राजनीति


मेरियट होटेलमा नेपालले ओलीसँग राख्दैछन् यी दुई प्रमुख प्रस्ताव

मेरियट होटेलमा नेपालले ओलीसँग राख्दैछन् यी दुई प्रमुख प्रस्ताव

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ९:५०,

नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका सबै समितिहरुलाई माओवादीसँग एकीकरणपूर्व अर्थात् २०७५ जेठ २ को अवस्थाबाट ब्युँताउनुपर्ने अडान दोहोर्‍याउने भएका छन्।

उनले अहिले प्रधानमन्त्री ओलीसँग मेरियट होटेलमा भइरहेको वार्तामा सोहि अडान लिने गरी त्यहाँ पुगेका हुन्।

एमालेमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल नेतृत्वका दुई पक्षबीच अहिले तीव्र शक्ति संघर्ष चलिरहेका बेला हिजो बुधबारदेखि दुई नेताबीच एक्लाएक्लै वार्ता सुरु भएको छ।

दुई शीर्ष नेताबीच मेरियट होटेलमा आज दोस्रो बैठक बसेको हो।

नेता नेपालले हिजोको बैठकमा भएको कुराकानीबारे आज आफूनिकट नेताहरुलाई जानकारी गराएका थिए।

सहाना प्रधान स्मृति प्रतिष्ठानमा भएको सो बैठकमा नेपालले आफू पक्षका स्थायी समिति सदस्यहरु र सांसदहरुसँग छलफल गरेका थिए।

सोहि छलफलबाट उनले पार्टीलाई २०७५ जेठ २ गते कायम रहेका समितिहरुलाई नै क्रियाशील बनाउनुपर्ने अडान दोहोर्‍याउने योजनाका साथ ओलीसँग छलफलका लागि मेरियट पुगेका हुन्।

‘उहाँले जेठ २ गतेका समिति नै क्रियाशील बनाउनुपर्ने अडान दोहोर्‍याउने योजनाका साथ जानुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘त्यसैगरी ओलीले भोलि शुक्रबारका लागि बोलाएको पार्टीको महाधिवेशन आयोजक समितिको बैठक रोकेर अहिलेको छलफल प्रक्रिया जारी राखे संकट समाधान तथा सहमतिको बिन्दु फेला पर्नसक्ने भनी उहाँले अध्यक्षसँग प्रस्ताव गर्नुहुनेछ।’

सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाले एमाले–माओवादी एकीकरणबाट बनेको नेकपा विघटन भई एकीकरण पूर्वको अवस्थामा पुग्ने बताएपछि नेपाल पक्षले सोहि मितिमा कायम रहेका समितिहरु मात्र मान्य हुने बताउँदै आएको छ।

तर, ओलीले भने अदालतको फैसलापछि पनि आफू अनुकूल हुनेगरी व्यापक फेरबदल गरिसकेका छन्। उनले नेपाल पक्षको सो मागलाई अस्वीकार गर्दै आएका छन्।

हिजो दुई नेताबीच करिब दुई घण्टा कुराकानीपछि फेरि भेटलाई निरन्तरता दिने सहमतिसहित बैठक टुंग्याइएको थियो।

यो पनिः 

ओली–नेपाल भेटवार्ता सकियो, दुवै नेता हर्षित

मेरियटमा ओली र नेपालबीच वार्ता, होटल परिसरमा बढ्यो चहलपहल (फोटोफिचर)

एकअर्काबीच तीव्र संघर्ष भइरहेकै बेला ओली र नेपालबीच नै भेटवार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .