासीले त सहयोग गर्छन्। तर अहिले जुन वातावरण छ, वाक्क दिक्क लागिरहेको छ’, उनले भने।

सरकारले सर्वेन्द्र खानाललाई आईजीपी बनाएपछि रमेश खरेलले २९ वर्ष सेवा गरिसकेको प्रहरीबाट राजीनामा दिए। डीआईजी हुँदा खनाल नै पहिलो नम्बरमा थिए। तर, एसएसपीसम्म पहिलो नम्बरमा रहेका खरेललाई चित्त बुझेन। आफू आईजीपी नभएपछि उनले राजीनामा दिए। त्यसपछि केही समय सामाजिक सेवामा र पछि आफैं दल खोले।

राजनीतिमा लाग्ने अधिकांश मान्छेले व्यापार गरिरहेकाले आफू सेवा गर्न राजनीतिमा आएको खरेल बताउँछन्। ‘राजनीति व्यापार गर्ने, पावरमा जाने, पैसा कमाउने त्यो बाहेक केही भएन। राष्ट्रलाई यीनीहरुले बन्धक बनाउने भए। जुन पार्टीका भएपनि यस्ता मान्छे विस्थापित हुनुपर्छ। यसैलाई सुधार्नुपर्छ भनेर म राजनीतिमा लागेको हुँ। अरु केही पनि होइन’, खरेलले प्रतिक्रिया दिए।

देशमा सुशासन कायम हुन नसकेको, कानूनी राज्य स्थापित हुन नसकेकाले राजनीतिमा सक्रिय भएर सुशासन, समृद्धिको एजेन्डालाई अगाडी बढ्ने पूर्व डीआईजी खरेल बताउँछन्।

‘एकदमै गाह्रो छ। मान्छेहरुलाई हामीले बुझाउनुपर्छ। उहाँहरुले उपयुक्त मान्छे पाउनु भएको छैन। देशको यथार्थ बुझेको र अरुलाई पनि प्रोत्साहन गर्न राजनीतिमा छिरेको हुँ। तर, हाम्रो जस्तो देशको परिस्थितिमा एकदमै कठिन छ’, खरेल भन्छन्, ‘मलाई थाहा छ यो कठिन छ। कांग्रेस कम्युनिस्टमा गयो भने रेड कार्पेट बिछ्याएर लैजान्छन्। व्यक्तिगत रुपमा त्यहाँ आफूलाई फाइदा हुन्छ भन्ने पनि थाहा छ। राष्ट्रको फाइदाका लागि कठिन भए पनि निष्ठाका साथ लागिरहेको छु।’

कतिपय बदलाको भावले पनि राजनीतिमा प्रवेश गरेको उनले बताए। सांसद नवराज सिलवाललाई नेपाली कांग्रेस र माओवादीको गठबन्धन सरकारले आईजीपी बनाएको थिएन। उनी तत्कालीन प्रतिपक्षी दल एमालेमा प्रवेश गरेका थिए।

तर, रमेश खरेललाई एमाले र माओवादीको सरकारले आईजीपी बनाएको थिएन। उनी भने ती बाहेकका दलमा पनि गएनन् र आफैं पार्टी खोले। एमालेले आईजीपी बनाएका सर्वेन्द्र खनाल अवकाशपछि पनि त्यही पार्टीसँग निकट देखिए।

भक्ति माझी र मोतिलाल बोहरा सेवामा हुँदा पनि काँग्रेससँगै निकट थिए। पछि उनीहरु त्यही दलमा प्रवेश गरे।

एक पूर्वडीआईजी भने प्रहरी यसरी राजनीतिमा आउनुलाई सफा नियत मान्दैनन्। उनी भन्छन्, ‘असल नियतले समाज सेवा गर्नलाई पार्टी आवश्यक पर्दैन। सधैं शक्तिमा रहन र शक्तिमा रहँदा गरेका गल्ती ढाकछोप गर्न मात्रै दलको आवश्यक परेको हुन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .