लामो समयको संवादहीनता र तिक्तताबीच प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच अचानक बुधबार साँझ काठमाडौंस्थित मेरिएट होटलमा वार्ता भइरहेको खबर बाहिरियो।
अलग–अलग कित्तामा हिँडिरहेका दुई नेताबीच भएको आकस्मिक भेटवार्ताले आम नागरिक आश्चर्यचकित भए भने एमालेका नेता/कार्यकर्तामा ठूलो आशा जगायो।
एमाले सचिव गोकर्ण विष्टले त ओली र नेपालबीच २ घण्टा वार्ता भएको भोलिपल्ट बिहीबार बिहानै खुसी हुँदै सामाजिक सञ्जालमा लेखे, ‘हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबीच छलफल भएको छ। कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ।’
तर दोस्रोपटक बिहीबार अपराह्न होटल मेरिएटमै दुई नेताबीच भएको वार्तापछि त्यो आशा अन्ततः निराशामा परिणत भएको छ।
उसो त प्रधानमन्त्री ओलीले पहिलो वार्तापपिछि नै यो सफल हुनेवाला छैन भन्ने प्रस्ट संकेत दिइसकेका थिए।
किनकि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन बिहीबार बल्खुमा पार्टीको नयाँ भवन शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि आफूले गरिरहेको पहललाई कमजोरी नठान्न चेतावनी दिएका थिए। साथै उनले पार्टीमा गुटलाई मान्यता नदिने बताएका थिए।
ओलीले कसैको नाम नलिए पनि त्यो चेतावनी नेता नेपालप्रति नै लक्षित थियो भन्ने कुरा प्रस्ट हुन्थ्यो।
उनले दोस्रो वार्ताअघि बिहीबार बिहान भनेका थिए, ‘हाम्राविरुद्ध कति गरे? यति उपद्रो गर्दा र अर्को पार्टी खोलेर हिँड्दा पनि अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाई-बुझाई गर्ने प्रयास गरिरहेका छौं।’
उनले अगाडि भनेका थिए, ‘अराजकतासँग सम्झौता गर्न सकिँदैन, गुटलाई भाग दिन पनि सकिँदैन। मेरो गुटलाई यति भाग भन्ने अब पार्टीमा चल्दैन।’
नभन्दै दुई नेताबीच २ दिन भएको संवाद निष्कर्षविहीन बनेको छ।
दोस्रो ‘मेरिएट वार्ता’पछि माधव नेपालले भनेका छन्, ‘ओलीले नयाँ प्रस्ताव ल्याउनुभएन, निर्णयबाट पछि हट्न पनि तयार हुनुभएन।’
पार्टीविरोधी गतिविधि गरेको आरोपमा यसअघि माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेका ओलीले पछिल्लोपटक पुनः नेपालसहित उनी पक्षका २७ सांसदलाई स्पष्टीकरण मागेका छन्। यही बीच उनले नेता नेपालसँग मेरिएट होटलमा छलफल गरेका हुन्।
यो पनि : नेपाललाई ओलीको प्रश्नः केन्द्र र प्रदेश सरकार के हुन्छ, माओवादीसँग एकता कहिले गर्नुहुन्छ?
प्रतिक्रिया